News 24 Television
शीर्ष नेताहरू नै चुनावी चुनौतीमा, आफ्नै क्षेत्र असुरक्षित बन्दै !

काठमाडौँ । आगामी फागुन २१ को आम निर्वाचन नजिकिएको छ । निर्धारित मितिमै निर्वाचन भए अबको ४८औँ दिनमै निर्वाचन हुनेछ । निर्वाचनका लागि निर्वाचन आयोग, सुरक्षा निकाय तथा दलहरु पनि तयारी अवस्थामा रहेका छन् । सबैजसो दलहरु निर्वाचनको लागि तम्तयार हुँदा उनीहरुले समानुपतिकतर्फको उम्मेदवारको नाम बन्द सूचीमा पठाइसकेका छन् । दलहरु अब प्रत्यक्षतर्फको तयारीमा रहँदा माघ ६ गतेदेखि उम्मेदवारी मनोनयनको मिति तोकिएको छ । यो तयारी अन्तिम चरणमा पुग्दा मुख्य तीन दलका शीर्ष नेताहरु शेरबाहदुर देउवा, केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्ड नै  कुन क्षेत्रबाट उठ्ने भन्नेबारे अनिश्चय देखिदै आएको छ । जसले उनीहरुमा चुनावी चुनौती पैदा गराएको प्रष्ट देखिन्छ । 

शीर्ष नेता किन चुनैतीमा ? 

शेरबहादुर देउवा

काँग्रेस सभापति शेरबहादुर देउवा पार्टी नै विभाजनमा परेपछि डडेलधुरामा आफ्नो पक्षको प्रभाव कस्तो रहने ? भन्ने चिन्तामा छन् । महामन्त्री गगन थापाले पार्टीमा विद्रोह गरेपछि पार्टी विभाजनमा प¥यो । यसले देउवाप्रति नकारात्मक माहोल तयार गरेको छ ।

यसपछि काँग्रेसमा को आधिकारिक हो ? भन्ने विषयले दुई पक्षबीच कानूनी लडाइँ सृजाएको छ । यदी आधिकारिकता गुमेमा देउवाले पनि आफ्नो क्षेत्रमा निर्वाचन जित्न सकस पर्नेछ । आखिर पार्टी नै विभाजन भइसकेको अवस्थामा काँग्रेस कमजोर हुने नै छ, यसमा पनि अधिकारिकता गुमे देउवाले आफ्नो निर्वाचन क्षेत्रको पक्कड गुमाउने खतरा छ । यसले निर्वाचन मत परिणामलाई पनि प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ । 

केपी ओली 

एमाले अध्यक्ष केपी शर्मा ओली पनि कुन क्षेत्रबाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने भन्ने टुंगो छैन । ओलीले झापा – ५ बाटै उम्मेदवारी दिने चर्चा भएपनि उक्त स्थानमा काठमाडौं महानगरका मेयर बालेन शाह चुनावी प्रतिस्पर्धामा आउने भएपछि ओलीले क्षेत्र परिवर्तन गराउने भन्ने चर्चा चलेका छन् । झापामा ओलीसँगै चुनावी प्रतिस्पर्धा गर्न बालेनले भने सामाजिक संजालमार्फत प्रत्यक्ष रुपमा अभियान गरिरहेका छन् । उनी माघ ४ मा महानगरबाट विदा भएर मनोनयनसँगै चुनावी प्रचारप्रसारका लागि झापा जाने तयारीमा रहेको बताइन्छ् । उता ओली भने चुनाव जित्ने अनिश्चयलाई नै तोड्न आफ्नो कार्यकालमा अभूतपूर्व विकासका काम भएको दोहो¥याउन थालेका छन् । 

पुष्पकमल दाहाल ‘प्रचण्ड’

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पनि आगामी निर्वाचनको लागि सुरक्षित स्थानको खोजीमा छन् । सँधै निर्वाचन क्षेत्र परिवर्तन गरिरहने प्रचण्ड यो पटक रुकुम पूर्वबाट उठ्ने मनशायमा देखिन्छन् । यद्यपि यो क्षेत्रबारे पनि निश्चित भइसकेको छैन । प्रचण्डले यसअघि चितवन, काठमाडौं, सिराहा तथा गोरखाबाट चुनावी प्रतिस्पर्धा गरिसकेका छन् । पहिलेकै क्षेत्रहरुमा निर्वाचन जित्ने आँट नगरेका प्रचण्ड समयसँगै निर्वाचनको रणनीति बदल्नुपर्ने अभिव्यक्ति दिँदै आएका छन् ।  

सँधै हारको डरले निर्वाचन क्षेत्र परिवर्तन गरिरहने आरोप खेप्ने गरेका प्रचण्ड अन्तिम पटकको आफ्नो क्षेत्र गोरखामा पनि दोहोरिन मुडमा छैनन् । खास अर्थमा भन्ने हो भने शीर्ष नेतृत्वमा रहेका देउवा, ओली तथा प्रचण्ड अझै पनि निर्वाचन जित्ने आत्मविश्वासमा देखिएका छैनन् । त्यसकारण उनीहरु पार्टीको अस्थित्व रक्षासँगै सुरक्षित क्षेत्रको खोजीमा भौतारिरहेका छन् । 

मुख्यतः निर्वाचनको सम्मुखमै पार्टी विभाजन हुँदा देउवामाथि चुनावी चुनौती थपिएको हो । उता केपी शर्मा ओलीलाई पनि जेनजी आन्दोलनमा बदनामी ‘ट्याग’ लागेकाले चुनावी जित्न सकस पर्ने देखिन्छ । तुलनात्मक रुपमा प्रचण्ड निर्वाचन नतिजामा सुरक्षित देखिन्छन् । तर त्यसका लागि उनले विगतका निर्वाचन क्षेत्र भने त्याग्नुपर्ने छ । 
 

प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२  २०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update