News 24 Television
इन्धन अभावले २ दिन विदा तर पर्यटन व्यवसायी मालामाल !

पोखरा । इन्धन बचन गर्न सरकारले लागू गरेको दुई दिने सार्वजनिक बिदाले पोखराको पर्यटन क्षेत्रमा उत्साह थपेको छ । आन्तरिक पर्यटकको आगमन बढेसँगै होटल, रेस्टुरेन्ट र प्रमुख गन्तव्यहरू अहिले गुलजार बनेको पर्यटन व्यवसायीहरू बताउँछन् । 

व्यवसायीका अनुसार यो निर्णयले सुस्ताएको पोखराको पर्यटनलाई चलायमान बनाउँदै अर्थतन्त्रमा सकारात्मक प्रभाव मात्रै पारेको छैन, भ्रमण संस्कृतिको विकासमा समेत महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । 

सरकारले हालै कार्यान्वयनमा ल्याएको शनिवार र आईतवारको दुई दिने सार्वजनिक बिदाको निर्णयलाई पोखराका पर्यटन व्यवसायीहरूले स्वागत गरेका छन् । यो निर्णयले आन्तरिक पर्यटनलाई मात्र गति दिएको छैन, बरु सुस्ताएको पर्यटन व्यवसायमा नयाँ आशाको सञ्चार गरेको पर्यटन व्यवसायीको भनाइ छ ।

यसलाई होलिडे प्याकेजको रूपमा अगाडि बढाएर ओझेलमा परेका गन्तव्यहरूको प्रवद्र्धन गर्नुपर्ने उनीहरुको भनाइ छ । पोखराका पर्यटन व्यवसायीहरूका अनुसार यो निर्णयले कर्मचारी वर्गलाई मात्र नभई समग्र अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्नेछ । 

दुई दिने बिदाले नेपालीहरूमा भ्रमण गर्ने संस्कृतिको विकास गर्न र देशको आन्तरिक पर्यटकीय सम्भावनालाई उजागर गर्न कोसेढुङ्गा सावित हुने व्यवसायीको अपेक्षा छ । ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल  (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्यका अनुसार यो निर्णय आन्तरिक पर्यटन प्रवद्र्धनका लागि कोशेढुङ्गा सावित हुनेछ । 

कोभिड–१९ को महामारीपछि बिस्तारै तङ्ग्रिँदै गरेको पर्यटन व्यवसायका लागि नयाँ आन्दोलन र सकारात्मक परिवर्तनको आवश्यकता रहेको आचार्यको भनाइ छ । विशेषगरी जेन–जी पुस्तामा बढ्दो भ्रमण संस्कृतिको सन्दर्भमा यो निर्णय अझ प्रभावकारी हुने देखिएको छ । 

पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) की सचिव एवं होटल लेक क्वीनकी सञ्चालक शान्ता सुवेदी तिमिल्सिनाले दुई दिने विदाबाट पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव परेको बताउँदै नयाँ वर्षको पूर्वसन्ध्या र बिदाको प्रभावले अहिले पर्यटकीय शहर पोखरा आन्तरिक पर्यटकले भरिभराउ भएको जानकारी दिइन् । 

पर्यटकीय क्षेत्रहरु पोखरा, लेखनाथ र यस वरिपरिका गन्तव्यहरुमा पर्यटकको उपस्थितिले आर्थिक गतिविधि चलायमान बनाएको पर्यटन व्यवसायी बताउँछन् । दुई दिने विदाले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पारेको पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) की महासचिव शोभा अधिकारी पौडेलको भनाइ छ । 

लामो समयको सुनसानपछि सार्वजनिक विदाको सदुपयोग गर्दै भ्रमणमा निस्कने आन्तरिक पर्यटकका कारण पोखराका होटल, रेस्टुरेण्ट र ग्रामीण पर्यटकीय क्षेत्रहरुमा रौनक फर्किएको छ । फेवाताल, बेगनासताल र सराङकोटजस्ता मुख्य पर्यटकीय स्थलहरुमा पर्यटकको उपस्थिति बाक्लो देखिएको छ । यसले गर्दा स्थानीय स्तरमा रोजगारी र व्यापारमा समेत टेवा पुगेको पर्यटन व्यवसायीहरुको ठहर छ । 

सरकारले इन्धन अभावको कारण देखाउँदै दिएको दुई दिने विदा पर्यटन व्यवसायीका लागि भने सकरात्मक बनिरहेको देखिएको छ । कोभिडयता सुस्ताएको पोखराको पर्यटनमा समेत दुई दिने विदाले चहलपहल बढाएको छ । आन्तरिक पर्यटकको संख्या बढ्दा पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न मद्दत पुग्ने व्यवसायीहरु बताउँछन् । 

प्रकाशित मिति: बिहीबार, वैशाख १०, २०८३  ०८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update