काठमाडौँ । नेपालको खेलकुद क्षेत्रलाई व्यावसायिक र अन्तर्राष्ट्रिय स्तरमा जोड्ने उद्देश्यका साथ आगामी फेब्रुअरी ५ (माघ २३) मा काठमाडौंको सोल्टी होटलमा 'नेपाल स्पोर्ट्स समिट २०२६' आयोजना हुने भएको छ। नेपाल स्पोर्ट्स समिट कमिटीले यस ऐतिहासिक कार्यक्रमको औपचारिक घोषणा गरेको हो।
यस समिटमा खेल कूटनीति, पूर्वाधार, सञ्चार र डिजिटल प्रविधिजस्ता मुख्य विषयमा केन्द्रित रहेर पाँचवटा विशेष सत्रहरू सञ्चालन गरिनेछन्। कार्यक्रममा सरकारी अधिकारी, विदेशी प्रतिनिधि, कर्पोरेट नेतृत्व र खेल विज्ञहरूबीच नेपालको खेल भविष्य बदल्न गहन मन्थन हुनेछ।
आयोजक आमिर अख्तर र भास्कर राजकर्णिकारका अनुसार यो समिट केवल एउटा कार्यक्रम मात्र नभई नेपाललाई विश्वस्तरीय खेल पर्यटन गन्तव्य बनाउने राष्ट्रिय अभियान हो। यसले खेलमार्फत विदेशी लगानी भित्र्याउन र नीति निर्माता तथा लगानीकर्ताबीच बलियो साझेदारी निर्माण गर्न पुलको काम गर्ने विश्वास लिइएको छ।
