News 24 Television
कांग्रेस विवाद उत्कर्षमाः आधिकारिकता कसको पोल्टामा ? पर्खाईमा आयोगको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको विवादका कारण निर्वाचन आयोगमा दिनभरजस्तो नेताहरुको बाक्लो भीड देखिन्थ्यो । कांग्रेस संस्थापन पक्षले आधिकारिता नपाए निर्वाचन नहुनेदेखि देशव्यापी आन्दोलन हुने चेतावनी दिइरहेको बेला गगन पक्षले भने विशेष महाधिवेशन बाध्यकारी कदम भन्दै आयोगलाई नडराई कानूनमै रहेर निर्णय दिन अपिल गरिरहेको छ । 

नेपाली कांग्रेस विभाजनमा गएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगलाई दबाब र धम्की दिदै आधिकारिताको पक्षमा वकालत गरिरहेको छ भने षडयन्त्र समेत भएको हुनसक्ने भन्न थालेको छ । 

कांग्रेसको विवादमा खड्काले मात्रै नभई अन्य नेताहरुले पनि आधिकारिताको सवालमा प्रश्न र शंका व्यक्त गरिरहेका छन् । संस्थापन पक्षले आधिकारिताको दाबीसंगै धम्कीपूर्ण अभिव्यक्ति दिएपनि गगन पक्षले विशेष महाधिवेशन, कांग्रेस विधान र संविधानलाई स्मरण गराइरहेको छ । 

कांग्रेसमा को कुन पदको नेता भन्ने विवाद निर्वाचन आयोगको निर्णयपछि थाहा हुने भएपनि विशेष महाधिवेशनले चयन गरेको नेतृत्वले आफ्नो पक्षमा वकालत गरिरहेको छ ।

निर्वाचन आयोगमा गगन र देउवा पक्ष विच दोहोरी 

आआफ्नो नेतृत्व दाबी गरिरहेका गगन र शेरबहादुर पक्षबीच शुक्रबार साँझ निर्वाचन अयोगको केन्द्रीय कार्यालयमा झण्डै हातहालहालकै अवस्था सिर्जना भयो । दुबै पक्ष एकआपसमा भिड्न तम्सिएपछि नेपाल प्रहरीले बल नै प्रयोग गरेर तितर वितर पार्नु पर्याे । त्यसपछि आयोगको मुल गेट बाहिर छुट्टाछुट्टै दुबै समुहले नाराबाजी गरेका थिए । 

यस् घटनाले आसन्न फागुन २१ को निर्वाचन विथोलिने त होइन भन्ने चिन्ता देखिन थालेका छन् । तर दुबै पक्ष भने निर्वाचनमा जान तयारी रहेको पनि बताइरहेका छन् । 

प्रकाशित मिति: शनिबार, माघ ३, २०८२  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update