काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकता १२ दिन नपुग्दै भंग भएपछि उज्यालो नेपाल पार्टी अब एक्लै चुनावमा जाने भएको छ । निर्वाचन नजिकिँदै जाँदा जति समय भएपनि राम्रो तयारी गरेर देशभरका सबै क्षेत्रमा उम्मेदवार उठाउने उज्यालो नेपाल पार्टीले घोषणा नै ग¥यो ।
गत पुस १४ गते बालेन शाहलाई साँक्षी राखेर भएको ७ बुँदे एकतामा जेनजीको मागलाई आत्मसात गर्दै पार्टी अघि बढाइने, रास्वपाकै पार्टी र चुनाव चिन्हबाट निर्वाचनमा होमिने तथा कुलमान घिसिङलाई उपसभापति बनाउने समझदारी गरिएको थियो । यही एकताको समझदारीकै कारण चौतर्फी प्रश्न उठेपछि कुलमानले सरकारबाट राजीनामा दिए । तर यसको केहीदिनमै उज्यालो नेपाल पार्टी र रास्वपाको एकता भाँडिएको छ ।
पार्टी एकता भाँडिएको विषयमा रास्वपा र उज्यालो पार्टी नेपालले आ–आफ्नै दावी गरिरहेका छन् । रास्वपाले उज्यालो नेपाल पार्टीले पार्टीको नाम नै परिवर्तन गर्ने तथा अघिल्लो समझादारी विपरितका ठूला पदहरु माग अघि सारेपछि एकता भंग भएको आरोप लगाएको छ । तर यता कुलमान घिसिङले भने आफूले एकता जोगाउन हरसम्भव प्रयास गरेपनि रास्वपाले एकतर्फी एकताको प्रयास टुंगिएको घोषणा गरेको दावी गरिरहेका छन् ।
सिद्धान्तमा पनि असमझदारी !
रास्वपा र कुलमानबीचको एकतामा सामान्य विषयमा विमत्ति देखिएपनि मुख्यतः राजनीतिक सिद्धान्तकै विषयका कारण एकता भाँडिएको देखिन्छ । कुलमानले रास्वपामा प्रस्ताव गरेका समावेशीत, समानुपातिकता र संघीयताको विषयमा समझदारी हुन नसकेको खुलाएका छन्। कुलमानले सुरुकै दिन देखि पार्टीको सिद्धान्त र एजेण्डाप्रति पार्टी प्रष्ट हुनुपर्ने भन्दै आएका थिए । कुलमानले रास्वपासँग संघीयता र समावेशीताजस्ता संविधानतः आधारभूत विषयमा प्रष्ट सम्झौता गर्नुपर्ने माग राख्दै आएका थिए । तर यो विषयमा रास्वपाले कुनै सम्झौता नै नगरको कुलमानको दावी छ । एकता विफलको धेरै कारणमध्ये यो पनि एक मानिएको छ ।
कुलमानलाई घाटै घाटा !
कुलमान घिसिङले सरकारमै हुँदा एकता समझदारी गरे । र, सरकार छाडेपछि भने उनले रास्वपासँगको एकता नै तोडेका छन् । जसका कारण उनले दोहोरो घाटा व्यहोर्नु परेको छ । यदी यसअघि नै एकता भाँडिएको अवस्था थियो भने उनले सरकार छाड्न पर्ने अवस्था थिएन । यो अर्थमा उनले जुन प्रश्नले सरकार छाड्नु प¥यो । त्यो प्रश्न नै नरहनेगरी एकता तोडियो । अर्कोतर्फ उनले अब समानुपातिकतर्फको उम्मेदवार पनि उठाउन नपाउने भएका छन् । निर्वाचन आयोगले निर्धारण गरेको समानुपातिक उम्मेदवारको नाम सिफासिर गर्ने समय घर्किसकेको छ । यसकारण यसअघि उज्यालो नेपाल पार्टीको कोटाबाट सिफारिस भएका सबै समानुपातिक सदस्यहरु रास्वपा अन्तर्गत नै हुने देखिन्छ । यो अर्थाले रास्वपासँगको एकता प्रयासमा कुलमानले दोहारो मर्का खेपेका छन् ।
कुलमानको अबको बाटो कता ?
रस्वपासँगको एकता विफल भएपछि कुलमानले अब एक्लै निर्वाचनमा जाने घोषणा नै गरेका छन् । तर उनको यो घोषणा पनि कति टिक्ला ? भन्ने प्रश्न यत्रतत्र उठेका छन् । तर यो प्रश्नसँगै कतिपयले कुलमानको अबको राजनीति नेपाली कम्युनिष्ट पार्टी अर्थात प्रचण्डसँग नजिकिनसक्ने व्याख्या गर्न थालिएको छ ।
कुलमानले रास्वपामा संघीयता, समावेशीता र संविधानका आधारभूत पक्षमा समझदारी गर्ने प्रयास गर्नु र एकता विफल हुनुको कारणमा यसलाई पनि लिनुले कुलमानको आगामी राजनीति नेपाली कम्युनिष्ट पार्टीसँग जोडिनसक्नेसमेत अनुमान गर्न थालिएको हो । रास्वापासँग नजिकिँदा नेकपा नेतारुले कुलमानलाई कुल विर्सिएको टिप्पणी गर्दै आफूलाई स्थापित गर्ने दलमा आबद्ध नभएको भनेर व्याङ्ग्य गर्ने गरेका छन् । यही अवस्थामा कुलमानले पनि पार्टीको सौद्धान्तिक बहसलाई संघीयता र समावेशीतासँग नै जोडिरहँदा उनी नेतृत्वको उज्यालो नेपाल पार्टी नेपाली कम्युनिष्ट पार्टीतर्फ नै जोडिनसक्ने विविभन्न आंकलन गर्न थालिएको छ ।
