काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गरिएको छ ।
देशैभर विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ । यस अघिका निर्वाचनमा मनोनयन दर्ताका दिनपनि शक्ति प्रदर्शन गर्ने दल तथा उम्मेदवारहरुले यो पटक भने सौहार्दपूर्ण वातावरणमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
फरक राजनीतिक परिस्थितिका बीच फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि देशैभर उम्मेदवारी दर्ता भएको छ । मोरङका ६ वटै निर्वाचन क्षेत्रमा विभिन्न राजनैतिक दल र स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । मोरङ निर्वाचन क्षेत्र ६ मा मनोनयन दर्ता गराएपछि नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस एक जुट भएर निर्वाचनमा होमिएको जानकारी दिए ।
मोरङमा गत संसदीय निर्वाचनमा जितेका तत्कालिन माओवादी केन्द्रका अमनलाल मोदी, नेपाली कांग्रेसका डा. सुनिल शर्मा र डा. शेखर कोइराला र स्वतन्त्र रुपमा निर्वाचित बनेका योगेन्द्र मण्डलले यसपटक पुनः उम्मेदवारी दिएका छन् । यसैगरी जेन्जी अगुवाहरुले पनि विभिन्न राजनैतिक दल र स्वतन्त्रका रुपमा मनोनयन दर्ता गराएका छन् ।
सप्तरीको चारवटै निर्वाचन क्षेत्रबाट चर्चित अनुहारहरू चुनावी मैदानमा उत्रेका छन् । विभिन्न दलका अध्यक्षदेखि पुर्व मुख्यमन्त्री, मन्त्री तथा पार्टीका बरिष्ठ नेताहरुले उम्मेदवारी दिएका छन् । त्यसमा सप्तरी–२ सधैँ ठूला नामले गर्दा चर्चामा रह्ने गरेको छ । सप्तरी–२ मा गत २०७९को निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पछाडि पार्दै निर्वाचित भएका जनमत पार्टीका अध्यक्ष डा सीके राउतले पुनः उम्मेदवारी दिएका छन् ।
ठूला नाममा सप्तरी–२बाट मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले पनि उम्मेदवारी दिएका छन् । सिंह २०७९ निर्वाचनमा राउतसँगै सोही क्षेत्रको २(क) बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । तर जेनजी आन्दोलनयता जनमत पार्टी सँग रुष्ट भएका उनले हालै पार्टीबाट राजीनामा दिँदै आफ्नै भाइ सत्यवान सिंह नेतृत्वको राष्ट्रिय स्वाभिमान पार्टीबाट उम्मेदवारी दिएका छन् । जसपा नेपालबाट यस क्षेत्रमा पुर्वमन्त्री उमेश यादवले पनि मनोनयन दर्ता गराएका छन् । उनी नेकपा त्यागेर चुनावकै मुखमा जसपा नेपालमा आएका हुन् ।
सप्तरी–१मा नेकपा एमाले सुमन राज प्याकुरेल, नेपाली कांग्रेसका जिल्ला अध्यक्ष रामदेव साह, जनमतबाट उपाध्यक्ष जयकान्त राउतले उम्मेदवारी दिएका छन् ।
त्यस्तै सप्तरी–३मा उपेन्द्रसहित नेपाली कांग्रेसका निर्वतमान सांसद दिनेश यादव, नेकपा एमालेका यस क्षेत्रमा प्रभावशाली नेता ताराकान्त चौधरी निर्वाचनमा होमिएका छन् । सप्तरी–४मा नेपाली कांग्रेसबाट निरन्तर तीन पटकका सांसद पुर्वमन्त्री तेजुलाल चौधरीले पुनः निर्वाचनमा प्रतिस्पर्धा गर्ने छन् भने जसपा नेपालले सो क्षेत्रमा पार्टीको राजनीतिक विरासत धानेका डाक्टर बबी सिंहलाई उम्मेदवार बनाएको छ । सप्तरी–२ छोडेर यसपटक उपेन्द्र यादव सप्तरी ३ पुगेका छन् ।
दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा विभिन्न राजनीतिक दल र स्वतन्त्र समेत गरी ४४ जनाले उम्मेदवारी दर्ता गराए । २०७९ को निर्वाचनमा यसक्षेत्रबाट उम्मेदवार बनेका राप्रपाका दिपक बहादुर सिंह, नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डीना, नेकपाका युवा नेता विजय गौतम र रास्वपाबाट प्रकाश गौतम चुनावी मैदानमा होमिएका छन् ।
