News 24 Television
मधेशले छान्दैछ भावी शासक ! गगन, बालेन, ओलीदेखि हर्कसम्म मैदानमा

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अब सामान्य चुनाव मात्रै रहेन । यो नेपालको भावी प्रधानमन्त्री को बन्छ भन्ने प्रश्नको निर्णायक ब्याटलमा परिणत भइसकेको छ । हुन त निर्वाचनमा भाग लिने सबै दलको उद्देश्य सत्तामै पुग्ने हो । तर यसपटक केही फरक दृश्यहरु देखिदैछन् । यसपटक सबैभन्दा धेरै भावी प्रधानमन्त्रीका दावेदाहरु चुनावी मैदानमा छन् । तीमध्ये सम्भावित प्रधानमन्त्री तराई मधेशतर्फ केन्द्रीत भएका छन् । 

लोकतान्त्रिक मुलुकहरूमा चुनावअघि नै जनतालाई भावी प्रधानमन्त्रीको हुने संकेत दिइन्छ । यो परम्पराको सामान्य अभ्यास नेपालमा हुँदै आएको छ । तर अलि ब्यापक र खुला रूपमै यो अभ्यास हुँदैछ । यसपटक भावी प्रधानमन्त्रीको दावी गर्दै केपी शर्मा ओली, बालेन्द्र साह (बालेन), गगन कुमार थापा र हर्क साम्पाङ अहिले सर्लाही, झापा, सुनसरी र जनकपुरमा डेरा जमाइरहेका छन् । 

एमालेले केपी शर्मा ओलीलाई, राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन शाहलाई, नेपाली कांग्रेसले गगन थापालाई र श्रम संस्कृति पार्टीले हर्क साम्पाङलाई प्रधानमन्त्रीका रूपमा अघि सारेर मत मागिरहेको छ । तर यो चुनावको सबैभन्दा विस्फोटक मोर्चा बनेको छ– झापा–५ । यहाँ ओली र बालेन आमनेसामने छन् । दुई प्रधानमन्त्रीका दावेदार एकै मैदानमा ठोक्किनु दुर्लभ दृश्य बनेको छ । 

काठमाडौं महानगरको मेयर पद त्यागेर झापा पुगेका बालेनलाई रास्वपाले औपचारिक रूपमा ‘भावी प्रधानमन्त्री’ घोषणा गरेको छ । जनकपुरधाममा मैथिली भाषामा सम्बोधन गर्दै बालेनले आफूलाई मधेशी मूलको पहिलो प्रधानमन्त्री बन्ने बताउनुले यो चुनावलाई पहिचानकेन्द्रीत राजनीतितर्फ समेत  धकेलेको छ ।

यता ओली राष्ट्रवाद, स्थिरता र सत्ताको अनुभवको कार्ड खेलिरहेका छन् । उनको अघिल्लो सरकार जेन–जी आन्दोलनको दबाबमा पतन भएपछि जेनजीm रास्वपा र बालेनलाई देश जलाउनेहरुको जत्थाको उपमा दिदै ओलीले झापा ५ का मतदातालाई आफुतर्फ आकर्षित गर्न खोजिरहेका छन् । तर जनआक्रोश, बदलिएको राजनीतिक परिवेश, ओली आफु सरकारमा हुँदा गरेका विवादस्पद निर्णयहरु र अझ विशेषगरी ओलीकै व्यक्तिगत रवैयाका कारण  उनलाई यसपटक उति सजिलो छैन ।

सर्लाहीमा गगनको अग्निपरीक्षा

प्रधानमन्त्रीको अर्को दावेदार गगन कुमार थापाले आफ्नो सुरक्षित क्षेत्र काठमाडौं–४ छाडेर सर्लाही–४ रोजेका छन् । यहाँ उनको प्रतिस्पर्धा कांग्रेसकै विद्रोही नेता डा. अमरेशकुमार सिंहसँग हुनेछ । सर्लाही–४ पहिचान, असन्तोष र विद्रोह एकैसाथ मिसिएको मधेशको सबैभन्दा राजनीतिक रूपमा संवेदनशील क्षेत्र हो । गगन यहाँ जिते भने उनी केवल सांसद होइन, मधेशको म्यान्डेट बोकेको प्रधानमन्त्रीका दावेदार बन्नेछन् । 

हारे भने उनको राष्ट्रिय नेतृत्वको दाबी नै धरापमा पर्नेछ । नेपाली कांग्रेसले थापालाई प्रधानमन्त्रीको औपचारिक उम्मेदवारको निर्णय गर्दै चुनावी प्रचारमा होमिने तयारी गरिरहेको छ ।  

