काठमाडौं । राष्ट्रियसभा चुनावका लागि राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गरेका छन् । माघ ११ गते हुने चुनावमा कांग्रेस, एमाले र जसपा नेपाल र नेपाली कम्युनिष्ट पार्टी सहितका दलले मनोनयन दर्ता गरेका हुन् ।
चुनावमा एमाले, कांग्रेस र नेकपा विच तालमेलको प्रयास भएको थिाये । तर त्यो सम्भव भएन । ५९ सदस्यीय राष्ट्रियसभामा १९ जनाको विदा हुँदा नयाँका लागि चुनाव हुन लागको हो । ती मध्ये एक जना राष्ट्रपतिबाट मनोनित हुने भएकाले १८ सदस्यका लागि निर्वाचन हुँदैछ ।
२०७६ मा निर्वाचित १९ जना राष्ट्रियसभा सदस्यले ६ बर्षे कार्यकाल पुरा गरी विदाई हुँदा नयाँ सदस्यको निर्वाचन माघ ११ लाई तोकिएको हो । एक जना राष्ट्रपतिबाट मनोनित हुने भएकाले १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो । ती मध्ये बुधबार भएको उम्मेदवार मनोनयन दर्ताको क्रममा एक जना निर्विरोध निर्वाचित भइसकेकाले अब १७ सिटका लागि चुनाव हुनेछ । राजनीतिक दलका उम्मेदवारहरुले बुधबार ७ वटै प्रदेशका निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका छन् ।
राष्ट्रियसभामा सुशीला सरकारलाई चिट्ठा
१९ मध्य अहिले नेकपाका नेता बामदेव गौतमको विँदाई हुँदा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको भागमा राष्ट्रियसभा सदस्यको चिट्ठा परेको छ । यसमा सरकारले चाहेको व्याक्तिलाई सिफारिस गर्ने संवैधानिक प्रावधान रहेको छ । सरकारले गरेको सिफारिसमा राष्ट्रपतिले एक सदस्य मनोनित गर्नेछन् ।
कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध
यता, कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । आयोगले तोकेको समयमा नेकपाका हेमराज घिमिरे निर्वाचन कार्यालय पुग्न नसक्दा थापा निर्विरोध भएका हुन् ।
कांग्रेस, एमाले र जसपा नेपालबीच नयाँ समीकरण
राष्ट्रियसभा निर्वाचनमा प्रमुख ३ दल कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीका साथै जसपा नेपालबीच तालमेलको प्रयास भएको थियो ।
सिट बाँडफाँटमा कुरा नमिल्दा नेकपा बाहिरिएको छ भने कांग्रेस, एमाले र जसपा नेपालबीच नयाँ समीकरण बनेको छ ।
जसअनुसार, कांग्रेसको भागमा ९, एमाले ८ र उपेन्द्र नेतृत्वको जसपालाई एक सिट दिइएको छ । जसपाले एक सिटमा महन्थ ठाकुरलाई अघि सारेको छ । उनी केही दिनअघि मात्रै लोससालाई जसपा नेपालमा समाहित गरेका थिए ।
को कहाँबाट उम्मेदवार ?
