काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपाका कार्यकर्ताहरुले झापामा असभ्यता देखाएको बताउनुभएको छ ।
मंगलवार आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गर्न पुग्नुभएका अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले रास्वपाका तर्फबाट असभ्य खालको क्रियाकलाप भएको बताए । रास्वपाका कार्यकर्ताले आफ्नो स्तर जाहेर गरेको बताउँदै उनले रास्वपाका कार्यकर्ताले बाटो छेक्ने काम गरेकाले केही भनाभन भए पनि झडप नभएको दाबी गरे ।
ओलीले भने, ‘रास्वपाका तर्फबाट केही अस्वस्थ, असभ्य खालको क्रियाकलाप भयो भन्ने मैले सुनेँ । तर त्यस्तो ठूलो केही होइन । उनीहरुले आफ्नो स्तर जाहेर गर्ने त्यति कामसम्म गरेका होलान् जस्तो लाग्छ । त्यस्तो ठूला झडप होइन । उनीहरुले बाटो छेक्ने, डिस्टर्ब गर्ने असभ्यता देखाए । स्वस्थ प्रतिष्पर्धा, शान्तिपूर्ण ढंगले गर्नुपर्छ । चुनाव शान्तिपूर्ण ढंगले हुनुपर्छ ।’
अध्यक्ष ओलीले स्वस्थ प्रतिष्पर्धा हुनुपर्ने र शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न हुनुपर्नेमा जाेड दिए । साथै, उनले आगो लगाउनेहरुबाट देश जोगाउनु नै अहिलेको आवश्यकता भएको बताए । अहिले देशमा आगो लगाउनेहरु जागिरहेको बताउँदै उनले देश जलाउनेहरुले भ्रम फैल्याइरहेको र नयाँ पुस्ता त्यसको शिकार भइरहेको बताए । आगो लगाउने, लोकतन्त्र खाने, संविधान मिच्नेहरुबाट कार्यालय जलाउनेहरुबाट, व्यक्तिका घर जलाउनेहरुबाट, सरकारी कार्यालय जलाउनेबाट, नगरपालिका जलाउनेबाट देश बचाउनुपर्ने अहिलेको आवश्यकता भएको उनकाे दाबी छ ।