आफूले सांसद हुँदा गरेका विकास निर्माणका कामले मकवानपुर–१ का मतदाताको मन जितेको दीपकबहादुर सिंह दाबी गर्छन् ।
यता, मकवानपुर–२ मा एमाले नेता महेश बर्तौला, नेकपाबाट थाहा नगरपालिकाका पूर्व मेयर लवशेर विष्ट, कांग्रेसका उम्मेदवार बुद्ध लामा र रास्वपाको जेन–जी उम्मेदवार प्रशान्त उप्रेतीलाई मुख्य प्रतिस्पर्धिको रुपमा हेरिएको छ । यस क्षेत्रमा अघिल्लो पटकको विरासत कायम गर्न आफू सफल हुने बताउँदै जनताले आफूलाई साथ दिने एमालेको दाबी छ ।
मकवानपुर–१ बाट उम्मेदवार बनेका रास्वपा मकवानपुरका उपसभापति समेत रहेका प्रकाश गौतम यो पटक मकवानपुरमा रास्वपाकै जित हुने बताउँछन् ।
तीन वटा निर्वाचन क्षेत्र रहेको कास्कीको क्षेत्र नं. १ मा नेकपा एमालेको तर्फबाट बैन बहादुर अधिकारी क्षेत्री, नेपाली काँग्रेसको तर्फबाट व्यवसायी समेत रहेका तिलक रानाभाट, नेकपाका सशस्त्र युद्दकालिन कमाण्डर राजकाजी गुरुङले उम्मेदवारी दर्ता गराए भने रास्वपाको तर्फबाट खडक पौडेल गणेसले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । राप्रपाको तर्फबाट कास्की १ मा बाबुराम थापाले उम्मेदवारी दर्ता गराए । त्यस्तै उज्यालो नेपाल पार्टी, प्रगतिशिल लोकतन्त्र पार्टी, राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै कास्की क्षेत्र नम्बर २ मा नेकपा एमालेका तर्फबाट रश्मि आचार्य, कांग्रेसका तर्फबाट मधु बास्तोला, नेकपाका तर्फबाट हेमबहादुर थापा (आमोद), राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उत्तमप्रसाद पौडेल, उज्यालो नेपाल पार्टीका तर्फबाट कुशल गुरुङ, राप्रपाका तर्फबाट हेमजङ गुरुङलगायतले मनोनयन दर्ता गराएका छन् ।
त्यसैगरि कास्की क्षेत्र नम्वर ३ मा नेकपा एमालेका तर्फबाट दामोदर पौडेल ‘बैरागी’, नेपाली काँग्रेसको तर्फबाट मनोज गुरुङ, नेकपाको तर्फबाट गोपाल गिरी, रास्वपाको तर्फबाट बिना गुरुङ, राप्रपाको तर्फबाट अर्जुन खनालले उम्मेदवारी दर्ता गराएका छन् । नयाँ बिकल्पको रुपमा रास्वपा आएको कास्की ३ की रास्वपा उम्मेदवार बिना गुरुङको दावी छ । क
यस्तै रुपन्देहीमा पाँच निर्वाचन क्षेत्र रहेको जिल्लाका सबै क्षेत्रमा प्रमुख दल काँग्रेस, एमाले, नेकपा, राप्रपा, रास्वपा, जनमत, जसपा नेपाल लगायत दलले मनोनयन दर्ता गरेका छन् । रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले शान्तिपूर्वक रुपमा उम्मेदवारी दर्ता भएको जनाए ।
उम्मेदवारी दर्ता गर्न आएका उम्मेदवारहरुले भने विभिन्न बाचा गरेका छन् । मुगु जिल्ला एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्ला हो । मुगु जिल्लामा ७ दलका उम्मेदारहरुले मनोनयन दता गरेको छन् ।
झापा विशेष चासोमा
झापा ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीसग रास्वपाका बालेन शाहले प्रतिष्पर्धा गर्ने भएपनि अहिले यो चुनावी क्षेत्र सर्वाधिक चासोमा छ । दुवैले मनोनयन दर्ता गराउँदा ठूलो समर्थक जुटाउने प्रयास गरे । जसमध्ये बालेन उम्मेदवारी दर्ता गराउन निर्वाचन कार्यालय पुग्दा बालेनसँगै ठूलो भीड पछिपछि थियो ।
उता रुकुमपुर्वबाट पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्डले पनि तामझामका साथ उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै सर्लाही ४ बाट नेपाली कांग्रेसका सभापति गगन थापाले उम्मेदवारी दर्ता गराए भने रास्वपा सभापति रवि लामिछानेले चितवन २ मा वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराएका छन् ।
