News 24 Television
बालेनलाई गाडी दिने व्यापारीः कर छली आरोपदेखि नागरिकता विवाद, किन बालेनलाई प्यारो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी चुनावपछि प्रधानमन्त्रीको रुपमा प्रोजेक्सन गरेका वरिष्ठ नेता बालेन्द्र साह ’बालेन’ले चढेको ८ करोड बढि मूल्यको गाडीको विवाद चर्किएको छ । बालेनले चढेको गाडी विवादास्पद व्यापारीको रहेको र उनी कर छली मुद्दाका समेत प्रतिवादी रहेको बेला बालेनको यो कामलाई अर्थपूर्ण ठानिएको छ । चुनावअघि नै विवादास्पद छवीका व्यापारीको गाडि प्रयोग गर्नेले प्रधानमन्त्री नै बन्ने अवस्था भएमा के गर्ला ? चासो र चिन्ता बढेका छन् । 

पुरानाले गरेनन्, नयाँले गर्छन् । नो नट अगेन जस्ता तमाम अभियान चलाउदै सामाजिक सञ्जालबाटै ख्याति कमाएका अनुहारहरु चुनावी मैदानमा छन् ।

प्रतिनिधिसभा कानून निर्माणसंगै सरकारमा पनि सहभागी हुने देशको मेरुदण्डको रुपमा रहने भएपनि पपुलिजमको खतरा भने बढ्दो छ । सामाजिक सञ्जालमा आउने लाइक, कमेन्ट र सामाजिक सञ्जालको अल्गोरिदममा अघि देखिनेहरु चुनावी प्रतिष्पर्धामा होमिएपछि यो चुनावले देशलाई विकास समृद्धिको बाटोमा लैजाला ?

चिन्ता देखिन्छ । यतिमात्रै नभई सामाजिक सञ्जालमै अत्यधिक क्रेज बनाएका बालेन्द्र साहलाई रास्वपाले प्रधानमन्त्रीको रुपमा अघि सारेपनि उनले पछ्याएको शैली र प्रयोग गरिरहेको अभ्यासमाथि प्रश्न गर्न थालिएको छ । 

बालेन झापा निर्वाचन क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी ओलीविरुद्ध चुनावी मैदानमा उत्रिएका छन् । 

बालेनले ओलीलाई चुनौती दिएरै आधाउधि चर्चा बटुलिसकेका छन भने झापाका मतदाताको रुझान पनि ओलीप्रति कट्टर देखिन्न । यतिमात्रै नभई झापाको चुनाव पेचिलो हुने आंकलन गरिएको बेला उनले प्रयोग गरेको बागमती प्रदेश ०१–०३३ च ४३४३ नम्बरको ल्याण्डरोभर डिफेन्डर टप भेरियन्ट गाडीको चर्चा चुलिएको हो । 

अटो व्यवसायीहरुले टप भेरियन्ट गाडीको मूल्य ८ करोडसम्म पर्ने दाबी गरिरहेका छन् । तर, गाडीको मूल्यभन्दा पनि उनले चढेको गाडीका मालिक करेन्ट चाउचाउका मालिक कमल किशोर मानपानीका छोरा नितेशको नाममा रहेको बताइएको छ । 

कमल उनै व्यक्ति हुन्, जसको नागरिकतामा समेत प्रश्न उठाउने गरिन्छ । सुपारी र मरिच व्यापार समेत गर्ने उनी कर छली मुद्दामा समेत डामिएका छन् । 

कमल किशोर मानपालीको कनेक्सन र आरोप

कमल मानपानीको यशोधा फुड्सले करेन्ट चाउचाउ उत्पादन गर्ने गर्छ । यहि करेन्ट चाउचाउमा कमलले रघुनाथ घिमिरेलाई सिईओको जिम्मेवारी सुम्पिएका छन् । रघुनाथ आफू सुब्बा हुँदा पनि बजेट लेखनमा विज्ञको रुपमा प्रवेश गर्न सक्ने खतरानाक व्यक्तिमा पर्छन् । 

