काठमाडौं । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश समूहले पुस २७ गतेदेखि भृकुटीमण्डपमा सुरु गर्ने भनिएको विशेष महाधिवेशन रोक्न संस्थापन पक्षले सक्दो शक्ति लगाइरहेको छ ।
संस्थापन इतर समूह भने जसरी पनि विशेष महाधिवेशन गर्ने अडानमा छ । विशेष वा नियमित महाधिवेशनको विषयमा कांग्रेसभित्र तल्लो तहसम्म मतभेद छ । दुवै पक्षबाट सहभागिता गर्ने र नगर्ने गरी विज्ञप्ति जारी भएका छन् भने केही नेताहरू दुवै समूहलाई मिलाउन प्रयासरत पनि छन् ।
विशेष महाधिवेशनको पक्ष र विपक्षमा विभाजित नेपाली कांग्रेस भित्र तल्लो तह सम्म नै यसै बिषयलाई लिएर तरंग फैलिएको छ । अहिले कांग्रेसमा विज्ञप्तिको बाढी नै लागेको छ ।
कांग्रेसको गण्डकी, लुम्बीनी र मधेस प्रदेशको कार्यसमितिबाटै विशेष महाधिवेशनलाई साथ दिन भन्दै विज्ञप्ती जारी गरीएको छ ।
लुम्बिनीका १२ मध्ये ९ जिल्ला सभापतिले विशेष महाधिवेशनलाई साथ दिन भन्दै विज्ञप्ती जारी गरेका छन् भने, शुक्रवार मात्रै मदेश प्रदेशका उपसभापति शेखर कुमार यादव र वीरेन्द्र प्रसाद सिंहले विशेष महाधिवेशनमा सहभागी हुन भन्दै विज्ञप्ती निकालेका छन् ।
संस्थापन पक्षको बलियो पकड रहेको कर्णाली प्रदेशका ९ र सुदुरपश्चिम प्रदेशका ६ जिल्लाका जिल्ला सभापतिहरुले विशेष महाधिवेशनमा सहभागी नहुन भन्दै विज्ञप्ती निकालेका छन् ।
अहिलेसम्म पर्वत, काँकी, भोजपुर सहित देश भरका ७७ मध्ये ३० जिल्लाका सभापतिहरुले विशेष महाधिवेशनमा भाग लिन भन्दै विज्ञप्ती निकालेका छन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरेलगत्तै कांग्रेस केन्द्रीय कार्यालयबाट विशेष महाधिवेशनमा सहभागी नहुन भन्दै विज्ञप्ती जारी भएको थियो ।
विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डपमा विशेष महाधिवेशनको तयारी शुरु गरीसकेका छन् भने अर्काे पक्षले विशेष महाधिवेशन हुनै नसक्ने दाबी गरीरहेको छ ।
शुक्रबार महामन्त्री विश्वप्रकाश शर्मा भृकुटीमण्डमा नै पुगेर विशेष महाधिवेशनको तयारीका बारेमा जानकारी लिंदै जसरी पनि विशेष महाधिवेशन हुने बताए । पार्टी फुटको आशंका बलियो भइरहेका बेला महामन्त्री शर्माले यो हुनै नसक्ने दाबी गरेका छन् ।
विशेष महाधिवेशन सम्पन्न गर्न अगाडी बढेको गगन थापा समुहले १८ वटा उप–समिति बनाएको छ ।
शुक्रवार पत्रकार सम्मेलन गर्दै जनपरिचालन एवं जुलुस व्यवस्थापन समितिको जिम्मेवारी लिएका जगदिश्वरनरसिंह केसीले विशेष महाधिवेशनको उद्घाटन अघि गरिने विशेष जुलुसको तालिका सार्वजनिक गरेका छन् ।
मध्यममार्गको प्रयासमा अन्तिम कसरत
कांग्रेस नेताहरु दुई समुहमा धुव्रीकृत भइरहेका बेला केही नेताहरुले दुवै समुहलाई एकै ठाउँमा उभ्याउने प्रयास गरीरहेका छन् । कांग्रेस नेता चन्द्र भण्डारी र डा. सुनिल शर्मा लगाएतका नेताहरुले दुवै समुहलाई छलफलका माध्यमबाट समाधान निकाल्न भन्दै छलफल चलाई रहेका छन् ।
विशेष महाधिवेशन हुदाँ पनि सबै संगै जानु पर्ने नत्र पार्टी विभाजन हुन सक्ने भन्दै केही नेताहरु पूर्वपश्चिम फर्किएका समूहलाई मिलाउन प्रयासरत छन् ।
यद्यपी दुवै समुहलाई मिलाउने कसरतमा रहेको मध्यममार्गको अभ्यास गरिरहेको यो समूह अन्तिम समयमा कुन कित्तामा उभिन्छ, अझै खुलिसकेको छैन ।
उनीहरुले पार्टी एक हुनु पर्ने बताएपनि अन्तिम समयमा कित्ताकाँट नै गर्नु पर्ने अवस्था आए विशेष महाधिवेशनमै सहभागि हुने गगन पक्षका नेताहरुको दाबी छ ।
देउवा भन्छन् : पार्टी टुक्रिन दिन्न
उपसभापति पूर्णबहादुर खड्कालाई कार्यावाहक सभापतिको जिम्मेवारी दिएर बसेका पार्टी सभापति शेरबहादुर देउवा पार्टी कार्यालय नगए पनि आफ्नै निवासबाटै सक्रिय छन् ।
उनले आफु पार्टी फुट्न नदिने पक्षमा रहेको बताउँछन् । उनले आफु निकट नेताहरुलाई पार्टी फुटको स्थिति आउन नदिने बारम्बार बताइरहेका छन् । यस्तो अवस्थामा देउवाले पार्टीको केन्द्रीय समिति नै भंग गरेर समेत अगाडी जान सक्ने कांग्रेस भित्र अहिले चर्चा भै रहेको छ ।
पार्टीलाई फुटबाट बचाउन देउवाले पार्टीको केन्द्रीय समिति भंग गर्छन् कि मध्यममार्ग अवलम्बन गर्दै दुवै पक्षलाई वीन वीनको अवस्थामा पु¥याउँछन् त्यो भने हेर्न बाँकी नै छ ।
