काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचन लडिरहेका नेपाली कांग्रेस सभापति गगन थापा यो पटक सर्लाही ४ मा पुगेका छन् । कांग्रेस सभापति र भावि प्रधानमन्त्रीको दावेदार भइसकेपछि गगनका लागि काठमाडाँै ४ सुरक्षित निर्वाचनस्थल मानिन्थ्यो । तर उनी अप्रत्याशितरुपमा चुनावी लड्न सर्लाही ४ पुगेका छन् ।
यो क्षेत्रमा कांग्रेसबाट विद्रो गरेका अमरेश कुमार सिंहले २०७९ सालको निर्वाचनमा कांग्रेस माओवादी गठबन्धनका उम्मेद्वार नागेन्द्रकुमार सिंहलाई करीब २ हजार मतान्तरले पराजित गरेका थिए । त्यसैले पनि अहिले सर्लाही ४ मा कांग्रेस सभापति थापा र सिंहबीच रोचक भिडन्त हुने भएको छ ।
नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सभापति गगन थापा यसपटक आफुले निरन्तर जित्दै आएको निर्वाचन क्षेत्र काठमाडौं ४ छोडेर सर्लाही क्षेत्र नम्बर ४ मा पुगेका छन् । २०७० सालदेखि काठमाडौं ४ बाट निरन्तर निर्वाचित हुँदै आएका थापाले यसपटक वारेसानामार्फत सर्लाही ४ मा उम्मेदवारी दर्ता गराएपछि मुलुककै राजनीतिक वृत्तमा यो क्षेत्र चर्चाको केन्द्रमा रहेको छ । सर्लाही ४ मा थापाको मुख्य प्रतिस्पर्धा सोही क्षेत्रका निवर्तमान सांसद एवं पूर्व कांग्रेसी नेता अमरेश कुमार सिंहसँग हुने देखिएको छ ।
२०७९ सालको निर्वाचनको चुनावी गणित
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा सर्लाही ४ को नतिजा निकै रोचक थियो । नेपाली कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका अमरेश कुमार सिंहले तत्कालीन नेपाली कांग्रेस र माओवादी केन्द्रको साझा उम्मेदवार नागेन्द्र कुमार सिंहलाई पराजित गरेका थिए । गत निर्वाचनको तथ्याङ्क अनुसार सो क्षेत्रमा कुल १ लाख १२ हजार ४ सय ९४ मतदाता थिए ।
जसमध्ये ७२ हजार ८ सय ५५ अर्थात ६४.७६ प्रतिशत मत खसेको थियो । सदर भएको ६९ हजार २ सय ३८ मतमध्ये अमरेश कुमार सिंहले २० हजार १७ मत प्राप्त गरी विजयी झण्डा गाडेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नागेन्द्र कुमारले १८ हजार २ सय ५२ मत ल्याएका थिए । सिंहले १ हजार ७ सय ६४ मतान्तरले चुनाव जितेका थिए ।
सोही निर्वाचनमा अर्की स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले १४ हजार ६ सय २२ मत प्राप्त गरेकी थिइन् । यो चुनावी परिणामले सर्लाही ४ व्यक्ति हेरेर मतदान गर्ने र स्वतन्त्र उम्मेदवारलाई पनि उत्तिकै विश्वास गर्ने मतदाताहरु रहेको निर्वाचन क्षेत्र भएको देखाउँछ ।
अहिले मतदाता संख्या कति
जिल्ला निर्वाचन कार्यालय सर्लाहीको पछिल्लो तथ्याङ्क अनुसार २०७९ को तुलनामा यसपटक मतदाताको संख्या ७.५७ प्रतिशतले वृद्धि भएको छ । अर्थात्, ८ हजार ५ सय १८ नयाँ मतदाता थपिएसँगै अब सर्लाही ४ मा कुल मतदाता संख्या १ लाख २१ हजार १२ पुगेको छ । यसमा पुरुष मतदाता ६८ हजार ३ सय ७ र महिला मतदाता ५२ हजार ७ सय ४ रहेका छन् । पुरुष मतदाताको वृद्धि दर ८.०८ प्रतिशत छ भने महिला मतदाता ६.९२ प्रतिशतले बढेका छन् ।
जितका लागि सम्भावित मत ?
