News 24 Television
सानैमा आमाबाबु गुमाउँदा राज्यले नै ठग्यो

सिन्धुपाल्चोक । बालिग नेपाली नागरिकले नेपाली नागरिकता पाउनु संवैधानिक अधिकार हो । तर सिन्धुपाल्चोककी लालकुमारी श्रेष्ठले भने नेपाली नागरिकता पाउन ८४ वर्ष कुर्नुप¥यो ।  

सानैमा आमाबाबु गुमाएकी श्रेष्ठले ८४ वर्षको उमेरमा ‘नेपाली नागरिकता प्राप्त गरेकी छन् । जन्मदेखि वृद्धावस्थासम्म राज्यका कागजमा अदृश्य बनेकी लालकुमारीले मंगलबार नागरिकता प्राप्त गरेकी हुन् । 

वि.सं. १९९८ साल, राणाशासनको कठोर समय, सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्र अन्तर्गत पर्ने पलातीगाउँमा एउटी बालिका जन्मिइन्—नाम राखियो, लालकुमारी श्रेष्ठ । तर त्यो नाम राज्यका कुनै पनि कागजमा कहिल्यै दर्ज भएन । छ महिनाकी हुँदा आमाको र १५ महिनाकी हुँदा बुबाको निधन भएपछि लालकुमारीको जन्मदर्ता गराउने कोही रहेन । 

त्यसै दिनदेखि उनी राज्यका लागि अदृश्य बनिन् । विद्यालयको ढोका कहिल्यै देखिनन् । अक्षर चिन्न पाइनन् । नागरिकता, अधिकार, कानुन—यी शब्दहरू उनका लागि जीवनभर अपरिचित बने । वि.सं. २०१८ सालमा विवाह भयो । तर त्यो सहारा पनि लामो समय टिकेन । 

वि.सं. २०३० सालमा श्रीमानको निधन भयो । सानासाना एक छोरा र एक छोरी, गरिबी र असुरक्षा—सबै जिम्मेवारी एक्लै उनका काँधमा आइप¥यो । छोराछोरीको भविष्य खोज्दै उनी काठमाडौँ पुगिन् । घरघरमा काम गरिन् । इँटा बोकिन्, भारी उठाइन् । ज्याला मजदुरी गरेरै सन्तान हुर्काइन् । पछि फेरि उनी गाउँ फर्किइन् । दाउरा, घाँस, अर्म–पर्म र अरूको खेतबारीमा पसिना बगाउँदै जीवन बित्यो । ८४ वर्षको उमेरमा पनि काम नगरी उनको जोहो टर्दैन । 

छोराछोरी भएर पनि बेसहाराजस्तो बनेकी लालकुमारीले जीवनमा कहिल्यै अस्पताल देखिनन् । सरकारी कार्यालय त झन् परको कुरा । नागरिकता नहुँदा राज्यबाट पाउने सेवाबाट समेत बञ्चित हुनु पर्यो । पछिल्लो समय स्थानीयको सहारामा गत भदौ ३० गते, उनले नागरिकताका लागि निवेदन दिइन् । तर जवाफ आयो—राज्यका कुनै अभिलेखमा उनको नाम छैन । 

अदालत जानसमेत सुझाव दिइयो । लाकुमारीका लागि अदालत जाने कुरा सम्भव थिएन । अनि, स्थानीय समाजसेवी, अधिवक्ता सुष्मा गिरी, स्थानीय रामकुमार पाठक, दधिराम पराजुली, पुरुषोत्तम कार्की, सुकदेव तिमिल्सिना, अशोक पराजुली र स्थानीय तहका प्रतिनिधिहरूको पहलपछि बल्ल उनले नागरिकता पाएकी छन् । 

वि.सं. २०८२ साल पौष २९ गते, चौतारा जिल्ला प्रशासन कार्यालयबाट लालकुमारी श्रेष्ठको नाममा नागरिकता जारी भयो । यो उमेरमा नागरिकता पाएकोमा उनी दंग छिन् ।   

आफ्नै थातथलोमा कुनै पनि ज्येष्ठ नागरिकले अनागरिकको पीडा भोग्नु नपरोस् भन्ने उद्देश्यसहित स्थानीय समाजसेविले यो पुण्य कामको पहल गरे । 

छ महिनादेखिको निरन्तर संघर्ष, पहल र सहकार्यपछि अन्ततःनागरिकता जारी भएपछि लालकुमारी मात्र होइन, उनलाई नागरिकता दिलाउन लागि परेका सबै अहिले खुशी भएका छन् । 

लामो समयसम्म राज्यका अभिलेखमा नाम नदेखिएकी लालकुमारी श्रेष्ठको नागरिकता प्रक्रिया जटिल थियो । आफन्तमार्फत सनाखत सम्भव नभएको अवस्थामा स्थानीय तहको सिफारिस, वडाध्यक्षको सनाखत र ज्येष्ठ नागरिकहरूको साक्षीका आधारमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले लालकुमारीलाई नागरिकता दिलाएको हो ।

 नागरिकता पाउनु नागरिकको मौलिक अधिकार भएको र वास्तविक नेपाली नागरिकलाई कागजको अभावमा राज्यबाट टाढा राख्न नहुने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी बताउँछन् ।  

नेपालको संविधानले १६ वर्ष उमेर पुगेका हरेक नेपाली नागरिकलाई नागरिकताको अधिकार सुनिश्चित गरेको छ । तर सानैमा अभिभावक गुमाएका लालकुमारीजस्त धेरै नेपाली अनागरिक बन्नुपर्ने बाध्यता छ । 

लालकुमारीको नागरिकता पाउनु एउटा व्यक्तिगत जितमात्र होइन, राज्यको कमजोरी उजागर गर्ने ऐना हो । राज्य त्यतिबेलामात्र न्यायपूर्ण हुन्छ, जब बोल्न नसक्नेका लागि आफैँ बोल्छ । एउटा प्रश्न अझै बाँकी छ, ८४ वर्षसम्म नागरिकता नपाएर बाँच्नुपरेको लालकुमारीको जीवनको हिसाब कसले दिन्छ ?

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update