काठमाडौं । नेकपा एमालेले कांग्रेसको विभाजन, निर्वाचन आयोगको निर्णय र शेरबहादुर देउवाको बहिर्गमनमा चिन्ता व्यक्त गरिरहेको छ । लोकतान्त्रिक दलभित्रको आन्तरिक अभ्यासमाथिका टिप्पणी कसरी गर्ने भन्ने विषयमा नै एमालेले सीमा नाघ्ने त होइन भन्ने चिन्ता बढ्न थालेको बेला एमाले आक्रामक बन्न थालेको छ ।
नेकपा एमालेले प्रतिनिधिसभाको उम्मेदवार चयन गर्न भन्दै बोलाएको सचिवालय बैठकले कांग्रेसको विभाजनमा दुख व्यक्त गरेको छ । लोकतन्त्रमा दल विभाजन सहज अवस्था र राम्रो विषय नभएपनि एमालेले धेरै नै आशक्ति देखाएरै दुख व्यक्त गरिरहेको छ।
एमालेले चिन्ता कांग्रेसको विभाजनमा गरिरहेको छ वा सम्भावित चुनावी सहकार्यका कारण ? यो विषय चासोमा छ । यता, नेपाली कम्युनिस्ट पार्टीको एकतामा खिसिट्यूरी गरिरहेको एमालेले कुन नैतिकता र धरातलमा उभिएर कांग्रेस विभाजनमा दुख मनाउ गरिरहेको छ ?
यो प्रश्न उठिरहेको बेला एमालेले लोकतन्त्रमा दल विभाजन हुन हुन्न भन्ने कुरा राख्नु अस्वभाविक भने देखिन्न तर, एमाले सचिव समेत रहेका अध्यक्ष केपी ओलीका विश्वासपात्र महेश बस्नेतले भने कडा टिप्पणी गरेका छन् । कांग्रेस एमालेलाई कमजोर बनाउन अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले षडयन्त्र गरिरहेको भन्दै निर्वाचन आयोगसंग आवेग नै पोखेका छन् ।
एमालेले यस्तो चुनौति दिइरहेको बेला निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि निर्वाचनका निम्ति अप्राकृतिक गठबन्धन नगर्ने प्रष्ट अडान राख्दै आएको कांग्रेसको आधिकारिक निर्णय नै कारण बन्न थालेको देखिन्छ ।
कांग्रेसको निर्णय नै चुनावी गठबन्धन नहुनेमा प्रष्ट देखिन्छ भने एमाले यो चुनाव चुनौततिपूर्ण हुने आंकलनसहित चुनावी गठबन्धनको तयारीमा थियो । राष्ट्रियसभा चुनावमा समत सहकार्य गरेको एमालेले कांग्रेसलाई पनि संसद पुनस्र्थापनाको पक्षमा उभ्याएको थियो । जसमा अहिले निर्वाचन आयोगबाट आधिकारिता पाएको पक्षको सहमति थिएन् । यहि कारण पनि एमाले कांग्रेसको आन्तरिक राजनीतिमा विकसित घटनाक्रममा दुखी देखिन्छ ।
एमाले पंक्तिले नै कांग्रेसको आन्तरिक राजनीतिमा लोकतन्त्र भन्दा चुनावी सहकार्यको चिन्ता गरेको देखिन्छ । पछिल्लो समय शेरबहादुर देउवा ओलीलाई साथ दिने पक्षमा दृढ उभिने गरेका थिए । जसकारण पनि एमालेमा चिढचिढाहट देखिन्छ । यद्यपी लोकतन्त्रमा दलहरु कमजोर बन्नु सुखद् विषय भने होइन् ।
