News 24 Television
सुशीला कार्कीलाई धोका दिदै मन्त्री धमाधम चुनावमा, सरकार रास्वपामय बनेको आरोप !

काठमाडौं । नागरिक सरकारमा रहेका चार मन्त्रीहरु आफै चुनावमा उम्मेदवार बनेका छन् । नागरिक सरकारमाथि दलीय पक्षधरता लिएको आरोप चर्को बनिरहेको बेला चार मन्त्रीले चुनावी बाटो रोजेपछि आलोचना शुरु भएको छ । तीन मन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टी र एकले सआफू स्वतन्त्रबाट उम्मेदवार बनेको जिकिर गरेपछि नागरिक सरकारमाथि अनेक प्रश्न गर्न थालिएको छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको नागरिक सरकारका कुनैपनि मन्त्रीले राजनीतिक दल नरोज्ने, चुनावी उम्मेदवार नबन्ने विषय प्रधान बनाइयो । प्रधानमन्त्री सुशीला कार्की आफैले यो घोषणा गरेपछि सर्वसाधारणमा मन्त्रीहरु चुनावमा कसो नजालान र भन्ने शंकाहरु थिए । त्यसमा ऊर्जासहितका अन्य शक्तिशाली मन्त्रालय सम्हालेका कुलमान घिसिङले राजनीति गर्ने हुन कि भन्ने भय देखिन्थ्यो । तर, अरु मन्त्रीहरुले चुनावी मैदानमा नजाने दाबी गरिरहेका थिए । 

अझं, कतिसम्म भने शिक्षामन्त्री बनेका महाविर पुनले त मतदाता नामावली नै दर्ता गराएका रहेनछन्। शिक्षामन्त्री बनेपछि ७० वर्षको उमेरमा गएको कात्तिक २१ गते नामावली दर्ता गराए । उनले आफू राजनीति नगर्ने भन्दै पन्छिने गर्थे । तर, उनै महाविर पनि चुनावी मैदानमा म्याग्दीबाट होमिएका छन् । नागरिक सरकारका को मन्त्री चुनावमा ?

१. कुलमान घिसिङ

ऊर्जासहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेर काम गर्न आएको दाबी गर्ने कुलमान घिसिङले लामो समयसम्म आफू राजनीतिक दलको नेता नभएको दाबी गरिरहे । उज्यालो नेपाल पार्टी दर्ता गराएपनि औपचारिक रुपमा पार्टीमा नभएको दाबी गरिरहेका कुलमानले राष्ट्रिय स्वतन्त्र पार्टीसंग एकता गर्ने र दोश्रो बरियताको उपसभापति लिने सहमति गर्दा समेत राजनीति गरेकै छैन् भन्दै ढाँटिरहे । तर, अन्ततः उनको छलछाम लामो समय टिकेन् । 

राजनीतिमा होमिए । राजनीतिमा होमिएपनि रास्वपासंगको एकता टिकेन् । उज्यालोको अध्यक्ष बनेर काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार समेत बनेका छन् । महत्वकांक्षासहित नागरिक सरकारको भूमिकामा रहनुपर्ने उनी राजनीतिमा आएपछि आलोचना र विरोध थप चर्किएको छ । 

२. महाविर पुन

शिक्षामन्त्री बनेपछि पहिले केशरमलमै र पछि सिंहदरबारमै डेरा जमाएका सादगी भनिने महावीर पन राजनीति नगर्नेदेखि विदेश भ्रमण जान्न भन्ने कुराले चर्चामा रहिरहे । 

कहिले जेनजीका माग पुरा गर्न सक्दैन्, चुनाव जितेर आएर सरकार बनाउ अनि आफै गर भन्ने महाबीर पनि म्याग्दी पुगेर उम्मेदवारी दिएका छन् । उनले आफु नै देशको पहिलो उम्मेदवार बनेको दाबी समेत गरेका छन् । नागरिक सरकारमा रहेर काम गर्ने ठानिएका महाबीर शक्तिको आवश्यकता देखेपछि चुनावमा होमिन पुगेका हुन् । 

३. जगदिश खरेल

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदिश खरेलले पनि अन्तिम समयसम्म सरकारको स्वाद चाखे । मनोनयन दर्ताअघि सम्म पनि ठाँट जमाएर बसेका खरेल राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । 

राजनीतिमा सक्रिय नहुने भन्दै चुनावलाई निष्पक्ष ढंगले सम्पन्न गर्ने भन्दै ाएका खरेल पनि सत्ताको स्वादमा पल्किएपछि चुनावी मैदानमा होमिन पुगेका छन् । 

४. बब्लु गुप्ता

खेलकुदमन्त्री बनेपछि अमेरिका भ्रमणले चर्चामा आएका गुप्ता रास्वपा–बालेन र रास्वपा कुलमानको एकतामा खुब सक्रिय बने । सुट कोटमा सजिएर जथाभावी मन्त्रीको ठाटँमा पुग्ने गुप्ता मन्त्रीकै हैसियतमा जनकपुरमा बालेनलाई स्वागत गर्न भीड पन्छाइरहेका देखिन्थे भने उनले मन्त्री रहेको विषय समेत भलेको जस्तो देखिन्थ्यो । उनै गुप्तालाई पनि रास्वपाले सिराह १ बाट उम्मेदवार बनाएको छ । 

थपिदै गरेका मन्त्रीको रुपमा सुशीला कार्की नेतृत्वको सरकारमा खेलकुद मन्त्रीको रुपमा आएका उनी मन्त्रीभन्दा पनि बबुरो कार्यकर्ता जसरी पेश हुने गरेका पाइन्थे । 

उनै गुप्ता मरिमेटी गर्दै रास्वपा प्रवेश गरेर उम्मेदवार बन्न पुगेका छन् । सामान्यतया चुनावी सरकारमा रहने मन्त्रीहरुले आफै चुनावमा जाने काम गर्दैनन् । अझं, कतिपय त राजनीतिमै प्रवेश नगरि आफ्नो चुनावी सरकारको शाखलाई अन्तिम समयसम्म समेत लिएर जाने गर्छन्। तर, कार्की नेतृत्वको सरकारमाथि लाग्ने गरेका अनेक आरोप र मन्त्रीहरुको व्यवहारले गर्दा प्रश्न थप उठ्न थालेको छ ।

विदेशीले बनाएको सरकारदेखि विभिन्न आरोप लगाउने राजनीतिक दललाई यी मन्त्रीहरुको राजनीति प्रवेशले प्रश्न थप पेचिलो बनाउन पुगेको छ भने सरकारले निष्पक्षता कायम गर्ला भन्ने चासो समेत बढेको छ ।

प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update