काठमाडौं । फागुन २१ गते हुन लागेको निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूलाई आफ्नो नाम फिर्ता लिन निर्वाचन आयोगले शुक्रबार दिउँसो १ बजेसम्मको समय सीमा तोकेको थियो ।
यो समय सीमाभित्र देशभरबाट ४९ जना उम्मेदवारहरू चुनावी मैदानबाट पछि हटेका छन् । उम्मेदवारी फिर्ता लिनेहरूमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईदेखि मनाङमा रहेका एमाले र राप्रपाका उम्मेदवार सम्मरहेका छन् ।
निर्वाचनको सरगर्मी बढ्दै जाँदा उम्मेदवारी फिर्ता लिने अन्तिम दिन शुक्रबार राजनीतिक वृत्तमा ठुलै हलचल देखियो । निर्वाचन आयोगको कार्यतालिका अनुसार शुक्रबार दिउँसो १ बजेसम्म देशभरका विभिन्न निर्वाचन क्षेत्रबाट कुल ४९ जना उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएका छन् । आयोगका अनुसार कतिपयले स्वास्थ्य र व्यक्तिगत कारण देखाएका छन् भने कतिपयले राजनीतिक समीकरण र पार्टीको निर्देशन पालना गर्दै चुनावी मैदानबाट बाहिरिने निर्णय गरेका हुन् ।
उम्मेदवारी फिर्ता लिनेहरूको सूचीमा सबैभन्दा धेरै चर्चा पूर्व प्रधानमन्त्री एवं प्रगतिशिल लोकतान्त्रिक पार्टीका संरक्षक बाबुराम भट्टराईको भयो । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका भट्टराईले अन्तिम समयमा आएर आफ्नो नाम फिर्ता लिएका हुन् ।
उनीसँग यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटी, नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी, नेकपाका लेखनाथ न्यौपाने र नेकपा एमालेका मिलन गुरुङ लगाएतका उम्मेदवारहरू प्रतिस्पर्धामा थिए । तर, भट्टराईले आगामी दिनमा मुलुकलाई आवश्यक परेको खण्डमा आफूले अभिभावकीय भूमिका निर्वाह गर्ने भन्दै मैदान छाड्ने निर्णय गरे ।
त्यस्तै, धादिङ क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बनेकी सामाजिक अभियन्ता आशिका तामाङले पनि शुक्रबार नै आफ्नो उम्मेदवारी फिर्ता लिएको समाचारहरु सार्वजनीक भए । उनले उम्मेदवारी फिर्ताको लागि इमेल पठाईएको भनिएको थियो तर त्यो इमेल आफुले नपठाएको आशिकाको दाबी पछि उनको उम्मेदवारी कायम रहेको छ ।
उम्मेदवारी दर्तासँगै तामाङको दोहोरो नागरिकता वा विदेशी पीआर (स्थायी बसोबास अनुमति) रहेको भन्दै सञ्चारमाध्यममा विवाद उत्पन्न भएको थियो । यद्यपि, उनले आफूसँग पीआर नभई टिआर (अस्थायी बसोबास) मात्र रहेको दाबी गर्दै आएकी छन् ।
यता हिमाली जिल्ला मनाङको चुनावी दृश्य भने अलि भिन्न देखियो । उम्मेदवारी दर्ताकै दिन रास्वपाका उम्मेदवार अनिल गुरुङ सम्पर्कविहीन बनेपछि त्यहाँ रास्वपाको उम्मेदवारी नै परेन ।
माघ ६ गते राति मात्र सम्पर्कमा आएका गुरुङले बाटोमा गाडी बिग्रिएको र मोबाइलको चार्ज सकिएका कारण आफू समयमा पुग्न र सम्पर्कमा आउन नसकेको स्पष्टीकरण दिएका थिए । तर, शुक्रबारको उम्मेदवारी फिर्ता प्रक्रियामा मनाङमा अर्को नाटकीय मोड आयो । नेकपा एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङ र राप्रपाका कुवेरसिंह गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिए ।
उनीहरूले नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङलाई समर्थन गर्ने गरी मैदान छाडेका हुन् । बागी उम्मेदवारीका कारण समस्यामा परेका दलहरूले पनि यस पटक उम्मेदवार फिर्ता गराउन कडा कसरत गरे । कालिकोटमा नेकपाका नेता जीवनराम बुढाले पार्टीको निर्णय विपरीत बागी उम्मेदवारी दिएका थिए ।
पार्टीले पुनः महेन्द्रबहादुर शाहीलाई नै अघि सारेपछि रुष्ट बनेका बुढालाई पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड को प्रत्यक्ष निर्देशनपछि उम्मेदवारी फिर्ता लिन लगाइएको छ । त्यस्तै, रूपन्देही क्षेत्र नम्बर २ मा राप्रपाबाट उम्मेदवार बनेकी कर्भिका थापाले पनि पीआर त्याग गरेको तीन महिना नपुगेको कानुनी अड्चनका कारण पार्टीकै आग्रहमा नाम फिर्ता लिएकी छन् । यस निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूको प्रभाव पनि उत्तिकै देखिएको छ ।
म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका निवर्तमान सञ्चार मन्त्री एवं वैज्ञानिक महावीर पुनलाई समर्थन गर्दै नेशनल रिपब्लिक नेपाल पार्टीका उम्मेदवार तुलप्रसाद गुर्बजाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
म्याग्दीमा पुनलाई रास्वपाले समेत सघाउने चर्चा चले पनि केन्द्रको निर्णय ढिलाइ हुँदा रास्वपाका उम्मेदवारले भने नाम फिर्ता लिएनन् । देशभर ४९ जनाले यसरी उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगको भनाइ छ । बाबुराम भट्टराई सहित मनाङमा एमाले र राप्रपाका उम्मेदवारको उम्मेदवारी फिर्ता हुदाँ फागुन २१ को निर्वाचनलाई थप रोचक बनेको छ ।
भट्टराई जस्ता नेताहरूको बहिर्गमन र साना दलहरूको महाविर जस्ता स्वतन्त्र उम्मेदवारलाई समर्थनले आगामी चुनावी नतिजा कस्तो होला भन्ने आम चासोको विषय बनेको छ ।
