News 24 Television
विशेष महाधिवेशनले तात्यो भृकुटीमण्डप

काठमाडौँ । नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनको माहाेलले भृकुटीमण्डप तातेकाे छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा आइतबारदेखि सुरू भएकाे महाधिवेशनको उद्घाटन महामन्त्रीद्वयले बेलुन उडाएर तथा बिरूवामा पानी हालेर गरे ।

महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया बिहानदेखि नै सुरू भएको छ । आयोजकहरूका अनुसार ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतिनिधि दर्ता शुल्क प्रतिव्यक्ति एक हजार रुपैयाँ तोकिएको छ ।

1768121393-ZtXez-1768126846.jpg
 

यो विशेष महाधिवेशन पार्टी विधानको धारा १७ (२) अनुसार ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरमा आधारित छ । महाधिवेशनले पार्टीको नेतृत्व परिवर्तन, नीतिगत पुनरवलोकन, संरचनागत सुधारलगायतका एजेन्डामा छलफल गर्ने जनाइएको छ। उद्घाटन सत्रपछि बन्द सत्र शुरु हुने र महाधिवेशन सोमवारसम्म चल्ने कार्यक्रम छ ।

यद्यपि, पार्टीको संस्थापन पक्ष (सभापति शेरबहादुर देउवा नेतृत्वको) ले यो महाधिवेशनलाई औपचारिक मान्यता दिएको छैन । यसलाई विधानविपरीत भएको बताएको छ । संस्थापन पक्षले नियमित १५ औं महाधिवेशनको कार्यतालिका तय भइसकेकाले विशेष महाधिवेशनको औचित्य नभएको धारणा राख्दै आएको छ । महाधिवेशन स्थल भृकुटीमण्डपमा हजारौं नेता, कार्यकर्ता र शुभचिन्तकहरूको उत्साहपूर्ण उपस्थिति रहेको छ । 

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update