काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार विवादित बन्दै गएको छ । कार्की नेतृत्वको मन्त्रीपरिषद्का सदस्यले एकपछि अर्काे कमजोरी गर्दा विवाद बढेको हो ।
रास्वपासँग जोडिएका कुलमानले राजीनामा दिएर सक्रिय राजनीतिमा होमिएका छन् भने अर्काे मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण विवादमा परेको छ । संचारमन्त्री जगदीश खरेलले पनि राजीनामा दिनुपर्ने चौतर्फी आलोचना सुरु भएका छन् ।
नागरिक सरकारका मन्त्री राजनीतिक दलको आवरणमा सरकारी नुनपानीमा मस्त भएपछि आलोचना हुनु स्वभावित थियो । चौतर्फी आलोचनापछि रास्वपा उपसभापति बनीसकेका कुलमान घिसिङले बुधबार नैतिकता देखाउँदै सरकार छाडे ।
संचारमन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तामाथि पनि नैतिकताको प्रश्न छ । मन्त्रीकै हैसियतमा खरेलले रास्वपा कार्यालय पुगेर घण्टी बजाए भने गुप्ता बालेन, रवि र कुलमानको सहमतिमा सहस्यमय रुपमा सहभागि थिए ।
अझ मन्त्री गुप्ताले नक्कली निम्तो अनुमोदन गराएर दलबलसहित अमेरिका जान मन्त्रीपरिषद्बाट स्वीकृत गराएको अर्को आरोप पनि लागेको छ ।
संचारमन्त्री जगदीश खरेलले पुष २१ गते सुनाएको मन्त्रीपरिषदका निर्णय नम्बर ८ मा ‘युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता माघ ३ मा अमेरिकामा आयोजना हुने ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोल्युसन’ कार्यक्रम सहभागिताको स्वीकृती गरिएको’ उल्लेख छ । तर नक्कली निम्तो अनुमोदन गराएको कुरा मन्त्री गुप्ताले अस्वीकार गरेका छन् ।
विहिबार सिंहदरबारस्थित उनको सरकारी कार्यालयमा पुगेर बुझ्दा उनले सार्वजनिक रुपमा बोल्न चाहेनन् । बरु उनले युवा परिषद्को अध्यक्षको हैसियतमा अमेरिका जान लागेको दाबी गरे त्यो पनि आफ्नै खर्चमा । तर उनले हेक्का राखेनन् की उनी नागरिक सरकारका मन्त्री हुन् । सार्वजनिक रुपमा बहसको विषय बनेपछि खण्डन गर्नुपर्नेमा उनी संचारमाध्यममा बोल्न सकिरहेका छैनन् । चौतर्फी विवाद सिर्जना भएपछि उनी अमेरिका जान पाउने हुन् कि नपाउने अन्योल छ ।
नैतिकताको कडीमा मन्त्रीद्वय जगदीश र बब्लु
भदौ २३ र २४ को जेनजी आन्दोलनको बलमा बनेको नागरिक सरकारका मन्त्री हुन्, संचारमन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता । तर उनीहरुले नागरिक सरकारको मन्त्रीको हेक्का नराखी पार्टी राजनीतिमा सहभागी भइरहेका छन् ।
मन्त्री खरेलले सरकारी वार्ता टोलीको तर्फबाट पुष ९ गते रास्वपा केन्द्रीय कार्यालय वनस्थली पुगेर रास्वपा कार्यालयमा पार्टीको चुनावी प्रचारका लागि झुण्डाएको घण्टी बजाएका थिए ।
मन्त्री खरेल राजनीतिक संवाद समितिको सदस्यको हैसियतमा रास्वपा कार्यालय पुगेका थिए । तर उनले पदीय जिम्मेवारी विर्सिएर रास्वपाको चुनाव चिन्ह घण्टी बजाउँदा उनको भुमिका माथि प्रश्न उठ्नु स्वभाविक छ । उसो त उनलाई रास्वपाबाट फागुन २१ को चुनावी मैदानमा होमिन लागेको आरोप पनि लाग्ने गरेको छ ।
यस्तो अवस्थामा अझ प्रधानमन्त्री कार्कीले नै सरकार छाड्न आग्रह गरेपछि उनीमाथि नैतिक प्रश्न खडा भएको छ । यस्तै, पुष १४ मा रास्वपा सभापति रवि लामिछाने, काठमाडौँका मेयर बालेन्द्र शाह बालेन र उज्यालो पार्टीका संरक्षक कुलमान घिसिङको राजनीतिक सहमति पत्रमा हस्ताक्षर हुँदा जेनजी अभियान्ताको तर्फबाट सरकारमा नेतृत्वमा गरिरहेका खेलकुद मन्त्री गुप्ताको सहभागिता थियो ।
त्यसयता उनी माथि पार्टी राजनीतिमा झुकाव राखेको भन्दै आलोचना भइरहेको छ । तर उनी राजीनामा बारे सोच्न नसक्ने दाबी गरिहेका छन् ।
