News 24 Television
नयाँ पुराना सबै दलबाट युवा उम्मेदवार, रुपन्देही ३ मा रोचक भिडन्तको संकेत

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ–पूराना अधिकांश दलले युवालाई उम्मेदवार बनाएका छन् । अधिकांश युवा उम्मेदवारको पृष्ठभूमि पनि फरक छन् । यो क्षेत्रबाट दल र स्वतन्त्र गरी ३६ जनाको उम्मेदवारी परेको छ । युवा उम्मेदवारको संख्या अत्याधिक रहेका कारण यसपटक यहाँ प्रतिस्पर्धा रोचक हुने देखिन्छ ।

१ लाख ४ हजार ३५ मतदाता संख्या रहेको रुपन्देही क्षेत्र नम्बर ३ चार महिनापछि फेरि चुनावी सरगर्मी चढेको छ । २०७९ को निर्वाचनमा राप्रपाबाट निर्वाचित दीपक बोहराको निधनपछि उपनिर्वाचन हुने भएपछि क्षेत्र साउनदेखि भदौ २२ सम्म मुलुककै केन्द्र बनेको थियो । तर, भदौ २३ र २४ को जेनजी आन्दोलनसँगै यतिबेला मुलुकभर नै प्रतिनिधिसभा निर्वाचन हुँदैछ । छोटो समयमै पुनः चुनावी माहोल तातेको रुपन्देही–३ मा जेनजी भावना भन्दै सानाठूला र नयाँपुराना सबैजसो दलहरुले धेरैजसो युवालाई उम्ममेदवार बनाएका छन् । 

नेपाली काँग्रेसबाट सुशील गुरुङ, एमालेबाट बासुदेव घिमिरे, रास्वपाबाट डा.लेखजंग थापा, राप्रपाबाट गौरब बोहरा, जसपा नेपालका श्रीनिवास यादव र जनमतका विशाल गुप्ता युवा उमेर समूहका हुन् । नेकपाबाट फैज अहम्मद खाँ केही पाका देखिए पनि राजनीतिक रुपमा खारिएका उम्मेदवार हुन् । यो क्षेत्रमा यी उम्मेदवारहरु बीच नै टक्कर हुने आँकलन छ । परम्परागत भनिएका काँग्रेस–एमालेले पनि यसपटक यो क्षेत्रमा नयाँ उम्मेदवारलाई नै प्राथमिकता दिएका छन् । एमालेका घिमिरेबाहेक अन्य सबैजना पहिलोपटक संसदीय राजनीतिमा होमिएका हुन् । 

काँग्रेसका गुरुङ विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । उनी हाल पार्टीको क्षेत्रीय सभापति छन् । यस्तै, एमालेका घिमिरेसँग २०७४ मा तिलोत्तमा नगरपालिकाको प्रमुख र २०७९ मा रुपन्देही पाँचबाट निर्वाचन जितेर संसदीय राजनीति गरेको अनुभव छ । रास्वपाका लेखजंग पेसाले न्युरो चिकित्सक हुन् भने राप्रपाका गौरव बोहरा बरिष्ठ पाइलट हुन् । 

नेकपाका उम्मेदवार खाँसँग राजनीतिक र समुदायको बलियो पकड छ । जसपा नेपालका यादवले मधेशी मत प्रभावित पार्न सक्छन् । मिश्रित समुदायको बसोबास रहेको यो क्षेत्रमा स्व.दीपक बोहराको ‘लिगेसी’ समेत धारिलो छ । यसले राप्रपालाई थप बल बनाएको छ । काँग्रेस, एमाले र रास्वपासँग बलियो संगठन छ । दल र स्वतन्त्र गरी ३६ जनाबीच स्पर्धा हुन लागेको क्षेत्रमा मुख्य दलहरु बीच नै टक्कर हुने देखिन्छ । तर, साना दल र स्वतन्त्र उम्मेदवारले काट्ने मतले निर्वाचन परिणाम तलमाथि बनाउन सक्ने बुझाई पनि धेरैको छ ।

गणतन्त्र पछि यो क्षेत्रमा २०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोमबाट ओमप्रकाश यादवले निर्वाचन जितेका थिए । त्यस्तै संविधानसभको २०७० को र २०७९ को आम निर्वाचनमा राप्रपाका दीपक बोहराले चुनाव जितेको यो क्षेत्रमा २०७४ मा भने एमालेबाट प्रतिस्पर्धा गरेका घनश्याम भुसालले निर्वाचन जितेका थिए । 

पछिल्लो सबैजसो निर्वाचनमा दलहरुले गठबन्धन गरेर प्रतिस्पर्धा गरेका थिए । तर, यसपटक एक्लाएक्लै भिड्दै छन् । भारतको सीमा क्षेत्र सुनौलीदेखि बुटवलको पूर्व–पश्चिम राजमार्गसम्म फेलिएको यो क्षेत्रमा जातीय मत पनि निर्णायक छ । 

गौतमुबद्ध विमानस्थल, नाका व्यवस्थापन, सेज संचालन, समानुपातिक विकास यहाँका नागरिकको चाहाना हो । यी मुद्दा सबै उम्मेदवारले उठाएका छन् । तर, यसपटक सबैजसो दलले नयाँ र युवा अनुहारलाई उम्मेदवार बनाएकाले क्षेत्रले नयाँ प्रतिनिधि पाउने भने पक्का छ । उम्मेदवारी दर्तापछि रणनीतिक रुपमा सबै दल र स्वतन्त्रहरुले छलफल र भेटघाटलाई भने तिव्रता दिन थालेका छन् । 

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२  ०९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update