काठमाडौँ । विवाद र विभाजनको चुनौतीका बीच काँग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा अन्ततः विशेष महाधिवेशन आयोजना भएरै छाड्यो । सुरुमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर विशेष महाधिवेशन बोलाए पनि बन्दसत्रअघि ६२ प्रतिशतभन्दा बढी प्रतिनिधि सहभागी भएका छन् । नीति र नेतृत्व परिवर्तन गर्ने उद्घोषका साथ सुरु भएको विशेष महाधिवेशनले काँग्रेस ‘दास र लास’हरुको पार्टी नभएर ज्युँदा मानिसहरुको पार्टी भएको सन्देश दिने गगन थापाको भनाइ छ ।
थापाका अनुसार विशेष महाधिवेशनले काँग्रेसमा पुनर्जागरण ल्याउनुका साथै आन्तरिक लोकतन्त्र अझ मजबुत हुनेछ । आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउन पार्टीमा ‘प्राइमरी निर्वाचन’ को व्यवस्था गरिने थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा प्रस्ताव छ । उम्मेदवार छनोट गर्दा सम्बन्धित तहका सदस्यहरूबीच निर्वाचन गराउने र सबैभन्दा बढी मत ल्याउने महिलासहित तीनजनामध्येबाट उम्मेदवार चयन गर्ने नयाँ प्रणाली उनले प्रस्ताव गरेका छन् ।
आइतबार उद्घाटन सत्रमा गगनले पार्टी सञ्चालनको परम्परागत र एकाधिकारवादी शैली अब अन्त्य भएको घोषणा गर्दै काँग्रेस दास र लासहरुको पार्टी नरहेको बताएका थिए । लामो समयदेखि नेतृत्वले पार्टी सदस्यहरूलाई उपेक्षा गर्ने गरेकोमा अब ‘माथि बस्नेले तल बस्नेलाई सलाम गर्नुपर्ने’ नयाँ संस्कृतिको सुरुवात भएको उनको तर्क थियो । यो महाधिवेशन कसैलाई नेता बनाउन नभई पार्टीको नीति र नेतृत्वमा आमूल परिवर्तनका लागि आयोजना गरिएको बताउँदै उनले ‘जेनजी’ आन्दोलनपछिको परिस्थितिमा काँग्रेस ‘जिउँदा मानिसहरूको पार्टी’ भएको पुष्टि गरे ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले विगतमा गरेका कमजोरी र पार्टीभित्र रहेका समस्याको समीक्षा गर्दै आगामी दिनमा त्यस्ता कमजोरी दोहोरिन नदिने संकल्प गर्नकै लागि विशेष महाधिवेशन आयोजना गरिएको दाबी गरे । विगतमा एकै व्यक्ति बारम्बार प्रधानमन्त्री बन्ने गर्दा विकृति हाबी भएकोले अब दुईपटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव शर्माले अघि सारेका छन् । बन्दसत्रमा सांगठानिक प्रतिवेदन पेश गर्दै उनले देश र पार्टी दुवै असफल हुने भएकाले एउटै व्यक्तिलाई २ पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने प्रस्ताव पेश गरेका हुन् । यो व्यवस्था संविधानमै राख्नुपर्ने उनको मत छ ।
विशेष महाधिवेशनले पार्टी विभाजन हुने भन्दै सभापति शेरबहादुर देउवा पक्षले विरोध जनाउँदै आएको छ । विशेष महाधिवेशनस्थलबाट महामन्त्री लगायत नेताहरुले उक्त समारोहमा सहभागी हुन पटकपटक आग्रह गरे पनि देउवा लगायत नेताहरु सहभागी भएका छैनन् । यसले काँग्रेस विभाजनतर्फ उन्मुख भएको विश्लेषण भइरहँदा गगन थापाले भने आफूहरुले आयोजना गरेको विशेष महाधिवेशन वैधानिक भएको दाबी गरेका छन् । विशेष महाधिवेशनको वैधानिकतामाथि कानूनी प्रश्न उठाउने आँट कसैले गर्न नसक्ने बताउँदै उनले निर्वाचन आयागले समेत वैधानिकता दिने दाबी गरे ।
पार्टीको सम्भावित विभाजन रोक्नका लागि नेता शेखर कोइराला लगायतले मध्यमार्गी कसरत जारी राखेका छन् । सोमवार आफू उनले आफूले पार्टी जोगाउन कोसिस गरिरहेको र पार्टी जोगाएरै छोड्ने बताएका छन् । पार्टी फुट्छ कि भन्ने चिन्ता नगर्न आग्रह गर्दै सबैसँग समन्वय गरेर मिलाएर अघि बढाउने उनको प्रतिबद्धता छ । अर्का नेता दिलेन्द्रप्रसाद बडूले पनि पार्टी विभाजन हुन नदिन आफूहरु सक्रिय रहेको बताएका छन् । महामन्त्री र संस्थापन पक्षधरहरुसँग छलफल गरेर आफूहरु अघि बढ्ने निर्णयमा पुगेको पनि उनको भनाइ छ ।
यसरी संस्थापन पक्षको निषेध र बेवास्ताबीच महामन्त्रीहरुले विशेष महाधिवेशन पक्षधरलाई साथमा लिएर काँग्रेसमा अब ‘देउवा प्रणाली’ चल्न नसक्ने सन्देश दिए । थापाले आफू सभापति बन्न नचाहेको बताउँदै केवल पार्टीमा विधि र थिति बसाल्न चाहेको दाबी गर्दै आएका छन् । देउवा पक्षधर नेताहरु भने महाधिवेशनमा नगई अलग्गै भेला र छलफलमा सक्रिय छन् । यसले काँग्रेसमा साँच्चै जागरण आउन लागेको हो कि विभाजनतर्फ अघि बढेको हो भन्ने अन्यौल सृजना भएको छ ।
