काठमाडौं । विशेष महाधिवेशनबाटसर्वसम्मत सभापति चुनिएका गगन थापाले १० लाख क्रियाशील सदस्यहरुमध्ये ९ लाख ८० हजार जहाँसुकै उभ्याउन सक्ने दाबी गरेका छन् । आधिकारिक कांग्रेस आफुहरु रहेको दाबी गर्दै विवरण अध्यावधिकका लागि सभापति थापाको समूह निर्वाचन समेत पुगिसकेको छ ।
पदाधिकारी र कानूनविदसहित आयोग पेगेका सभापति थापाले शेरबहादुर देउवाको स्थानमा आफ्नो हस्ताक्षरबाट मनोनयन पत्र जारी गर्न पाउनु पर्ने भन्दै निवेदन पेस गरेका छन् । अधिकांस पुराना दलका नेताहरु आलोचित छन् । तर यो भीडमा गगन लोकप्रियताको शिखरमा छन् । केन्द्रीय समितिमा रहेका उनका सारथीहरुले अबको युग गगन थापाको भएको बताउन थालेका छन् ।
पछिल्लो २ दशकयता नेपाली राजनीति विकृत बन्दै गइरहेको छ । क्राउड पुलिङ र विश्वासयोग्य नेताहरु छैनन् भन्दा फरक पर्दैन । तर यही भीडमा गगन थापामाथि भने विश्वास र भरोसा गर्नेहरु धेरै थिए ।
पार्टीभित्र सधैजसो विद्रोही कित्तामा रहँदै आएका गगन अहिले आफै नेत्तृत्व गर्ने पंक्तिमा उभिएका छन् । विशेष महाधिवेशनबाट जबरजस्तरुपमा उनी सभापतिको रुपमा उदाएका छन् ।
निर्वाचन आयोगबाट आउने निर्णय कुरेर बसेका थापा र उनका सारथीहरु आफ्नै पक्षमा फैसला आउनेमा विश्वस्त देखिएका छन् भने सभापतिको रुपमा गगन थापाको महत्व र आवश्यकताको बखान गर्दैछन् । गगन टिममा सहमहामन्त्री रहेकी डिला संग्रौला गगनले कांग्रेसको मात्रै होइन देशकै नेत्तृत्व गर्ने जिकिर गर्छिन् । सञ्चारकर्मीसँग कुरा गर्दै अबको युग गगन थापाको भएको उनले दाबी गरिन् । देश चलाउनको लागी नयाँ सोच, विचार र एजेण्डा चाहिने र त्यो आशा र भरोसा जगाउनसक्ने गगन थापा रहेको उनी बताउँछिन् ।
सहमहामन्त्री बहादुर सिंह लामाले जेन–जीको आन्दोलनले नयाँ रुपान्तरण खोजेकोले सोही अनुसार आफूहरु अगाडी बढेको बताए । एउटै अनुहार देखेर जनता वाक्क भइसकेको लामाको भनाइ छ ।
आगामी निर्वाचनमा सुशासन कायम गर्ने, रोजगारी सिर्जना गर्ने लगायतका एजेण्डा लिएर जनताको माझ गगन थापाका नेत्तृत्वमा जाने उनले बताए । विशेष महाधिवेशनले जनताको र युवाको मन छुने, रोजगारी सिर्जना हुने, सुशासनका विधि लगायतका धेरै कुरामा स्पष्ट निति पारित गरेकोले सोही नीतिअनुसार अगाडी बढ्ने लामाको भनाइ छ ।
आगामी निर्वाचनमा पार्टीले गगनकै नेत्तृत्वमा भाग लिने अर्का सहमहामन्त्री उदय शमशेर राणा बताउँछन् । चुनावको अगाडी अन्यौल सिर्जना गर्न खोजेको नभई सबै नयाँ जोश जाँगर लिएर आएको राणाको तर्क छ । निर्वाचनको लागि ६ गते उम्मेद्वारी दर्ता गर्नुपर्ने भएकोले त्यसको लागि पार्टीले विभिन्न निर्णय गरिसकेको उनले बताए ।
विद्यार्थी नेता हुँदै जनआन्दोलन २०६२\६३ यता नेपाली राजनीतिमा जबरजस्तरुपमा उदाएका गगनले स्वास्थ्यमन्त्री, महामन्त्री हुँदा पुस्तान्तरण र गुटबन्दीविरोधी अभियान चलाए ।
शेरबहादुर देउवासँग लामो समयको आन्तरिक द्वन्द्वपछि कांग्रेसको इतिहासकै दोस्रो विशेष महाधिवेशनबाट निर्विरोध सभापति निर्वाचित भएका गगनलाई जेनजी आन्दोलनपछिको राजनीतिक माहोल र विषम परिस्थितिलाई संयमित बन्दै सम्हाल्नु पर्ने र कांग्रेसलाई सहि दिशामा हिडाउनु पर्ने जिम्मेवारी पनि छ ।
