News 24 Television
५ वर्षका लागि निर्वाचितहरु राजीनामातर्फः जनमतको अपमानसहित के के भयो ?

काठमाडौं । प्रतिनिधिसभाको चुनावमा होमिन ५ वर्षे जनमत लिएर स्थानीय सरकारमा गएकाहरुले धमाधम राजीनामा दिएका छन् । काठमाडौंदेखि धरानका मेयरले राजीनामा दिएर चुनावमा होमिएकै बेला अन्यत्र समेत स्थानीय तहका प्रमुख–उपप्रमुखले धमाधम राजीनामा दिएर प्रतिनिधिभा ताकेका छन् । आखिर किन उनीहरुले ५ वर्ष पुरा नगरी जनमतको अपमानतर्फ लम्किए त ?

स्थानीय तहको चुनावबाट प्रमुख–उपप्रमुखमा निर्वाचित भएकाहरुले धमाधम राजीनामा दिएर प्रतिनिधिसभातर्फका पाइला अघि बढाउने निर्णय गरेका छन् । ५ वर्षका लागि जनताले मत दिएका जनप्रतिनिधिहरुले माथिल्लो तहको अवसरका लागि राजीनामा दिएर जनमतको अपमान गर्नु कति जायज ? पुरा कार्यकाल नै पदमा बस्न नसक्नेहरुलाई जनताले के आधारमा प्रतिनिधिसभामा निर्वाचित गराउने ? यस्ता प्रश्नहरु उठेपनि उनीहरुले आफूलाई प्रश्नभन्दा माथि राख्दै राजीनामा दिदै अघि बढेका छन् । यस्तोमा क–कसले दिए त राजीनामा ?

१. काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ’बालेन’

काठमाडौं महगानगरपालिकामा प्रमुख निर्वाचित भएका बालेन्द्र साह जनतासंग प्रत्यक्ष सम्पर्कमा जाने र भेटघाट नगर्नेमा पर्छन् । कसैलाई पनि सीधा सम्पर्क नगर्ने बालेनले काठमाडौं महानगरपालिकामा आफ्ना नियुक्त दूतमार्फत सत्ता चलाएपनि उनको लोकप्रियताको ग्राफ सामाजिक सञ्जालमा धेरै नै देखिन्छ । तर, उनले पाँच वर्ष जनताको सेवा गर्ने कसम खाँदै जितेको पदलाई प्रतिनिधिसभामा जान राजीनामामार्फत पूर्णबिराम लगाएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेतामा मनोनित भएका बालेनलाई रास्वपाले आगामी प्रधानमन्त्रीको रुपमा अघि सार्ने भनिएको छ । आइतबारमात्रै राजीनामा दिएका बालेनको राजीनामा काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा पेश भइ सकेको छ भने कार्यपालिकाले ध्यवाद समेत ज्यापन गरेको छ ।

रास्वपा कार्यालय पुगेपछि १० मिनेटमात्रै रहेका बालेन काठमाडौं महानगरपालिकाले बिदाई कार्यक्रम आयोजना गरेपनि उपस्थित नै भएनन् । आफ्नै सुरमा चल्ने बालेन जनकपुर पुगेका छन भने उनले झापा ५ मा एमाले अध्यक्ष केपी ओलीलाई चुनावी चुनौती दिने दाबी गरिएको छ । 

२. धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले पनि श्रम संस्कृति पार्टी गठन गर्दै मेयर पदबाट राजीनामा दिएका छन् । राजीनामा दिन आउने भन्दै उपप्रमुख आइन्द्रबिक्रम बेघालाई कुराएर अन्तिम समयसम्म पनि नपुगेका हर्कले अबेर राजीनामा दिएका छन् । उनी पनि पाँच वर्ष नै जनताको सेवा गर्ने भन्दै स्थानीय तहमा निर्वाचित भएका थिए । तर, प्रधानमन्त्री आफू बन्ने दाबी गर्दै चुनावी दौडाहामा निस्किएका छन् ।

३. ओखलढुंगाको लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापा

एमालेले ओखलढुंगामा जिल्ला कमिटीले सिफारिस गरेका नेताहरुलाई छाडेर लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापालाई उम्मेदवार बनाएको छ । थापाले स्थानीय तहको चुनावमा गरेको ५ वर्षे बाँचालाई एमालेले उम्मेदबार बनाएसंगै उनले पदबाट राजीनामा दिएको बुझिएको छ । उसोतः राजीनामा नदिएपनि मनोनयन दर्ता गरेपछि स्वतः पद खारेज हुने प्रावधान रहेको छ । 

स्थानीय तहमा निर्वाचित भएका धेरे प्रमुख उपप्रमुखले पदबाट राजीनामा दिइरहेका छन्। यता, भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले पनि प्रतिनिधिसभातर्फ चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा प्रतिष्पर्धा गर्ने भनिएको छ । रेणुले चुनावी तयारी तीब्र पार्दै लगेकी छन भने उनले पनि राजीनामाको तयारी गरिरहेको बताइन्छ । यद्यपी मनोनयन दर्ता गरेपछि स्वतः पदमुक्त भएको मानिने प्रावधनका कारण पनि राजीनामा कतिपयले होल्डमा राखेको बताइन्छ ।

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update