News 24 Television
काँग्रेसमा आधिकारिकता विवाद : आन्दोलन चर्काउने संस्थापनको चेतावनी, धर्नामा गगन काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन पक्षले पार्टी विधानले कुनैपनि प्रकारको अधिवेशन तथा महाधिवेशन आयोजना गर्ने सम्पूर्ण अधिकार केन्द्रिय कार्यसमितिलाई मात्र दिएको दाबी गरेको छ । 

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै सो दाबी दोहोर्याएका हुन् । उनले पार्टी विधानअनुसार पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई विशेष महाधिवेशन बोलाउने अधिकार नरहेको स्पष्ट पारे । उनले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरेमा केन्द्रले विशेष महाधिवेशन गर्नसक्ने व्यवस्था भए पनि ‘केन्द्र’ भन्नाले केन्द्रिय कार्यसमिति र केन्द्रिय कार्यालयलाई जनाउने उनकाे भनाइ छ ।

गत मंसिरमै नियमित महाधिवेशन गर्ने निर्णय पार्टी समितिले गरेको भए पनि तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सक्रियताको काम नसकेकै कारण हुन नसकेको जिकिर गरे । उनले कार्यसमितिले विशेष महाधिवेशन पक्षधरको माग सम्बोधन गर्नका लागि प्रक्रिया अगाडि बढाइएको भए पनि तत्कालीन महामन्त्रीद्वयले अत्यसअनुरुप जिम्मेवारी पूरा गर्न नसकेको बताए ।

उनले भने, ‘नेपाली काँग्रेसको विधानले कुनैपनि प्रकृतिको अधिवेशन, महाधिवेशन गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्रै दिएको छ । पार्टीको केन्द्रिय समितिबाहेक कुनैपनि पदाधिकारीलाई नेपाली काँग्रेसको कुनैपनि अधिवेशन वा महाधिवेशन गर्ने अधिकार नेपाली काँग्रेसले दिएको छैन । त्यो कुरा हाम्रो पार्टीको विधानका विभिन्न धारा र नियमावलीमा प्रष्ट छ । त्यसैले विधानको विपरित भएको छ । पार्टीका ४० प्रतिशत महाधिवेशन प्रतिनिनिले हस्ताक्षर गरी विषय खोलेर माग गरेमा केन्द्रले विशेष महाधिवेशन गर्ने व्यवस्था छ । विधानअनुसार केन्द्र भन्नाले केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यालय हो । यसको अर्थ के हो केन्द्रीय कार्यसमितिको निर्णयले मात्र विशेष महाधिवेशन गर्न पाइन्छ ।’

संस्थापन पक्षले आफूहरुलाई आधिकारिकता नदिए देशभर आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । कार्यवाहक सभापति खड्काले षड्यन्त्र र दबाबमा परेर निर्वाचन आयोगले पार्टी विधान र संविधानविपरित निर्णय गरेर वडा तहदेखि केन्द्रसम्म आन्दोलन चर्काउने चेतावनी दिएका हुन् ।

उता, विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको काँग्रेसले आधिकारिकताको माग गर्दै निर्वाचन आयोगमा धर्ना दिएको छ । शुक्रवार दिउसो गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित नेपाली काँग्रेसका  नेताहरुले आयोगको अगाडी धर्ना दिएका हुन् । आयोग अगाडी नेताहरु पलेँटी कसेर धर्नामा बसेका छन् ।

शुक्रवार बिहान काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतले आफूहरु आधिकारिक भएको दाबी आयोगमा निवेदन दिएका थिए । आयोगले संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नेपाली काँग्रेसको विधान र आयोगको विगतका नजिरका आधारमा निर्णय गर्ने जवाफ दिएको थियो । हाल गगन थापा समूह आफूलाई आधिकारिक घोषणा गर्न दबाब दिन आयोगमा धर्ना बसेको हो । थापा समूहले बिहीवार केन्द्रिय कार्य समिति अद्यावधिक गर्न निवेदन दिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update