News 24 Television
रास्वपा पर्वतमा विद्रोह : नवप्रवेशी भुर्तेलले पाए टिकट, संस्थापक सभापतिद्वारा स्वतन्त्र उम्मेदवारी घोषणा

पर्वत । आगामी निर्वाचनका लागि उम्मेदवार चयनको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्वतमा तीव्र असन्तुष्टि चुलिएको छ । पार्टीको केन्द्रीय सचिवालय बैठकले डा. केशव भुर्तेललाई टिकट दिने निर्णय गरेसँगै जिल्ला तहका नेता र कार्यकर्ताहरूले नेतृत्वको कार्यशैलीप्रति आक्रोश व्यक्त गरेका छन् ।

विशेष गरी, पार्टी स्थापनाकालदेखि नै संगठन निर्माणमा अहोरात्र खटिएका पुराना नेताहरूलाई पाखा लगाएर भर्खरै पार्टी प्रवेश गरेका व्यक्तिलाई टिकट दिएको भन्दै पर्वत रास्वपामा विद्रोह सुरु भएको हो । डा. भुर्तेल गत पुस ४ गते मात्रै पार्टीका उपसभापति स्वर्णिम वाग्लेको उपस्थितिमा रास्वपा प्रवेश गरेका थिए ।

संस्थापक सभापति भण्डारीको विद्रोह र स्वतन्त्र उम्मेदवारी पार्टीले भुर्तेललाई टिकट दिएपछि रास्वपा पर्वतका संस्थापक जिल्ला सभापति नवराज भण्डारीले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि सार्वजनिक गर्दै स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उनले पार्टीले केन्द्रबाट लादिएको निर्णय आफूहरूलाई स्वीकार्य नहुने स्पष्ट पारेका छन् । भण्डारीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ – ‘विगतमा पार्टीको झण्डा र घण्टी चिह्न लिएर पर्वतका दूरदराज, कुनाकन्दरामा पुगी जल बहादुर पुर्जा पुनलाई उम्मेदवार बनाएर हिँड्दा हामीले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सम्मानजनक मत ल्याएका थियौँ। साथीहरूको अथक परिश्रमले पार्टीलाई यहाँसम्म ल्याइयो, तर अहिले उम्मेदवार छनोट गर्दा जिल्लामा कुनै छलफल नै नगरी केन्द्रबाट नाम पठाउनु दुःखद छ।’

उनले अगाडि थपेका छन्, ‘गरिब र झुपडीबाट पनि स्वच्छ छवि भएका युवा सांसद बन्न सक्छन् भन्ने मेरो बुझाइ थियो। तर, पार्टीले अहिले गरेको निर्णयले शुभचिन्तकहरूलाई निराश बनाएको छ। त्यसैले, सबैको सरसल्लाहमा मैले स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेको छु।’

डा. भुर्तेल यसअघि भरतपुर अस्पतालमा कार्यरत रहँदा २ करोड ६३ लाख रुपैयाँ अपचलन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएका व्यक्ति हुन् । यद्यपि, उनले पछि सर्वोच्च अदालतबाट सफाइ पाएका थिए । अख्तियारले मुद्दा चलाएका र भर्खरै पार्टी प्रवेश गरेका व्यक्तिलाई प्राथमिकता दिँदा स्थापनाकालदेखि रगत–पसिना बगाउने नेताहरू अपमानित महसुस गरिरहेको कार्यकर्ताहरूको गुनासो छ । सामाजिक सञ्जालमा अहिले रास्वपाको यस निर्णयको व्यापक विरोध भइरहेको छ ।

बागलुङमा पनि उस्तै असन्तुष्टि

रास्वपाभित्रको यो असन्तुष्टि पर्वतमा मात्र सीमित छैन । छिमेकी जिल्ला बागलुङमा पनि उम्मेदवार चयनलाई लिएर किचलो सुरु भएको छ । बागलुङ क्षेत्र नम्बर १ मा सुशिल खड्कालाई टिकट दिएपछि जैमिनी नगरपालिकाका सभापति राजेन्द्र शर्माले असन्तुष्टि व्यक्त गर्दै स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update