News 24 Television
भृकुटीमण्डपमा मञ्च बन्दै, संस्थापन रोक्न सक्रिय, गगन–विश्वप्रकाश अडिग

काठमाडौं । विशेष कि नियमित महाधिवेशन भन्ने विवाद चर्किरहेकै बेला गगन थापा पक्ष भने विशेष महाधिवेशन गरेरै छोड्ने अडानमा छ । यसका लागि गगन समूह महाधिवेशन स्थल निर्माणमा समेत जुटिसकेको छ । 

पुस २७ गतेबाट विशेष महाधिवेशन गर्ने भनेर अगाडी बढेको गगन समूह अहिले मञ्च निर्माणको लागि नक्शा बनाउनेदेखि महाधिवेशन स्थललाई सुरक्षित बनाउन के के गर्ने भनेर पूर्व तयारीमा व्यस्त बनिरहेको  छ । 

नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशन रोक्न केन्द्रीय कार्यालयबाट विज्ञप्ती निकाल्ने सहितका रणनीति अपनाए पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समुह भने रोकिने संकेत देखाइ रहेको छैन । यो समूह विशेष महाधिवेशन स्थल निर्माणमा जुटिसकेको छ ।

विशेष महाधिवेशन पक्षधरका नेताहरु भृकुटीमण्डमा भेला भएर उद्घाटन शत्रको मञ्च निर्माणदेखि बन्दशत्र सञ्चालन कसरी गर्ने भन्ने सम्मको तयारीमा छलफलका लागि जुटिरहेका छन् । मञ्च व्यवस्थापनको जिम्मेवारी नेपाली कांग्रेस धादिङका पुर्व सभापति रमेश धमलाले लिएका छन् । 

अहिले भृकुटि मण्डपमा कुन स्थानमा मञ्च बनाउने, हल कसरी निर्माण गर्ने, प्रतिनिधिहरुको व्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा नाप्ने, नक्शा बनाउने र महाधिवेशन स्थललाई अन्तिम रुप दिने काम भई रहेको छ । २६ गते बिहान भृकुटीमण्डपमा सामान झारेर २७ गतेसम्म मञ्च ब्यवस्थापन देखि बन्दशत्र हल निर्माण गर्ने तयारीमा रहेको महाधिवेशन स्थल निर्माण संयोजक धमला बताउँछन् । 

विशेष महाधिवेशन सम्पन्न गर्न भृकुटीमण्डप बाहिर रहेको ठूलो चौरलाई ४ भागमा विभाजन गरिएको छ । मुख्य प्रवेशद्वार, भित्र छिर्ने बाटो, मञ्च र सहभागीहरु बस्ने कक्ष निर्माण गर्ने गरी तयारी गरीएको छ । महाधिवेशन स्थलमा सहभागी हुन आएका १ हजार जना पलेटी मारेर बस्ने छन् भने त्यसभन्दा पछाडि ४ हजार ५ सय कुर्ची राख्ने गरी तयारी शुरु गरीएको युवा परिचाल तथा स्वयम्सेवक परिचालन उपसमिति सदस्य सचिव पुस्कर बास्तोला बताउँछन् । 

विशेष महाधिवेशन सम्पन्न गर्नका लागि गगन पक्षले १८ वटा विभिन्न उप–समिति निर्माण गरिरहेको छ । निर्माण गरिएका सबै उप–समितिहरु विशेष महाधिवेशन सम्पन्न गर्ने अन्तिम तयारीमा जुटिरहेको गगन पक्षका नेताहरुको दाबी छ । विशेष महाधिवेशनमा सहभागी हुन विज्ञप्ती जारी गरेर पुस २७ र २८ गतेका लागि आह्वान समेत भइसकेको छ ।

गगन समूहको आह्वानपछि संस्थापन समुहले विशेष महाधिवेशनमा सहभागी नहुन भन्दै अर्काे विज्ञप्ती जारी गरेको छ । महामन्त्री विश्वप्रकाश शर्माले सार्वजनिक गरेको भीडियो सन्देशमा पनि विशेष महाधिवेशन जसरी पनि हुने र विशेष महाधिवेशन हुँदैमा पार्टी फुटको स्थितीमा नआउने बताएका छन् ।  

महामन्त्री शर्माले विशेष महाधिवेशनबाट पार्टी फुट नहुने बताए पनि कांग्रेसका जानकारवालाहरु भने विशेष महाधिवेशन पछि महामन्त्री माथि संस्थापन पक्षले कार्वाही गर्न सक्ने र त्यसले पार्टी नै फुटको स्थिती नै आउन सक्ने बताई रहेका छन् । 

गगन समूहको परीक्षा 

जेनजी आन्दोलनपछि फेरिएको माहोलमा गगन समूहका लागि विशेष महाधिवेशन निकै ठूलो चुनौति हो । ५४ प्रतिशतको हस्ताक्षर बुझाउँदै विशेष महाधिवेशन माग गरेको यो समूहबाट हस्ताक्षर गर्ने सबै महाधिवेशन प्रतिनिधि सहभागि हुन्छन् भन्ने टुंगो छैन । तर गगन पक्षका नेताहरुले भने ५४ प्रतिशत भन्दा बढि सहभागि हुने दाबी गरिरहेका छन् । 

यस्तो अवस्थामा उनीहरुकै दाबी अनुसार विशेष महाधिवेशन भए नेपाली कांग्रेसमा कायापलट हुनेछ भने तत्कालका लागि पार्टी गगन समूहको नेत्तृत्वमा आउनेछ । तर त्यसपछि हुने अनेक झमेला र कानूनी पाटोहरुमा पार्टी फस्ने सम्भावनालाई भने नकार्न सकिदैन । यदि गगन समूहको दाबी अनुसार भएन भने यो समूहले उठाएको चुनौतिसँगै गगन थापा आफै भने राजनीतिक संकटमा पर्न सक्छन् । 

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update