रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकामा उत्पादित कृषि उत्पादन र माछाको ब्राण्डिङका लागि महोत्सवको तयारी गरिएको छ । मुलुकमै धेरै माछा उत्पादन हुने पालिका भएकाले कृषकलाई थप प्रोत्साहित गर्न र बजारीकरणका लागि महोत्सव गर्न लागिएको सियारी गाउँपालिकाले जनाएको छ ।
रुपन्देहीको सियारी गाउँपालिकाले कृषि उत्पादन र माछाको ब्राण्डिङका लागि महोत्सवको तयारी गरेको छ । आइतबार आयोजना गरिएको छलफलमा महोत्सवमा माछासँगैं सियारीका अन्य कृषि उपज र दुग्ध जन्य पदार्थको पनि प्रवद्र्धन गरिने जानकारी गराइएको छ ।
गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले माछापालनले नै पालिकालाई मुलुकभर चिनाएकाले यस्ता उत्पादनको प्रवद्र्धनका लागि महोत्सव गर्न लागिएको जानकारी दिए ।
सियारीले माछामा मुलुकमा हुने कुल उत्पादनको २५ प्रतिशत ओगटेको छ । यहाँ तयार हुने माछाका परिकार पनि लोकप्रिय भइरहेका छन् । माछाका सुकुटी तथा माछाका अचारप्रति उपभोक्ताको आकर्षण बढेको छ । गाउँपालिकाले यहाँको माछालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा ब्राण्डिङ गर्नका लागि प्रबद्र्धनात्मक कार्यक्रम गर्ने सोच बनाएर महोत्सव गर्न लागेको घिमिरेले जानकारी दिए ।
अहिले बिदेशबाट प्याकेटमा माछा मुलुक भित्रिरहेकाले यसलाई रोक्दै यही उद्योग सञ्चालन गरेर यहाँका माछा बिदेश पठाउने उद्देश्य महोत्सवको छ ।
ग्रामीण क्षेत्रमा हुन लागेको महोत्सवको सहआयोजकका रुपमा बुटवल उद्योग वाणिज्य संघ छ । संघले महोत्सवलाई व्यवस्थित तुल्याउन र प्रवद्र्धनमा सघाउने छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका अनुसार गाउँपालिकाभित्र एक हजार २४७ हेक्टर जलाशय क्षेत्र छ । त्यसमध्ये एक हजार १ सय १२ हेक्टर माछा जोन कार्यक्रम अन्तर्गत पर्छ ।
परियोजनाका अनुसार सियारीमा माछाको उत्पादन र उत्कादकत्व समेत बढिरहेको छ । पालिका माछा र दुग्ध उत्पादनमा आत्मनिर्भर छ । यससँगै अन्य कृषि उत्पादन र किसानलाई अझै उत्प्रेरित गर्न महोत्सव आयोजना गर्न लागिएको हो ।
महोत्सवले यहाँका उत्पादन बजारीकरण गर्नमा समेत सहयोग पुग्ने जनाइएको छ । अब किसानलाई मत्स्य बजारसित जोड्न पनि महोत्सव फलदायी हुने विश्वास गरिएको छ ।
चिसो मौसमका कारण महोत्सवको मिति भने अझै तोकिएको छैन । तर, माघ भित्रै महोत्सव आयोजना हुने पालिकाले जनाएको छ । महोत्सवमा कृषिका स्टल र परिकारहरु प्रदर्शनी गरिने छ ।
