News 24 Television
साधारण सदस्य बन्छु भन्दा पनि रविले मानेनन भन्दै कुलमानको पत्रकार सम्मेलन, के भने रविले ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपालको पार्टी एकता १२ दिनमै भंग हुन पुगेको छ । पार्टी एकता गर्दै वैकल्पिक शक्ति निर्माण गर्ने भनेका कुलमानले पदको बार्गेनिङ गर्दा संकट पैदा भएको रास्वपाको दाबी खण्डन गर्दै साधारण सदस्य समेत बन्न नदिने षडयन्त्र भएको भन्दै कुलमानले उज्यालो नेपालको अध्यक्ष पद सम्हालेका छन् । 

ऊर्जामन्त्रीसहित महत्वपूर्ण तीन मन्त्रालय सम्हालेर अन्तरिम सरकारमा रहेका महत्वकांक्षी नेता कुलमान घिसिङले उज्यालो नेपाल पार्टीको अध्यक्ष पद औपचारिक रुपमै सम्हालेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीसंग नाटकीय एकतामा गएका कुलमान १२ दिन धेरै एकतामा टिक्न नसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीसंगको सहकार्य टुटेको छ भने उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फको मत माग्न नै नपाउने अवस्था बनेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले एकता भंग भएको विषय सार्वजनिक गरेपछि रक्षात्मक बनेका कुलमानले पदको बार्गेनिङ, निर्वाचन क्षेत्रको भागबण्डा, प्रधानमन्त्री पदको आधा कार्यकाल जस्ता विषयमा विवाद सुल्झिन नसकेपछि एकतालाई जोगाउन नसकिएको रवि लामिछानेले ब्रिफिङ गरेका छन भने कुलमानले पत्रकार सम्मेलन गरेरै आफू साधारण सदस्यमा रहन तयार रहेपनि एकता हुन नसकेको आरोप लगाएका छन्। 

पार्टी एकताको १२ दिनसम्म बिखलन्दमा परेको दाबी गरेका कुलमान केहि भावुक पनि देखिए । कुलमानको सम्बोधनको क्रममा ताली बजाइरहेका कार्यकर्ताले उत्साह भर्न खोजेपनि कुलमानले चिम लिएर निर्वाचनमा जाने दाबीबाहेक धेरै कुरामा अघि बढ्न सकिने संकेत भने गरेनन् । समानुपातिकतर्फको उम्मेदवारी के हुन्छ भन्नेमा कुलमानले सकेसम्म मिलाउने दाबी गरे ।

उसोतः कुलमानले रास्वपासंगको एकता नटिक्नुमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता जस्ता संविधानका आधारभूत विषयमा सहमति जुट्न नसकेको संकेत समेत गरेका छन् । 

कुलमानले यस्तो भन्नुमा केहि सत्यता भने देखिन्छ । रास्वपाले प्रदेश संरचना खारेजीको माग णै अघि बढाएको देखिन्छ भने प्रधानमन्त्रीको उम्मेदवार बनाउने भनिएका बालेन्द्र साह पनि प्रदेशमा मतदान नै नगरेर यसको औचित्यमाथि प्रश्न उठाउने अग्रपंक्तिमा देखिन्छन् । यसले कुलमानको तर्कमा केहि सत्यता देखिएपनि अन्ततः महत्वकांक्षी कुलमान र रविबीच पदीय भागबण्डा नमिल्दा उनीहरु छुट्टिन पुगेको चर्चा शुरु भइसकेको छ ।

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update