News 24 Television
जनार्दनमाथि प्रचण्डले लगाए भगौडा आरोपः सुरक्षित निर्वाचन क्षेत्र खोज्न प्रचण्ड माहिर !

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड रुकुम पूर्वबाट निर्वाचनमा उम्मेदवार बन्ने भएका छन् । प्रचण्डले रुकुम पश्चिममा पुगेर उम्मेदवारी घोषणा गरेका हुन् । विभिन्न निर्वाचन क्षेत्रमा गएर निर्वाचित हुँदै आएका प्रचण्ड जेनजी आन्दोलनको उभारपछि रुकुम पुगेका हुन् ।

रुकुम पूर्व माओवादीको गढ मानिन्छ भने रुकुम पश्चिममा जनताको उल्लेख्य सहभागीता देखेर हौसिएका प्रचण्ड रुकुमबाट अनुमोदित होलान ? चर्चा शुरु भएको छ । 

नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड रुकुम पूर्वबाट प्रतिनिधिसभाको उम्मेदवार बन्ने घोषणा गरेका छन् । रुकुम पूर्वका नेताहरुसंगको छलफलमा लामो समयदेखि जुटिरहेका प्रचण्डले सुरक्षित निर्वाचन क्षेत्र खोज्दै रुकुम पूर्व पुगेका हुन् भने जनार्दन शर्माको निर्वाचन क्षेत्र रुकुम पश्चिममा पुगेर प्रचण्डले यस्तो घोषणा गरेका हुन् । 

प्रचण्ड हेलिकोप्टरमार्फत रुकुम पश्चिम पुगेका हुन् । रुकुम पश्चिममा जनार्दन शर्माले पार्टी एकता अस्वीकार गर्दै प्रगतिशिल लोकतान्त्रिक पार्टी निर्माणमा जुटेपछि प्रचण्ड पहिलो पटक रुकुम पुगेर सम्बोधन गरेका हुन् । प्रचण्डले रुकुम पुगेर जनार्दन शर्मालाई भगौडा भन्दै जनताले साथ नदिएको दाबी समेत गरेका छन् । 

प्रचण्ड रुकुम पूर्व पुगेर जनयुद्धको किल्लामा पुगेको दाबी गरेका छन् । पछिल्लो समय माओवादीको आधार इलाकाका रुपमा चिनिएको रुकुममा नेताहरुको लर्को भने लामो देखिन्छ ।

जिल्लाले सिफारिस गरेका नेताहरु उछिन्ने प्रचण्ड

रुकम पूर्वले पूर्वमन्त्रीद्वय गणेशमान पुन, दलजित सेर्पालीसहित वाइसीएल अध्यक्ष सुवोधराज सेर्पालीसहितका नेताहरुको नाम प्रतिनिधिसभाको उम्मेदवारको रुपमा सिफारिस गरेको थियो । तर, अन्तिममा प्रचण्डले पहिले देखि नै सुरक्षित निर्वाचन क्षेत्र खोज्दै रुकुम पूर्व पुग्दा रुकुमका नेताहरु निर्वाचनबाट बिमुख बनेका हुन् । 

प्रचण्ड रुकुम जाँदा रुकुम पूर्वका धेरै नेताहरु अब पार्टी भूमिकामै रहने भनिरहेका छन् । कालिकोट, सिन्धुली र नुवाकोटमा समेत सर्वेक्षण गरेका प्रचण्डले निर्वाचन जित्न सहज नहुने देखेपछि रुकुम पूर्व नै पुगेका हुन् । रुकुम नै त्यस्तो जिल्ला हो, कांग्रेस एमालेले निरन्तर चुनावी गठबन्धन गर्दै माओवादीविरुद्ध चुनावी प्रतिष्पर्धा गर्ने गरेको देखिन्छ ।

प्रचण्ड कहाँ–कहाँ पुगे ?

प्रचण्डले यसअघि निर्वाचन जित्ने वा हार्ने अवस्थामा कुनै पनि क्षेत्रमा दोहोरिने गरेका छैनन् । रोल्पा, चितवन, सर्लाही, काठमाडौं, गोरखा हुँदै अब रुकुम पूर्व जाने भएका हुन् । 

दुईपटक संविधानसभा र दुईपटक प्रतिनिधिसभाको चुनावमा अलग–अलग क्षेत्रबाट चुनाव लडेर जितेका प्रचण्ड २०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौँ १० र रोल्पा २ बाट प्रचण्डले चुनाव जितेका थिए । उनले २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा सिरहा ५ बाट निर्वाचन जितेका थिए । 

संविधान जारी भएपछिको २०७४ मा भएको पहिलो प्रतिनिधिसभाको चुनावमा उनी चितवन ३ मा गएर विजयी भए त्यसपछि २०७९ मा गोरखा–२ पुगेर चुनाव जितेका थिए ।

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update