राष्ट्रियसभा सदस्यका लागिमधेसबाट धर्मेन्द्र पासवान र रञ्जीत कर्ण, बागमतीबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमल्सिना, लुम्बिनीबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णालीबाट ललितबहादुर शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खातीलाई चुनावी मैदानमा होमिएका छन् ।
एमालेबाट कोशी प्रदेशमा रोशनी मेचे, बागमतीमा डा. प्रेमकुमार दङ्गाल, गण्डकीमा सम्झना देवकोटा, लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीलाकुमारी भण्डारी छन् । जसपा नेपालबाट महन्थ ठाकुर उम्मेदवार बनेका छन् । तीन पार्टी मिल्दा चुनावी पक्ष पोल्टामा पर्ने देखिन्छ ।
कांग्रेसमा बबण्डर–एमालेमा सर्वस्वीकार्य
राष्ट्रियसभा उम्मेदवार चयनलाई लिएर विघटित प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसमा बबण्डर मच्चिएको छ । संस्थापन पक्ष र इतर पक्षले आफ्नै सहमतिमा उम्मेदवार चयन गरेपछि विवाद उत्पन्न भएको हो ।
महामन्त्रीद्घय गगन थापा र विश्वप्रका शर्मा पक्ष अर्थात् तेस्रो पक्षले मनोमानी रुपमा उम्मेदवार चयर गरेको आरोप लगाएका छन् । साथै गगनले एमाले संगको तालमेल गलत भएको जिकिर गरेका छन् ।
यसले कांग्रेसमा थापा पक्षका नेताहरुले चुनावी मैदानमा उत्रिदा अन्तरघात हुने सम्भावना बढेको छ । उता, सहयात्री दल नेकपा एमाले भने पुर्ण रुपमा सचिवालय बैठकको सहमतिमा उम्मेदवार चयन गरेको छ ।
नेकपाका उम्मेदवार
नेपाली कम्युनिष्ट पार्टीको कोशी प्रदेशबाट खेमराज सुन्दास र नमिता न्यौपाने, मधेशबाट रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान र समिकुमारी अग्रवाल, बागमतीबाट प्रेमप्रसाद सापकोटा र सरोज कुमारी झा, गण्डकीबाट कपिल लामा, लुम्बिनीबाट दुर्गा भण्डारी, वृहस्पति अधिकारी र सर्जन विक, कर्णालीबाट बुद्धिप्रसाद शर्मा र अन्जु महतारा, सुदूरपश्चिमबाट टीकाराम जैशी र रोजी बस्नेत सुनार रहेका छन् ।
कांग्रेस र एमालेसँग गठबन्धन गर्न खोजेको नेकपा सिट बाँडफाटमा चित्त नबुझेपछि एक्लै होमिएको हो ।
राष्ट्रियसभाका कुन प्रदेशमा कति मतभार ?
राष्ट्रियसभा निर्वाचनामा प्रदेश सभा सदस्यहरू, नगरपालिकाका प्रमुख र उपप्रमुखहरू र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरू मतदाता रहने व्यवस्था छ । प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख–उपप्रमुखको मतभार १९ रहन्छ ।
प्रदेशमा रहेका प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुखको संख्यालाई आधार मानेर प्रदेशगत मतभारको आधार बनाइएको हो । जसअनुसार कोशी प्रदेशमा १० हजार १३५ मतभार, मधेश प्रदेशमा १० हजार ८३९, बागमती प्रदेशमा १० हजार ३५२, गण्डकी प्रदेशमा ६ हजार ४१० र लुम्बिनी प्रदेशमा ८ हजार ७५३, कर्णाली प्रदेशमा ५ हजार १२२ र सुदुरपश्चिम प्रदेशमा ६ हजार १५३ मतभार रहेको छ ।
कुन प्रदेशबाट कति ?
राष्ट्रियसभा चुनावमा सातवटै प्रदेशबाट समावेशीताका आधारमा सिट भागवण्डा गरिएको छ । जसअनुसार कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २र२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २÷२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुन लागेको हो ।
राष्ट्रियसभा सदस्यको काम, कर्तब्य र अधिकार के हो ?
माथिल्लो सदनका रुपमा रहने राष्ट्रियसभालाई संविधानतहः तल्लो सदन प्रतिनिधिसभाको अविभावकीय जिम्मेवारी यसको हुन्छ ।
विशेषगरी राष्ट्रियसभा सदस्यहरुले विज्ञ सेवा प्रदान गर्ने, कानून बनाउने, सरकारलाई उत्तरदायी बनाउने, नियमन र निर्देशन गर्ने, संसदीय सुनुवाई सहितका कार्य गर्ने गर्दछ । तर पछिल्लो समय राजनीतिक भागवण्डाले यसको औचित्य माथि प्रश्न उठ्दै आएको छ ।
