News 24 Television
नेपाली काँग्रेस विभाजित, आधिकारिकताको लडाईं अब निर्वाचन आयोगमा

काठमाडौँ । लामो समयदेखिको आन्तरिक द्वन्द्वपछि नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेस औपचारिक रूपमै विभाजित भएको छ ।

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाएसँगै पार्टीको केन्द्रिय कार्य समिति बैठकले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई ५ वर्षका लागि निष्कासन गरेको छ । यसले पार्टी फुटको औपचारिक घोषणा गरेको विश्लेषकहरू बताउँछन् ।

वरिष्ठ अधिवक्ता तथा संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले यो विवादलाई विधान र कानूनी दृष्टिकोणबाट विश्लेषण गर्दै विशेष महाधिवेशन पक्षधरको कदमलाई विधानसम्मत ठहर गरेका छन् । उनले नेपालको संविधानको धारा २६९ ले राजनीतिक दलको विधान लोकतान्त्रिक हुनुपर्ने प्रावधान रहेको स्मरण गराउँदै नेपाली काँग्रेसको २०१७ सालमा बनेको विधान लोकतान्त्रिक रहेको बताए ।

1768392976-H0LJt-1768399317.jpg
पार्टीको केन्द्रिय कार्यसमितिको पदावधि विधानबमोजिम चार वर्षको हुने र सो २०८२ मंसिरमा सकिएको छ । मंसिरमा कार्यकाल सकिए पनि विधानले एक वर्ष थप गर्न सकिने व्यवस्था छ । तर विधानको धारा १७ बमोजिम ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित विशेष महाधिवेशन माग गरेमा संस्थापन पक्षले बोलाउनुपर्ने बाध्यकारी प्रावधान छ । संस्थापनले नबोलाइदिए पुराना महाधिवेशन प्रतिनिधिमध्ये जो कोहीले पनि बोलाउनसक्ने व्यवस्था रहेको उनले स्पष्ट पारे ।

वर्तमान विवादमा ५४ प्रतिशतभन्दा बढी प्रतिनिधिले विधानसम्मत रूपमा विशेष महाधिवेशन माग गरेको र सोहीअनुसार भृकुटीमण्डपमा महाधिवेशन जारी रहेको ज्ञवालीको भनाइ छ । यसले पुरानो केन्द्रिय समितिलाई स्वतः भंग गरेको अवस्था सिर्जना भएको र विशेष महाधिवेशनले निर्वाचन कार्यतालिका प्रकाशित गरी उम्मेदवारी आह्वान र मनोनयन प्रक्रिया अघि बढाएको तथा संस्थापन पक्षले तीन नेतालाई कारबाही गरेको सन्दर्भमा आधिकारिकताको गम्भीर प्रश्न उठेको उनको भनाइ छ । 

उनका अनुसार यदि विशेष महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेमा ३० दिनभित्र निर्वाचन आयोगमा पार्टीको नाम, चुनाव चिन्ह ‘रुख’, झण्डा आदि दाबी गर्दै निवेदन दिनुपर्ने हुन्छ । संस्थापन पक्षले पनि आधिकारिकता दाबी गरेमा विवाद निर्वाचन आयोगमा पुग्नेछ । ज्ञवालीले राजनीतिक दलसम्बन्धी ऐनको दफा, ५१ बमोजिम आयोगले एक पक्षलाई आधिकारिकता दिने निर्णय गर्नुपर्ने र सो निर्णय अन्तिम हुने भए पनि सर्वोच्च अदालतमा संवैधानिक परीक्षणका लागि रिट दायर गर्न सकिने बताए ।

आसन्न प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन माघ ६ गतेभित्र गर्नुपर्ने कार्यतालिका छ । आधिकारिकताको लडाईं लम्बिएमा काँग्रेसले उम्मेदवार चयन र मनोनयन गर्न नसक्ने जोखिम छ । यसले निर्वाचन प्रक्रियामा जटिलता थपिनुका साथै तोकिएको समयमा निर्वाचन नै प्रभावित हुनसक्ने उनको चेतावनी छ । 

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  १९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update