धरानका मेयर हर्क साम्पाङ सुनसरी–१ बाट प्रधानमन्त्रीको दाबी गर्दै मैदानमा छन् । उनको राजनीति श्रम, भ्रष्टाचार विरोध र राज्यविरुद्धको आक्रोशमा आधारित छ । उनी परम्परागत दलप्रतिको निराशालाई आफ्नो शक्ति बनाइरहेका छन् । तर धरानको मेयर छँदा श्रम संस्कृतिको प्रवद्र्धन गर्नुबाहेक उनी हावादारी टिप्पणी र दिनमै दर्जनौ फेसबुक स्टाटस लेख्नमै केन्द्रीत भएका कारण हर्कको देशव्यापीरुपमा सर्वस्वीकार्य छवि बन्न सकेको छैन । 

पहिचान र भावनामा खेल्ने रणनीति

यसपटक मधेशमा भाषा, पहिचान र भावना चुनावी हतियार बनेका छन् ।

–    बालेन मधेशी पहिचान

–    गगन समावेशी मधेश

–    ओली राष्ट्रवाद

तीनै जना फरक शैलीमा एउटै मतदातालाई पच्छाइरहेका छन् । मधेशमा पहिचान आधारित राजनीतिबाट उदाएका नेताहरू सत्तामा पुगे पनि आम जनताले अनुभूति गर्ने संरचनागत परिवर्तन अझै देखिएको छैन । यही कारण मधेश केन्द्रित भावी प्रधानमन्त्रीहरूको राजनीतिक नियतमाथि शंका बढ्दै गएको छ । दक्षिण एसियामा लालु यादव, मुलायम सिंह, मायावती र रामविलास पासवानले पहिचानको नाराबाट सत्ता पाएपनि अन्ततः शासन आफ्नै परिवार र गुटमा सीमित राखे । 

मधेशी समाज अब त्यही इतिहास दोहोरिन नदिने चेतनामा पुगेको देखिन्छ । लामो समय अन्य क्षेत्रबाट राजनीति गरेका शीर्ष नेताहरू मधेशबाट उम्मेदवारी दिन पुग्नु केवल चुनावी रणनीति मात्र नभई बदलिँदो राष्ट्रिय राजनीतिमा मधेशको बढ्दो निर्णायक भूमिकाको संकेत भएको राजनीतिक विश्लेषक डा. भोगेन्द्र झा बताउँछन् । 

तराई मधेशको भूगोल भएपनि झापा ५ पहाडी समूदायकै बाहुल्यता रहेको निर्वाचन क्षेत्र हो । प्रधानमन्त्रीका दावेदारमध्ये ओली पहाडी समुदायलाई नै प्रतिनिधित्व गर्छन् भने बालेन मधेशी समुदाय । ओलीलाई हराउँदै बालेन विजयी भएमा पहाडी बाहुल्य मत तर मधेशी समुदायको उम्मेदवार विजयी हुने समिश्रण बन्दा यसले दुवै समुदायलाई भावनात्मकरुपमा जोड्ने कडी समेत बन्न सक्छ । 

यता सर्लाही ४ कोर मधेश र मधेशी समुदायकै बाहूल्य रहेको क्षेत्र हो । गगन बाहेक यहाँ अधिकांस स्थानीय र मधेशी समुदायकै उम्मेदवार छन् । तर फरक के भने गगन विजयी भन्दा देशकै सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टीको र राष्ट्रिय छवि भएको नेत्तृत्व भावी प्रधानमन्त्रीको सम्भावित उम्मेदवार बन्दै प्रतिनिधिसभा प्रवेश गर्नेछ । तर विषम परिस्थितिमा हुन लागिरहेको यो चुनावमा मतदाताले दल होइन नेतृत्वको स्तर छान्नुपर्ने अवस्था आएको छ । 

उम्मेदवार कति सक्षम छन् ? पार्टीले योग्यलाई अघि सारेको छ कि ‘नेपोबेबी’ लाई ? चुनावपछि सरकार कसले चलाउनेछ ? मतपेटिकाबाट निस्कने मतले मात्र संसद होइन सिंहदरबारको साँचो कसको हातमा जाने भन्ने पनि तय गर्नेछ, त्यसैले अब मतदाताहरुले यी सबै कुरामा विवेक पु¥याउँदै आफ्नो अमूल्य मतदान गर्नुपर्ने बेला आएको  छ। 

प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update