गत निर्वाचनको ६४.७६ प्रतिशत मतदानलाई आधार मान्ने हो भने यसपटक सर्लाही ४ मा करिब ७८ हजार ३ सय ३४ मत खस्ने अनुमान गर्न सकिन्छ । अघिल्लो निर्वाचनमा अमरेश कुमार सिंहले सदर मतको २८.९ प्रतिशत ल्याएर चुनाव जितेका थिए । यही प्रतिशतलाई अहिलेको प्रक्षेपित मतदानमा लागू गर्ने हो भने यसपटक चुनाव जित्नका लागि कम्तीमा २२ हजार ६ सय ४० मत आवश्यक पर्ने देखिन्छ ।
नेपाली कांग्रेसका उम्मेदवार गगन थापाका लागि यो चुनौती उत्तिकै कडा छ । गत निर्वाचनमा कांग्रेसले पाएको १८ हजार २ सय ५२ मतलाई सुरक्षित राख्दै जित निकाल्नका लागि थापाले थप ४ हजार ३ सय ८८ मत बटुल्नुपर्ने हुन्छ ।
यसका लागि उनले नयाँ थपिएका मतदाता र असन्तुष्ट पुराना मतदातालाई आफ्नो पक्षमा पार्नु अनिवार्य छ । अर्कोतर्फ, अमरेश कुमार सिंहले आफ्नो पुरानो मत सुरक्षित गर्दै थप २ हजार मत मात्र थप्न सकेमा नतिजा पुनः उनको पक्षमा जाने सम्भावना रहन्छ । तर कांग्रेस सभापति र भावि प्रधामन्त्रीका दावेदार नै आफ्नो निर्वाचन क्षेत्रमा चुनावी प्रतिष्पर्धामा उत्रिदा मतदाताहरुको मनस्थिति सहजै हेरफेर हुन सक्छ ।
भावी प्रधानमन्त्री भर्सेस मधेशको पहिचान !
त्यसो त नेपाली कांग्रेस एक समय तराई मधेशमा दरिलो जनाधार भएको पार्टी हो । तर पहिलो संविधानसभा निर्वाचनयता पहिचान लगायतका मुद्दा र क्षेत्रीय राजनीति मौलाउँदा तराई मधेशको जनाधार कांग्रेसबाट टाढिएको हो । सम्भवत यहि कुरालाई ध्यानमा राख्दै तराई मधेशलाई नेपाली कांग्रेससँग पूनः जोड्न समेत रणनीतिकरुपमा गगनले सर्लाही ५ बाट उम्मेदवारी दिएको बुझ्न सकिन्छ ।
नेपाली कांग्रेसले विशेष महाधिवेशनको भावना अनुसार गगन थापालाई आगामी निर्वाचनपछिको भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको छ । थापाले आफूलाई राष्ट्रिय ब्राण्ड र कार्यकारी नेतृत्वको दाबेदारका रूपमा प्रस्तुत गर्दै सर्लाहीको विकासका लागि आफ्नो उचाई उपयोग गर्ने दाउ खेल्नेछन् । तर, गगनका सम्भावित निकटम प्रतिष्पर्धी अमरेश कुमार सिंह यसपटक एक्ला छैनन् ।
उनी रास्वपाको उम्मेदवारको रुपमा चुनावी मैदानमा उत्रिएका छन् । रास्वपाले बालेनलाई ‘मधेशको छोरा प्रधानमन्त्री’ भन्दै ब्राण्डिङ गरिरहेको छ । सिंहले गगन थापालाई काठमाडौंबाट आएको ‘टुरिष्ट उम्मेदवार’ भन्दै क्षेत्रीय भावना र पहिचानको मुद्दा उठाउने निश्चित छ ।
कोर काठमाडौंको राजनीतिबाट कोर मधेश झरेका गगन थापा र मधेशकै राजनीतिमा भिजिसकेका अमरेश कुमार सिंहबीचको सर्लाही ४ को भिडन्त वास्तवमै रोचक बन्ने देखिन्छ । अब सर्लाही ४ मतदाताले ‘राष्ट्रिय कद’ रोज्छन् कि ‘स्थानीय पहिचान’, त्यो भने चुनावी नतिजाले नै बताउनेछ ।
