काठमाडौं । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि केही यस्ता ब्यक्तिहरु पनि उम्मेदवार बनेका छन्, जो चुनाव जितेर पनि सांसद बन्न पाउने छैनन् । निर्वाचन कानूनले फौजदारी मुद्दा लागेका तर थुनामुक्त भएको ब्यक्तिलाई उम्मेदवार बन्ने छुट दिए पनि सांसद भने हुन नपाउने प्रावधान छ ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि प्रत्यक्षतर्फ ३४ सय भन्दा बढीले मनोनयन गरेका छन् । प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकमा १ सय १० सदस्यका लागि निर्वाचन हुनेछ । प्रतिनिधिसभाको उक्त निर्वाचनमा भाग लिन भन्दै मनोनयन गरेका केहीको उम्मेदवार रद्द गरिसकिएको छ । तर केही यस्ता उम्मेदवार छन्, जो आगामी निर्वाचन जितेमा पनि संसद भवन छिर्न पाउने छैनन् ।
कसको उम्मेदवारी खारेज ?
प्रतिनिधिसभा सदस्यका लाििग प्रत्यक्षतर्फ कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी रद्द गरिएको छ । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएर जेल सजायसमेत भोगिसकेको कारण उनको उम्मेदवारी निर्वाचन आयोगले विहीबार रद्द गरेको हो । जिल्ला निर्वाचन अधिकृकतको कार्यालयले बिहीबार एक वक्तव्य जारी गर्दै नागरिक उन्मुक्ति नेपालका संरक्षक चौधरीको उम्मेदवारी खारेज भएको जानकारी दिएको हो ।
कैलालीको टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेल सजाय भोगिसकेका चौधरी ०७९ को चुनावमा पनि बर्दीया क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए । त्यस बेला पनि आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।
त्यसैगरी नेपाली कांग्रेस नवलपरासी २ बाट उम्मेदवारी दिएका देवेन्द्रराज कँडेलको पनि उम्मेदवारी जिल्ला निर्वाचन आयोगले खारेज गरिदिएको छ । भीमबहादुर थापा र कंडेलबीचको आधिकारिता विवादमा आयोगले कँडेलको उम्मेदवारी खारेज गर्दै थापाको उम्मेदवारी सदर गरेको हो । यस्तै, काठमाडौं–१० बाट उम्मेदवार रहेकी सुमित्रा बस्नेतको उम्मेदवारी पनि खारेज भएको छ । मितेरी पार्टीबाट उम्मेदवार बनेकी बस्नेतको पनि उम्मेदवारी रद्द गरिएको छ । कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको उजुरी छानबिनका क्रममा प्रमाणित भएपछि उम्मेदवारी रद्द गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जो चुनाव जितेर पनि संसद छिर्न पाउने छैनन्
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा चुनावमा जितेमा पनि केहीले संसद भवन छिर्न नपाउने अवस्था छ । फौजदारी मुद्दा लागेर विचाराधिन अवस्थामा रहेका ब्यक्तिको सफाइ नपाएसम्म संसदको ढोका बन्द हुनेछ । फौजजारी मुद्दा लागेर विचाराधिन अवस्थामा रहे पनि थुनामा नरहेको अवस्थामा उम्मेदवार हुन पाउने सुविधाका कारण त्यस्ता ब्यक्तिहरु उम्मेदवार बनेका छन् ।
माधव कुमार नेपाल सहसंयोजक, नेपाली कम्युनिस्ट पार्टी
नेपाली कम्युनिस्ट पार्टीका सह संयोजक माधव कुमार नेपालले रौतहट १ बाट प्रत्यक्षतर्फ उम्मेदवार मनोनयन गरेका छन् । पतञ्जली जग्गा प्रकरणको मुद्दा विचाराधिन रहेको कारण मुद्दाको फैसला भई सफाइ नपाउँदा सम्म उनले चुनाव जिते भने पनि संसदको ढोका बन्द नै हुनेछ । पतञ्जली योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा खरिद गरेको जग्गासम्बन्धी उनीसहित प्रतिवादी बनाइएको मुद्दा विशेष अदालतमा विचाराधीन छ । मुद्दा दर्ता भएकै मितिबाट नेपालको विघटित प्रतिनिधिसभाबाट पनि सांसद पद निलम्बित भएको थियो । यद्यपी उक्त मुद्दामा माघ १४ गतेका लागि पेश तोकिएको छ ।
रवि लामिछाने, सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चितवन २ बाट नै आसन्न प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् । लामिछानेको सहकारी ठगी सम्बन्धी मुद्दा विभिन्न जिल्ला अदालतमा अहिले पनि विचाराधिन छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिवादी बनाइएका लामिछाने उच्च अदालतको तुलससीपुरको भैरहवा इजालासको आदेशमा पुर्पक्षका लागि थुनामा राखिएका थिए । सोही अदालतको आदेशबाट उनी पुस ३ गते मात्रै थुनामुक्त भएका थिए । उनलाई लगाइएका अभियोगमध्ये संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा महान्यायाधीवक्ताले पुस ३० गते फिर्ता लिएपछि उनले उम्मेदवार बन्ने सुविधा पाएका हुन् ।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बलदेव चौधरी
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट उदयपुर १ मा उम्मेदवार रहेका बलदेव चौधरी । फौजदारी अभियोग लगेका उनी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी हुँदै नेकपामा समाहित भएका थिए ।
त्रियुगा नगरपालिकाको मेयर हुँदा राजश्व चुहावट गरेको उभियोग चौधरीमाथि छ । राजश्व चुहावट गरेको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० असोजमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा विचाराधिन रहेकाले चौधरीले चुनाव जिते भने नि अदालतमा फौजदारी अभियोगमा मुद्दा दर्ता भएका कारण स्वतः निलम्बनमा रहने छन् ।
