काठमाडौं । माघ ६ गते मनोनयन दर्ता गरेर निर्वाचनमा होमिएका दलहरुले निर्वाचनमा पार्टीको सबै शक्ति लगाएका छन् । कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, रास्वपा , राप्रपा, उज्यालो नेपाल लगायतका नयाँ पुराना दलहरु सम्पुर्ण शक्ति लगाएर निर्वाचनमा होमिएका छन् । उम्मेदवारहरु टोलटोल र घरघरमा गएर मतदाता भेटिरहेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अब ४० दिन मात्रै बाँकी छ । निर्वाचन नजिकिँदै गर्दा दलहरुले आफ्नो सम्पुर्ण शक्ति निर्वाचनमा केन्द्रीत गरेका छन् । केही दिन अगाडिसम्म पनि विशेष महाधिवेशन र नियमित महाधिवेशन भन्दै विवादमा अल्झिएको नेपाली कांग्रेस अहिले एक भएर निर्वाचनमा होमिएको छ । पार्टी भित्रको आन्तरिक द्वन्द्वलाई किनारमा राखेर काँग्रेस नेताहरु आफ्नो उम्मेदवारलाई जिताउन कस्सिएका छन् ।
महाधिवेशनपछि नेकपा एमालेले आफ्नो पार्टी भित्रको गतिविधिलाई तीव्र पारेको छ । आफ्ना उम्मेद्वारहरुलाई जिताउन पार्टीले पार्टी निकट सबै जनवर्गीय संगठनका नेता तथा कार्यकर्ताहरुलाई जिम्मेवारी नै दिएर टोल टोलमा परिचालन गरेको छ । शनिबार मात्रै उपत्यका सहित देशभर निर्वाचन परिचालन समिति गठन गरेर एमाले अगाडि बढेको छ ।
तात्कालिन माओवादी केन्द्रसहित १७ कम्युनिस्ट घटकहरुबीचको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टीले पनि सबै शक्ति निर्वाचनमा नै केन्द्रीत गरेका छन् । बागि उठेका उम्मेदवारहरुको उम्मेदवारी फिर्ता गराउनेदेखि आफ्ना उम्मेदवारहरुलाई जनस्तरमा पठाउने र मत माग्ने काम गरिरहेको छ ।
निर्वाचनमा सबै भन्दा बढी आक्रमक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढेको छ । मनोनयनको अघिल्लो दिन जनकपुरमा भेला आयोजना गरेर बालेन्द्र शाह (बालेन) र रवि लामिछाने एकै मन्चबाट सार्वजनिक भएका थिए । मनोनयनको दिन झापामा बालेन पुग्दा उस्तै भिड लाग्यो । त्यसपछि रास्वपा पनि देशभर चुनाव केन्द्रीत भएर सबै शक्तिसहित अगाडि बढेको छ । पार्टीको सम्पुर्ण ध्यान निर्वाचन केन्द्रीत गरेर पार्टी अगाडी बढेको रास्वपाका नेताहरु बताउँछन् ।
ठुला दलहरु मात्रै होइन साना पुराना दलहरु र भर्खर खुलेका नयाँ दलहरुले पनि निर्वाचनमा आफ्नो सम्पुर्ण शत्ति परिचालन गरेर अगाडी बढेका छन् । यसले मुलुक निर्वाचनमय बनेको छ ।
