News 24 Television
गुलाफको फूल बोकेर निस्किएका विप्लव विद्रोहकै बाटोमा

काठमाडौं । संसदीय ब्यवस्थालाई नै अस्वीकार गर्दै आएका नेत्रविक्रम चन्द विप्लव अन्ततः संसद छिर्ने दाउमा छन् । यसका लागि तत्कालिन नेकपा माओवादी केन्द्रसँग एकता गर्न विप्लव मात्र होइन, प्रचण्ड पनि राजी नै थिए । 

त्यसैले विप्लवले पार्टी एकतादेखि निर्वाचनमा जाने निर्णय पार्टीमा गराए । आगामी निर्वाचनसम्म एकता हुने भन्दै हौसिएर निर्वाचन आयोगमा दल दर्ता गराएका विप्लव अन्ततः राजनीतिक ध्रुवीकरण र एकताको क्रममा एक्लिन पुगे । जसले गर्दा विप्लव निर्वाचन टार्ने मनसायमा पुगेका छन् । 

गत भदौ २३ गतेको नव युवा पुस्ताको विद्रोहपछि मुलुकको राजनीतिक परिस्थिति नै फेरियो । युवा विद्रोहलाई दुई किसिमले विश्लेषण भइरहेका छन् । एकाथरीले पुराना दलहरुको कारण उत्पन्न परिस्थिति भन्दै स्वभाविक भनिरहेका छन् भने अर्काथरीले विदेशी शक्ति केन्द्रबाट परिचालित शक्ति भनेर विश्लेषण गरिरहेका छन् । 

जेजसरी विश्लेषण गरिए पनि त्यही आन्दोलनका कारण दुई ठूला दल सम्मिलित सरकार नै विस्थापित भयो । नयाँ परिस्थितिमा बनेको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने तयारी गरिरहेको छ । यही परिस्थितिले ठूलादेखि साना र पुरानादेखि नयाँ सबै राजनीतिक दलहरुहरुको जग हल्लाइदियो । र, नयाँ पुराना सबै दलहरुमा ध्रुवीकरण र एकताको लहर चल्यो । 

त्यो अहिले सम्म पनि जारी नै छ । आगामी निर्वाचनसम्म नै ध्रुवीकरणको प्रक्रिया चलिरहने देखिएको छ । यही परिस्थितिमा संसदीय ब्यवस्थालाई नै अस्वीकार गर्दै आएका नेत्रविक्रम चन्द विप्लव संसद छिर्ने दाउमा थिए । उनले एक पटक प्रधानमन्त्री बन्ने चाहना भएको सार्वजनिक अभिब्यक्ति पनि दिँदै आएका छन् । एकताको ध्रुवीकरणका क्रममा कुनै शक्तिसँग एकता हुने आशाले उनले आफैले छाडेको नेकपा माओवादी नामको दल दर्ता गराए । 

विप्लवले चाहे जस्तो न अन्य दलहरुसँग एकता हुन सक्यो, न त आफूलाई प्रधानमन्त्री दिन कोही तयार भए । निर्वाचनमा होमिने निर्णय गरेर च्याखे थापे पनि दाउ नलागेपछि निर्वाचनबाट भाग्ने दाउमा छन् । त्यसैले उनले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध विख बमन गरिरहेका छन् भने, सर्वपक्षीय सरकार गठन गर्नुपर्ने बताइरहेका छन् । 

निर्वाचन आयोगबाट गुलाफको फूल चुनाव चिन्ह पाएपछि विप्लव एक चरण चुनावी रणनीति बनाएका जिल्ला तथा गाउँ केन्द्रित अभियानमा पनि लागे । त्यसपछि उनलाई चुनावबाट संसद छिर्न सकिन्छ भन्ने लागेको छैन । त्यसैले उनी निर्वाचनले निकास नदिने भन्दै भाषणबाजी गरिरहेका छन् । 

सुशीला सरकार हटाउन सडक आन्दोलन 

आगामी फागुन २१ को निर्वाचनबाट संसद छिर्ने योजना सफल नहुनेदेखिएपछि विप्लव सरकारसँग असन्तुष्ट बनेको जेनजीको एउटा समूहसँग नजिकिन पुगेका छन् । नव युवा पुस्ताको आन्दोलनपछि गठित अन्तरिम सरकारले चुनाव घोषणा गर्नुका साथै निर्वाचन आयोगले दल दर्ताका आह्वान गरेको थियो । 

त्यसपछि सबै भन्दा भन्दा पहिला नै पाँच तारे होटलमा कार्यक्रम गरि नयाँ दल खोल्ने घोषणा गरेका मिराज ढुंगाना समूह दल दर्ता गर्न तर्फ लागेन । र, सुशीला कार्की सरकारलाई हटाउन सडक आन्दोलन शुरु गर्यो । ढुंगानाको समूह निर्वाचन विकल्प नभएको भन्दै ५ वर्षीय स्थिर सरकार निर्माणका लागि सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघर मण्डलामा आन्दोलनमै छ । 

असन्तुष्ट जेनजी समूहसँग सहमति 

निर्वाचनमा जाने भन्दै गुलाफको फूल बोकेर निस्किएका विप्लव अहिले उनै मिराज समूहसँग आन्दोलनमा होमिने तयारीमा छन् । त्यसैले आन्दोलनरत जेनजी समूहसँग कार्यगत एकता नै गरेर विप्लव आन्दोलनमा जाने भएका छन् । विहीबार मात्रै विप्लवले उक्त समूहसँग चार बुँदे सहमति गरेका छन् । 

चार बुँदे सहमतिमा सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागी संघर्ष गर्ने, जेन–जी विद्रोहको मागहरू पुरा गर्न संघर्ष गर्ने, आन्दोलन र जनताको चाहना वमोजिम संविधानको संसोधन, स्थिर सरकार, भ्रष्टाचार विरुद्ध विशेष न्यायीक निकाय गठन, राज्यको अग्रगामी पुनर्संरचनाका लागि संघर्ष गर्ने उल्लेख छ । 

प्रचण्डसहित समाजवादी नामका दल तथा समूहसँग एकता नभएपछि एक्लै निर्वाचनमा   विप्लवको परिणाम सून्य आउने निश्चित छ । यो अवस्थामा विभिन्न समूहबाट विरक्तिएको जेनजीको एउटा समूहसँगको कार्यगत एकताबाट विप्लव कुन बाटोमा पुग्दैछन्, केही समय पर्खिनुपर्नेछ । 

प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२  ०९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update