News 24 Television
ओली–बालेन : चुनावी पल्ला कता भारी ? अप्रत्याशित सम्भावनाको भूमरीमा झापा ५ !

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको विरासत जोगाउने चुनौती र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट बालेन शाहको नयाँ लहर बीच झापा ५ को  महाभिडन्तले यतिबेला देशकै ध्यान खिचेको छ । एकातिर ओलीसँग झापा ५ मा गरेको विकास र पार्टीको बलियो सांगठनिक आधार बोकेर निर्वाचनमा होमिएका छन् भने, अर्कोतिर युवा मतदाताको आकर्षण र परिवर्तनको हुटहुटी बोकेर रास्वपाबाट बालेन होमिएका छन् । विगतमा २०६४ मा व्यहोरेको पराजय र हाल आफ्नै कार्यकर्ताको विद्रोहले ओलीलाई दबाबमा पारेको देखिन्छ भने, बालेनलाई टुरिष्ट उम्मेदवारको ट्याग चिर्दै २० हजार बढी मत थप्नुपर्ने चुनौती छ । 

नेपाली राजनीतिको केन्द्रविन्दुमा सधैं रहिरहने निर्वाचन क्षेत्र हो झापा क्षेत्र नम्बर ५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र भएकाले झापा ५ सधैं र्चामा रहन्छ । यसपाली ओलीविरुद्ध रास्वपा बरिष्ठ नेता बालेन्द्र शाहले सोही क्षेत्रबाट उम्मेदवारी दिएपछि झनै चर्चामा छ । यसलाई परम्परावादी दल र नयाँ दलबीचको प्रतिपष्पर्धाका रुपमा हेरिएको छ । 

निरन्तरण आफ्नो किल्ला बनाउँदै आएको ओलीको यो क्षेत्रमा आएका शाहप्रतिको आकर्षण अप्रत्याशित देखिएको छ । त्यसैले ओली–बालेनबीचको सम्भावित भिडन्तले झापा ५ को चुनावी अंकगणितलाई पक्षेपण गर्न नै नसकिने अवस्था बनाईदिएको छ । 

अघिल्लो निर्वाचनको अंक गणित 

गत २०७९ को आम निर्वाचनमा एमाले अध्यक्ष ओली राप्रपासँगको तालमेलमा ५२ हजार ३ सय १९ मत प्राप्त गरी विजयी बनेका थिए । जतिबेला रास्वपाका सुरेशकुमार पोखरेलले ११ हजार ७ सय ४८ मत मात्र पाएका थिए । तर, समानुपातिकतर्फको मतलाई हेर्दा चित्र अलि फरक छ । एमालेले ३५ हजार ८ सय ७२ मत पाउँदा रास्वपाले १८ हजार २ सय ५ मत प्राप्त गरेको थियो । 

अहिलेको फेरिएको परिस्थितिमा ओलीका लागि सबैभन्दा ठूलो चुनौती गठबन्धनको अभाव देखिन्छ । गत निर्वाचनमा ओलीले राप्रपाको साथ पाएका थिए । अर्कोतर्फ, झापा ५ मा अहिले करिब १० हजार युवा मतदाता थपिएका छन् ।

विगतको इतिहास र अन्तर्घातको डर

झापा ५ ओलीको गढ मानिए पनि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन माओवादीका विश्वदीप लिङ्देनसँग ओली पराजित भएका थिए । तर लिङदेनले त्यसयता टिकट नपाए पनि ओली निरन्तर यही क्षेत्रमा जित्दै आएका छन् । अहिले एमालेभित्रको आन्तरिक असन्तुष्टिको प्रभाव पनि निर्वाचन देखिने डर छ । यहि क्षेत्रबाट जितेर पटक पटक प्रधानमन्त्री समेत भए पनि मतदातको अपेक्षा भने पूरा भएको छैन । 

पार्टीभित्रै पनि असन्तुष्टि उस्तै छ । त्यही असन्तुष्टिका कारण एमाले नगर अधिवेशनमा असन्तुष्ट रहेका सन्तोष दुलाल अहिले बालेनको चुनावी कमाण्डर बनेका छन् ।  युवा संघ र खेलकुद महासंघका स्थानीय नेताहरूले रास्वपा रोजेपछि ओली रक्षात्मक बन्न पुगेका छन् । नेपालमा रहेका भन्दा  विदेशमा रहेका युवाहरुको बालेनको समर्थक हुँदा परिवारमा दबाब पर्ने नै छ । यद्यपी समाजिक सञ्जालमा बालेनको आकर्षण देखिए पनि भूगोलमा त्यस्तो नभएको एमाले नेता कार्यकर्ताको दाबी गर्छन् । 

विकासको एजेण्डा भर्सेस टुरिष्ट ट्याग

ओलीको सबैभन्दा बलियो पक्ष भनेको उनले आफ्नो कार्यकालमा झापामा भित्र्याएको विकास हो । सडक, अस्पताल, विद्यालय भवन जस्ता पूर्वाधार निर्माणमा उनले विशेष ध्यान दिएका छन् । 

आफ्नो क्षेत्रको विकास गर्ने प्रधानमन्त्री को छवि ओलीको मुख्य हतियार हो । अर्कोतर्फ, काठमाडौंबाट झापा पुगेका बालेन शाहलाई टुरिष्ट उम्मेदवारको आरोप लाग्न सक्छ । यद्यपी रास्वपाले पनि बालेनलाई नै भावी प्रधानमन्त्रीको रूपमा अघि सारेकाले युवा र तटस्थ मतदातालाई आकर्षित गर्ने देखिन्छ । तर बालेनका समर्थक ठूलो युवा पंक्ति भने देश बाहिर छ । यसले ओलीलाई फाइदा नै पुग्ने देखिन्छ । 

रोचक बन्दै चुनावी समीकरण

नेपालको पछिल्लो राजनीतिमा पपुलिजम र डेलिभरीको बहस चर्किएको छ । पुराना दलहरूप्रतिको वितृष्णा र नयाँ अनुहारप्रतिको आकर्षण झापा ५ मा पनि प्रतिविम्बित हुने देखिन्छ । ओलीले आफ्नो सुरक्षित समानुपातिक मत जोगाएर थप मत तान्नु पर्नेछ भने बालेनले रास्वपाको आधारभूत मतमा करिब २० हजार नयाँ मत थप्नुपर्ने चुनौती छ । 

एमालेको सांगठनिक शक्ति र ओलीको व्यक्तित्व एकातिर, अनि युवा विद्रोह र बालेनको ब्रान्ड भ्यालु अर्कोतिर हुँदा झापा ५ को चुनावी नतिजा अप्रत्याशित हुन सक्छ । जसले जिते पनि आगामी दिनमा एमाले वा रास्वपाका सरकार बन्दा प्रधानमन्त्री झापा ५ ले नै पाउनेछ । 

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update