News 24 Television
लोकतन्त्र रक्षाका लागि भन्दै तालमेलको बाटो रोज्यो एमालेले

काठमाडौं । आगामी फागुन २१ गते निर्वाचन हुने निश्चित भएपछि राजनीतिक दलहरुलाई अहिले गज्जबले चुनाव लागेको छ । दलहरु नयाँ रणनीति बनाएर चुनावी मैदानमा होमिसकेका छन् । तर नव युवा पुस्ताको आन्दोलनपछि राजनीतिक दलहरुबीच एकता र ध्रुवीकरण मात्रै भएको छैन, अब चुनावमा के कस्तो गठबन्धन बनाएर अघि बढ्ने भन्ने छलफल शुरु भएको छ । एक्लै चुनावमा लड्ने बताइरहेको नेकपा एमाले पनि आगामी निर्वाचनमा गठबन्धन गरेरै अघि बढ्ने निश्कर्षमा पुगेको छ । 

भदौ २३ र २४ को जेनजी आन्दोलनपछि बदलिँदै राजनीतिक परिवेशकाबीच नेकपा एमालेले सबै भन्दा पहिले महाधिवेशन सम्पन्न गरेर केपी शर्मा ओलीलाई नै पार्टी अध्यक्षमा अनुमोदन ग¥यो । महाधिवेशनपछि पनि फागुन २१ मा निर्वाचन हुनै नसक्ने बताइरहेको एमालेले संसद पुनस्र्थापनाको मुद्दामा कांग्रेसको साथ पाउने अपेक्षा गरेको थियो ।

विघटित प्रनिनिधिसभाका कांग्रेस सांसदहरुले हस्ताक्षर गरेर समेत अदालतमा बुझाएका थिए । तर कांग्रेस पार्टी भित्रैको आन्तरिक दलदलमा फस्यो । त्यो दलदलबाट कांग्रेस माथि निस्किन सकेकै छैन । यद्यपी चुनावमा जाने विषयमा कांग्रेस तयार देखियो । जसले गर्दा चुनावको वातावरण बन्दै गएपछि एमाले निर्वाचनमा होमिन बाध्य भयो । 

त्यसैले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक सूची बुझाइसकेपछि अब कसरी बढ्ने बढी सिट जित्ने भन्ने ध्याउन्नमा छ । नयाँ र चर्चामा रहेका पात्रहरु बैकल्पिक शक्ति नै बनाएर अघि बढ्पछि कसैसँग तालमेल नगर्ने र एक्लै लड्ने दाबी गरेको एमाले पनि पुराना दलहरुसँग सहकार्यको खोजीमा छ । शनिवार एमाले केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्दै ओलीले राष्ट्रिय हितको रक्षामा नयाँ चुनौती थपिएको भन्दै संविधान पक्षधर  र लोकतान्त्रिक शक्तिहरु बिच सहकार्य जरुरी भएको बताएका छन् । 

नव युवा पुस्ताको आन्दोलनपछि राजनीतिक दलहरु एकता र ध्रुवीकरणको प्रक्रियामा अघि बढे । राष्ट्रिय स्वतन्त्र पार्टी र चर्चामा आएका अनुहारहरु एक ठाउँमा उभिएको अवस्थामा भूराजनीतिक चलखेल वा लोकतन्त्रका रक्षाका लागि भन्दै पुराना दलहरु एक ठाउँमा उभिने देखिएको हो । त्यसैले रवि, बालेनहरुबीचको सहकार्यलाई संकेत गर्दै पछिल्लो पार्टी बैठकमा ओलीले विध्वंसका पक्षधरहरु एक ठाउँमा उभिन खोजेको बताएका छन् । 

आसन्न निर्वाचनका लागि निर्वाचन आयोगमा पेश गरिएको राजनीतिक दलहरुको सूचिमा पपुलिजमले स्थान पाएको भन्दै निकै चर्चा पनि भइरहेको छ । पपुलिजमले लोकतन्त्रको रक्षा नगर्ने लगायतका विभिन्न कोणबाट बहस भइरहँदा ओलीले पनि पार्टी बैठकमा पपुलिजमको ब्रिफिङ गरेका छन् । ओलीले यसअघि नै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्कमल दाहाललाई पनि राष्ट्रियसभा निर्वाचनका लागि सहकार्यको प्रस्ताव गरेका थिए ।

सहकार्यको प्रयास भागबण्डामा कुरा नमिल्दा मात्रै तुहिएको थियो । परम्परावादी भनिएका सबै दलहरुबीच सहकार्य नभए पनि पछिल्लो समय सरकार गठन गरेको कांग्रेस– एमाल लगायतका दलहरु गठबन्धन गरेर अघि बढ्ने देखिन्छ । त्यसको लागि कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वानमा हुन लागेको विशेष महाविधेशनको पर्खिनपर्नेछ ।

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update