काठमाडौँ । आसन्न राष्ट्रिय सभा निर्वाचनमा प्रमुख दलहरु काँग्रेस र एमालेबीच तालमेल गरेर जाने सहमति भएको छ । उनीहरुले आपसी भागबण्डा समेत मिलाइसकेका छन् । तर तालमेल गरेर जाने सन्दर्भमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीसँग भेटेरै कुराकानी गरेका थिए । उक्त निर्वाचनका लागि काँग्रेस–एमाले–नेकपा र जसपा नेपालबीच तालमेलको समाचार बाहिरिए पनि अन्तिम समयमा भागबण्डामा सहमति जुट्न नसक्दा नेकपा र जसपा बाहिरै रहे । यसबारे नेकपाका नेता अग्निप्रसाद सापकोटाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा काँग्रेस र एमालेसँग सहकार्य गर्ने विषय पार्टीपंक्ति र आम जनताले रुचाएको नदेखिएकोले तालमेल हुन नसकेको बताएका छन् ।
नेता सापकोटाले राजनीतिक दलहरूबीच चुनावी सहकार्य हुनु स्वाभाविक भए पनि आम नागरिकले सकारात्मक रुपमा नलिएको जिकिर गरे । उनले राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतभारको आधारमा सिट बाँडफाँड हुनुपर्ने प्रस्ताव पार्टीले अघि सारेको भए पनि काँग्रेस–एमाले त्यसका लागि तयार नभएको बताए । यसको मतलब उचित भागबण्डा नमिल्दा नेकपा एक्लै चुनाव लड्न तयार भएको बुझिन्छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि नेकपा कुनै दलसँग सहकार्य नगर्ने पक्षमा रहेको सापकोटाले स्पष्ट पारेका छन् । उनले राष्ट्रिय सभा निर्वाचन आम निर्वाचनजस्तो नभएको कारण एउटा समझदारी गर्ने भनिए पनि प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा स्वतन्त्र ढंगले जनतामाझ जाने बताए । पार्टीलाई एक्लै चुनाव लड्न आम जनताबाट समेत सुझाव रहेको उनको भनाइ छ ।
नेता सापकोटाले विगतमा अन्य राजनीतिक दलहरुसँग गठबन्धन गर्दा आफूहरुको पहिचान स्थापित हुन नसकेको स्वीकारे । अहिले मुलुकको सबैभन्दा अग्रगामी र जेनजी पुस्ताले उठाएका एजेण्डाहरु समेत नेकपाले उठाउँदै आएको जिकिर गर्दै उनले भर्खरै एकतामा गएका रास्वपा–बालेन–कुलमानहरुमा विचार र दृष्टिकोणको खडेरी रहेको टिप्पणी पनि गरे । राजनीतिक दलहरुमा विचार र दृष्टिकोणको रिक्तता भएकै कारण पछिल्लो समय मुलुक यो संकटको अवस्थामा पुगेको उनको जिकिर छ ।
यद्यपि नेकपाका संयोजक प्रचण्ड भने अझै पनि थप कम्युनिष्ट घटकहरुबीच एकता गनुपर्ने पक्षमा छन् । उनले नेकपा एमालेसँग एकता वा गठबन्धन हुनसक्नेबारे पछिल्ले समय अभिव्यक्ति दिइरहेका छन् । बिहीवार केही जेनजी युवाहरुलाई पार्टी प्रवेश गराउने क्रममा प्रचण्डले राष्ट्रिय एकता, स्वाधीनता र आर्थिक समृद्धि सुदृढ गर्न बृहत् राष्ट्रिय एकताको आवश्यकता रहेको बताए । सोही आवश्यकताको आधारमा विभिन्न १७ वटा साना–ठूला कम्युनिष्ट घटकलाई समेटेर नेकपा बनाइएको उनको जिकिर छ । उनले पछिल्लो समय सबै प्रदेश, जिल्ला र पालिकामा युवापुस्ताको आकर्षण नेकपातर्फ बढ्दै गएको दाबी समेत गरे ।
नयाँ र वैकल्पिक शक्तिहरु एकातिर मिलिरहँदा र व्यवस्था एवं संविधान नै जोखिममा पर्ने संकेतहरु बढिरहँदा पुराना दलहरु र राष्ट्रवादी शक्तिहरु एकजुट हुनुपर्छ भन्नेमा प्रचण्ड, ओली लगायत नेताहरु सहमत छन् । यसै आधारमा प्रतिनिधिसभा निर्वाचन अथवा त्यसपछि सरकार बनाउने बेलासम्म यी दलहरुबीच पुनः गठबन्धन नहोला भन्न सकिन्न ।