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले निर्माण गरेको बजेटमा अनाधिकृत व्यक्तिले करको दर हेरफेर गरेको आरोप लाग्दा यीनै रघुनाथले बबजेटमा कैची चलाएको बताइन्छ । यस्तै खाले क्षमता भएकालाई कमलले आफ्नो जालमा पार्ने गरेका छन् । यहि रणनीतिअनुसार नै बालेनलाई उनले महंगो सवारी सुम्पिएको आरोप लागिरहेको छ ।

यो गाडी नेपालमा ८ देखि १० वटासम्म मात्रै सडकमा रहेको बताइन्छ । कमलको नागरिकतामा समेत अनेक प्रश्न र आशंका गर्ने गरिन्छ । कमलले २०१९ सालमा सप्तरीमा जन्मिएको भन्दै २०५४ मा पहिलो पटक वंशजको नागरिकता लिएका छन् । 

३५ वर्षको उमेरमा सप्तरीबाट ४८२० नम्बरको नागरिकता लिएका कमलले रोचक ढंगले फेरि २०७१ सालमा जिल्ला प्रशासन कार्यालय रूपन्देहीबाट ३७–०२–७१–१३६५८ नम्बरको प्रतिलिपी लिएका छन् । जबकी सरकारी कर्मचारीबाहेकलाई अर्को जिल्लाबाट प्रतिलिपी नागरिकता जारी गर्ने गरिन्न । यस्तै, करेन्ट र गुट्खा समेत उत्पादन गर्ने उनीमाथि १० करोड बिगोसहित राजस्व छलीमा उनीविरुद्ध सर्चोच्चमा मुद्दा चलिरहेको छ । 

यस्ता विवादास्पद व्यापारीबाट सवारी साधन लिदा स्वार्थको द्वन्द्ध सिर्जना हुने र गलत काम गर्ने परम्परा बस्ने भन्दै आलोचना तीब्र बन्न पुगेको छ ।

बालेनमाथि किन प्रश्न ?

विवादास्पद व्यापारीको सवारी साधन चुनावी प्रयोजनमा उपयोग हुनुले सरकारको नेतृत्व नै गर्ने स्थिति बनेमा फेरि व्यापारीकै चंगुलमा फस्दै गलत निर्णय गर्नुपर्ने बाध्यता आइलाग्ने चिन्ता व्यक्त गर्न थालिएको छ । 

सुशासन, भ्रष्टाचारको अन्त्य र पारदर्शीताको प्रश्न पेचिलो बनिरहेको बेला यहि नारा घन्काइरहेका बालेनले विवादास्पद व्यापारीको सवारीमा सजिएर हिड्नुलाई प्रश्न गर्न थालिएको छ । स्वार्थको द्वन्द्धले पनि यसरी उपयोग हुने खतरा प्रष्ट हुने हुनाले प्रभावमा पर्न नहुने तर्क गर्न थालिएको छ । पुरानाबाट सम्भव भएन भन्दै नयाँको धमास दिइरहेको पक्षले पनि पुरानाभन्दा पनि खतरानाक कदममा सक्रियता देखाउदा मतदातामा समेत विश्वासघात हुने खतरा बढ्दो बन्न थालेको छ ।

पुराना दल र नेताहरुले गर्ने सम्वाददेखि विभिन्न कुरामा देखिने व्यवसायीक सक्रियतामाथि सर्वसाधारणले खास मन पराएको देखिन्न । 

तत्कालीन नेकपाको एकतामा दुर्गा प्रसाईले मार्सी चामलको भात खुवाएको अवस्था होस वा केपी ओली र शेरबहादुर देउवाले सरकार निर्माणको हस्ताक्षर क्याप्टेन रामेश्वर थापाको घरमा गरेको विषय नै किन नहोस्, सर्वसाधारणले यस्ता विषयलाई पेचिलो ढंगले लिने गरेका छन् । यहि कारण पनि पुरानो नेतृत्व र दलमाथिको आक्रोश चुलिएको देखिन्छ । उसोत. नयाँ दाबी गर्नेहरुले पनि यहि बाटो पछ्याउदा सर्वसाधारणले दिक्दारी पोख्न भने थालिसकेका छन् ।

प्रकाशित मिति: शनिबार, माघ १०, २०८२  ०८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update