News 24 Television
बालेनमय पूर्वीपहाड, पाथीभरादेखि ओलीको जन्मभूमिसम्म बालेन !

काठमाडौँ । बालेन शाह काठमाडौं महानगरको मेयर पद त्यागेर रास्वपा प्रवेश गरे । उनले उम्मेदवारी मनोनयन मितिभन्दा केही दिन अघि महानगरको पद त्यागेर रास्वपा प्रवेश गरेका थिए । यसपछि उनी एक्कासी मधेश हानिए । बालेन शाहले जनकपुरमा आयोजित रास्वपाको कार्यक्रमलाई सम्बोधन गर्दै भावी प्रधानमन्त्रीको रुपमा अघि बढेको सन्देश दिएका थिए । 

यसपछि माघ ६ गते दमक पुगर झापा – ५ का लागि उम्मेदवारी दिएका बालेन अझै काठमाडौं फर्किएका छैनन् । उनले माघ ६ र ७ गते दमकमै बसेर मतदाताहरुसँग भेटघाट र छलफल गरे । तर उनी बिहीबार बिहानैदेखि पूर्वी पहाडी जिल्लाको भ्रमण र मतदाताहरुसँगको भेटघाट गरिरहेका छन् । बालेनले अहिलेसम्म झापा, इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्ला पुगेर आफ्ना मतदता र उम्मेदवारहरुसँग भेट गरिसकेका छन् । 

बालेनमय पूर्वीपहाड !

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चुनावी प्रतिस्पर्धामा उत्रिएका बालेन झापामा मात्रै सिमित रहने अवस्थामा छैनन् । उनले झापासँगै पूर्वी पहाडी जिल्लामा समेत आफ्नो समर्थक र मतदाताहरुलाई भेटिरहेका छन् । बिहीबार बिहानै उनले इलामका समर्थकहरुलाई भेटेका थिए । 

त्यस्तैगरी बिहीबार दिउँसो उनी पाँपचथरको सदरमुकाम फिदिम पुगे । त्यहाँ पनि उनले आफ्ना समर्थकहरु र पाँचथरका उम्मेदवारसँग भेट गरेका छन् ।

यसपछि साँझ ताप्लेजुङका कार्यकर्ता भेटेका उनी पाथीभरा दर्शनको लागि राति नै त्यसतर्फ लागे । बिहीबार राति माथिल्लो फेदीमा बसेका बालेनले शुक्रबार बिहान पाथीभरा मन्दीरको दर्शन गरेका छन् ।

यसरी बालेन पुर्वी पहाडी जिल्लामा रहँदा उनको समर्थनमा सयौँको सख्यामा कार्यकर्ता र समर्थकको भिड देखिएको छ । सामाजिक संजालमा लोकप्रिय र चर्चित रहेका बालेनसँग तस्बीर खिच्न कार्यकर्तामात्रै होइन, सुरक्षाकर्मीहरुसमेत आकर्षित भएका दृष्यहरु देखिएका छन् । जसले बालेनको क्रेज सामाजिक संजालमा मात्रै नभइ भौतिक रुपमै पनि रहेको भन्ने पुष्टि गरेको छ । निर्वाचनको सम्मुखमा देखिएको देशव्यापाी यो क्रेजले अन्य दलका नेता तथा उम्मेदवारहरुलाई समेत छायाँमा पारेको टिप्पणी हुन थालेका छन् । 
बालेन रणनीति !

बालेनले आफ्नो चुनावी रणनीति अनुसार नै पूर्वी जिल्लाहरुको भ्रमण गरेको देखिन्छ । उनले झापामा उम्मेदवारी दिएर पहाड उक्लिनुलाई पनि अर्थपूर्ण रुपमा हेरिएको हो । प्राय झापामा बासोबास गर्ने र त्यहाँका मतदाता पहाडी जिल्लाबाटै बसाईँ सरेर आएका हुन्छन् । यसआर्थमा उनीहरुको भावना जोड्न पनि बालेनले पहाडी जिल्लाहरुको यात्रा गरेको टिप्पणी भइरहेका छन् । अर्कोतर्फ उनले पूर्वकै चर्चित देवस्थल पाथीभराको दर्शन गर्नुलाई पनि कतिपयले चुनावी रणनीतिकै रुपमा अर्थ्याइरहेका छन् । उनले पाथीभराको दर्शन गरेर धार्मिक र आस्थागत भावनालाई जोड्न खोजेको बताइदै आएको हो ।  

अर्कोतर्फ बालेन तेह्रथुमको आठराई पुग्नुलाई पनि ओलीविरुद्ध भावनात्मक दवाब दिइएको भनेर व्याख्या भइरहेका छन् । तेह्रथुमको आठराई एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीको जन्मथलो हो । बालेन शुक्रबार नै आठराई पुगेका थिए । यसै विषयलाई लिएर कतिपयले जन्मथलो नै पुगेर बालेनले ओलीलाई प्रतिकात्मक रुपमा काउण्टर दिन खोजको व्याख्या भइरहका हुन् । तर कुनै एक राजनीतिक दलको नेता चुनावको सम्मुखमा मुलुकको कुनैपनि स्थानको भ्रमणमा जानु तथा मतदाताहरुसँग भेट्नुलाई खास टिप्पणी गर्न आवश्यक देखिँदैन । बालेन रास्वपाले भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको पात्रसमेत हुन् । उनको यो भ्रमणलाई लिएर अनेकौँ टिप्पणी गरिनु स्वभाविक भएपनि आशंकाकै रुपमा हेरिनुलाई भने आश्चार्यको रुपमा लिइएको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२  २०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update