News 24 Television
राजीव रेशमदेखि माधवविरुद्ध उजुरी, पाउलान चुनाव लड्न ?

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका ५ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । आयोगले मनोनयन दर्तापछि बुधबार उम्मेदवारविरुद्ध उजुरी आह्वान गरेको थियो । ती उजुरीउपर आयोगले कारबाही गर्ने र योग्य अयोग्यताको परीक्षण समेत गर्नेछ। जसबाट को चुनावमा उम्मेदवार बन्न पाउछ भन्ने निक्र्याैल हुनेछ । 

आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मंगलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गरेका ३ हजार ४८६ उम्मेदवारमध्ये ५ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । 

निर्वाचन आयोगले निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमार्फत ५ उजुरी दर्ता भएको जानकारी दिएको हो । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीकाअनुसार भक्तपुर–२ मा दुई वटा र सुनसरी–२,  रौतहट–१ र कैलाली–१ मा एक÷एक गरी जम्मा ५ वटा उजुरी दर्ता भएका हुन् । उनले निर्वाचन कार्यतालिकाअनुसार बिहीवार उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने जानकारी दिए । 

उलले माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जानकारी दिए । सोही दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ ।  

उजुरी को–को विरुद्ध ?

प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गरेका भक्तपुरका उम्मेदवार राजीव खत्री, जानुका पाठक, सुनसरीका लालबिक्रम थापा, रौतहटमा माधव नेपाल र कैलालीमा रेशमा चौधरीविरुद्ध उजुरी परेको हो । खत्री राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हुन भने जानुका नेपाल जनसेवा पार्टीको उम्मेदवारविरुद्ध पनि उजुरी परेको हो । यस्तै रास्वपाकै सुनसरी २ का लालविक्रमविरुद्ध पनि उजुरी परेको हो । 

माधव नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणलाई लिएर उजुरी परेको हो भने रेशमविरुद्ध टिकापुर प्रकरणमा जन्मकैद पाएको भनिएको छ । उसोतः २०७९ को चुनावमा पनि रेशमको उम्मेदवारी जेलबाटै दिएपनि जन्मकैदमा सजाय भुक्तान गरिरहेको भन्दै आयोगले खारेज गरिदिएको थियो ।

के गर्दैछ आयोग ?

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई उजुरीका आधारमा र आफैँले अनुसन्धान गरेर पनि कारबाही गर्ने चेतावनी दिएको छ । आयोगले आफ्ना संयन्त्रबाट प्राप्त प्रतिवेदन तथा उजुरीका आधारमा आवश्यक अध्ययन गरी कानूनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए ।

प्रतिनिधि सभा निर्वाचनका लागि ३ हजार ४ सय ८६ जना उम्मेद्वारहरुले आफ्नो नाम दर्ता गरेका छन्। त्यसमा ३ हजार ८९ जना पुरुष उम्मेद्वार छन भने ३ सय ९६ जना महिला उम्मेद्वार छन् । १ जना चाहीँ अन्य समूहको उम्मेद्वारले आफ्नो नाम दर्ता गराएका छन् ।

आयोगले निर्वाचनका लागि तयारी तीब्र पारिरहेको छ भने निर्वाचन आचारसंहिताको पालनामा समेत कडाई गर्नुपर्नेमा जोड दिइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  ०८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update