News 24 Television
जाउँ है पोखरा अभियान शुरु, वीरगञ्जमा उद्घाटन

कास्की । होटल संघ पोखरा नेपालले दुई दशक अघि सुरु गरेको जाउँ है पोखरा अभियान यस वर्ष आर्थिक नगरी विरगंजबाट सुरु भएको छ । देशका प्रमुख शहरहरुमा गएर पोखरामा पर्यटक निम्त्याउन गरिने यो अभियानले पोखरामा आन्तरिक पर्यटन आवागमनलाई बढवा दिने विश्वास लिइएको छ । 

कुनै समय थियो पर्यटक भन्ने बित्तीकै पश्चिमी मुलुकबाट आएका नागरिकलाई मात्र सम्झिने गरिन्थ्यो । यो परिभाषालाई चिर्दै नेपाली पनि घुम्न पर्छ र नेपाली पनि पर्यटक हुन् भन्ने स्थापित गर्न होटल संघ पोखराले जाँउ है पोखरा अभियान सुरु ग¥यो । 

त्यस संगसंगै पोखरामा विस्तारै आन्तरिक पर्यटकको चहल पहल बढ्न थाल्यो । फलस्वरुप अहिले पोखरा आन्तरीक पर्यटकको पहिलो रोजाईमा छ । २५ वर्ष पहिले सुरु गरिएको अभियान जाँउ है पोखरा अहिले पनि जारी छ । आन्तरीक पर्यटकलाई पोखरामा निम्ता दिन होटल संघ पोखराले देशका प्रमुख शहरमा पुगेर जाँउ है पोखरा संचालन गर्दै आएको छ । यो पटक पनि देशको आर्थिक नगरी विरगंजबाट यो अभियान शुभारम्भ गरिएको छ । 

शुभारम्भ कार्यक्रमा बोल्दै विरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले नयाँ सरकारले पर्यटन मैत्री नीति बनाउनु पर्ने र सिमा क्षेत्रमा चेकिङका नाममा भारतिय पर्यटकलाई सास्ती दिएको गुनासो गर्दै पर्यटकको आतिथ्यका बारेमा पोखरा बाट पाठ सिक्नुपर्ने धारणा राखे ।

अभियानको शुभारम्भ कार्यक्रमा बोल्दै नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणि लामिछानेले यस्ता अभियानले नेपालीहरुलाई घुम्न प्रेरित गर्ने र पर्यटन व्यवसाय चलायमान हुने विश्वास व्यक्त गरे । पर्यटन व्यवसायीहरुका संघ संस्थाले आयोजना गर्ने यस्ता अभियानमा पर्यटन वोर्डले सधै सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

होटल संघ पोखराले जाउँ है पोखरा संचालन गरेपनि यो अभियान पोखरा र देशका प्रमुख शहर बीच दोहोरो पर्यटन विकासको सेतु भएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदी बताउँछन् । यस्ता अभियानले आन्तरीक पर्यटकहरुमा देश घुम्न पर्छ भन्ने सिकाउने र पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार हुने सुबेदीको विश्वास छ । 

कार्यक्रमका अधिकांश वक्ताहरुले सिमरादेखी पोखरासम्म सिधा उडानको लागि पहल गर्न सम्वन्धित पक्षको ध्यानाकर्षण गराएका छन् । वीरगंजबाट सुरु भएको जाउँ है पोखरा अभियान पूर्वी नेपालका विराटनगर, इलाम र हेटौंडामा पनि हुनेछ ।

दोश्रो चरणमा पश्चिम नेपालका प्रमुख शहरमा यो अभियान संचालन गरिने छ । त्यस्तै छिमेकी राष्ट्र भारतका सिमावर्ती शहरमा चलिए पोखरा र चीनका शहरमा चाउला पोखरा संचालन गरिने छ । अभियान मार्फत पोखरा आउने पर्यटकहरुलाइ विभिन्न खालका छुटका प्याकेज पनि पाउने छन् । 

यो अभियान लगत्तै नयाँ वर्षको अवसरमा होटल संघ गण्डकीले फेवा नववर्ष महोत्सव आयोजना गर्ने छ । हाल पोखरामा एकहजार दुई सय भन्दा बढि होटल संचालनमा छन् भने त्यसबाट दैनिक ५० हजार बढी पर्यटकलाई राख्ने क्षमता छ । 

प्रकाशित मिति: बुधबार, चैत ११, २०८२  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update