News 24 Television
देउवाको एक्सनः गगन–विश्व कारबाहीमा, कसले पाउला कानूनी वैधता ?

काठमाडौं । नेपाली कांग्रेस अन्ततः विभाजनमा गएको छ । कांग्रेसमा विशेष महाधिवेशनमा होमिएका तीन पदाधिकारीहरुलाई संस्थापन पक्षले अनुशासनको कारबाही गरेपछि कांग्रेस विभाजन भएको हो । कांग्रेस विभाजनमा गएपनि कसले वैधता पाउँछ भन्ने संसयकाबीच चलिरहेको जुहारीले राजनीतिमा नयाँ तरङ्ग पैदा गरिदिएको छ । 

सहमतिका निम्ति अन्तिम प्रयास गर्ने भन्दै नेताहरुले गरेका छलफलले निष्कर्ष निकाल्न नसकेपछि अन्ततः कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित सहमहामन्त्री फरमुल्लाह मन्सुर कारबाहीमा परेका हुन् । पार्टी अनुशासनविपरित काम गरेको भन्दै १२५ केन्द्रीय कार्यसमितिको बैठकले कारबाही अनुमोदन गरेको बताइएको छ । 

कारबाहीपछि कांग्रेस संस्थापन पक्षले तीन नेतामाथिको कारबाहीबारे निर्वाचन आयोगलाई समेत जानकारी गराएको छ भने कारबाहीको पत्र समेत दर्ता गराइसकेको छ । 

समानुपातिक निर्वाचनमा पनि कांग्रेस सभापति शेरबहाुदर देउवाले नै हस्ताक्षर गरेर निर्वाचन आयोगमा दिएको विवरण अद्यावधिक गरेको आयोगमा अब आएको यस्तो विवादको निरुपण समेत सहज हुने अवस्था भने देखिन्न । संस्थापनले तीन नेताबाहेकलाई नियमित पार्टी काममा फर्किन भन्दै कारबाही भने गरेको छैन् । 

कारबाहीमा परेपछि विशेष महाधिवेशन हलमा सम्बोधन गर्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कारबाहीको औचित्य नभएकोदेखि वैधता आफ्नो पक्षले नै पाउने दाबी गरिरहेका छन भने कांग्रेसमा देउवाको विकल्पलाई नै मूल एजेण्डा बनाएका छन् ।

कारबाहीमा परेका दुई महामन्त्रीले एकताको प्रयास गरेकोदेखि अन्य विषयमा प्रष्टीकरण दिएपनि पार्टी विभाजन औपचारिक रुपमै भएको देखिन्छ । यस्तै सहमहामन्त्री फरमुल्लाह मन्सुरले पनि कारबाहीपछि हललाई सम्बोधन गरेका छन् । बहुमत कार्यकर्ताको वेग कुनै निर्णयले परिवर्तन गर्न नसक्ने मन्सुरको दाबी छ । 

कांग्रेस विभाजनमा गएपछि यसको वैधता र निर्वाचन आयोगको निर्णयलाई लिएर चासो बढेको छ । विशेष महाधिवेशनले निर्वाचित गर्ने कमिटी र त्यसपछिको अवस्थाबारे चलिरहेका चर्चालाई अब निर्वाचन आयोग हुँदै अदालतसम्मको निर्णय पर्खिनुपर्ने अवस्था बनेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update