काठमाडौं । नेपालमा वार्षिक करिव ११ लाख विदेशी पर्यटक आउने गरेका छन् । नेपाल पर्यटन बोर्डकाअनुसार सन् २०२५ जनवरीदेखि नोभेम्बरसम्म १० लाख ६० हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् ।
यी मध्ये करिव ४० देखि ४५ प्रतिशत पर्यटक हिमाली क्षेत्र पुग्ने अनुमान गरिएको छ । हिमाली क्षेत्रको प्राकृतिक सौन्दर्य, हिमश्रृंखला र पदमार्ग नेपाल पर्यटनको मुख्य आकर्षण हुन् । तर, पदयात्राका क्रममा जथाभावी फोहोर फाल्ने, निर्धारित ट्रेल नमान्ने र वातावरणीय संवेदनशीलतामा ध्यान नदिने प्रवृत्तिले हिमाली पर्यटनमा चुनौती थपिएको छ ।
हिमाली पर्यटनलाई दिगो बनाउन पदयात्रा अघि नै योजना बनाउने, पर्यावरणमैत्री सामग्री प्रयोग गर्ने र ट्रेल अनुशासन कायम गर्नु आवश्यक रहेको सरोकारवालाहरु बताउँछन् । विशेषगरी ट्रेल व्यवस्थापन, फोहोर न्युनिकरण र स्थानीय संस्कृति संरक्षण नै मुख्य चुनौती बनेका छन् । त्यसैले हिमाली पर्यटनलाई दिगो र जिम्मेवार बनाउन सरोकारवालाहरूले पहल शुरु गरेका छन् ।
हिमाली पर्यटनलाई थप व्यवस्थित बनाउन नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपी को दिगो पर्यटन परियोजनाले हालै तीन सय बढी पर्यटन व्यवसायी, गाइड र भरियाहरूलाई विशेष तालिम दिएको छ ।
तालिममा एभरेष्ट र अन्नपूर्ण मात्र नभई अपि–सैपाल, मनास्लु र कञ्चनजंघा पदमार्गलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ ।
दिगो पर्यटन परियोजनाका प्रवन्धक धर्म दवाडीले हिमाली क्षेत्रको पर्यटन प्रर्वद्धनमा केन्द्रित रहेर व्यवसायी, गाईड, भरिया, होम स्टे सञ्चालक लगायतलाई प्राथमिक उपचारदेखि स्वागत सत्कार कला जस्ता सीपको प्रशिक्षण दिइएको बताए ।
हिमाली क्षेत्रमा ट्रेलको अनुशासन नमान्दा वातावरणमा प्रतिकुल असर परेको स्वयं व्यवसायीहरु स्वीकार गर्छन् । विशेषगरी प्लास्टिकजन्य फोहोर र अनियन्त्रित ट्रेल विस्तारले दीर्घकालीन समस्या निम्त्याइरहेको छ ।
तालिममा केवल वातावरण संरक्षण मात्र नभई, उच्च हिमाली भेगमा हुनसक्ने दुर्घटना र स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै ‘माउण्टेन फस्र्ट एड ट्रेनिङ’ दिइएको थियो । पदयात्राका क्रममा हुनसक्ने चोटपटक, उचाइजन्य रोग, हाइपोथर्मियालगायत जोखिमबाट जोगिन तालिम उपयोगी बनेको सहभागीहरूले बताए ।
पर्यटकको संख्या बढ्नु मात्रै सफलता होइन । हिमाली क्षेत्रको सौन्र्दय र पर्यावरण जोगाएर मात्र पर्यटनलाई दीर्घकालिन आम्दानीको स्रोत बनाउन सकिन्छ । हिमाली पर्यटनलाई दीर्घकालीन, मर्यादित र दिगो बनाउन पर्यटन व्यवसायी, गाइड, भरिया र पर्यटक सबै जिम्मेवार बन्नु जरुरी छ । जिम्मेवार पर्यटन नै हिमाली क्षेत्रको भविष्य सुरक्षित गर्ने आधार हो ।
हिमाली पर्यटनलाई दिगो बनाउन शुरु भएको यो पहल कत्तिको प्रभावकारी बन्छ, त्यो भने सबै सरोकारवालाको प्रतिवद्धतामा निर्भर रहनेछ ।
