News 24 Television
टी–२० विश्वकपः बंगलादेशको सट्टा स्कटल्याण्ड, कति बलियो ?

काठमाडौं । आसन्न टी–२० विश्वकपबाट बंगलादेश बाहिरिएसँगै नेपाललाई राहत मिलेको छ । सुरक्षा चुनौती देखाउँदै बंगलादेश विश्वकप खेल्न भारत जान नमान्दा आईसीसीले उसको सट्टा स्कटल्याण्डलाई मौका दिएको हो । समुह सी मा स्कटल्याण्डको आगमनले  नेपालको समुह चरण पार गर्ने सम्भावना बढेको विश्लेषण भइरहेका छन् । तर सजिलो भने छैन । 

खेलकुद विधालाई तटस्थ विधाको रुपमा मानिदै आएको छ । खेलकुदसँग भावना, आत्मियता र एकता जोडिएको हुन्छ । तर कहिलेकाहीँ राजनीति हाबी भइदिँदा यसको मर्म माथि नै प्रश्नचिन्ह खडा हुन्छ । हो यस्तै, नियतीको शिकार बनेको छ, बंगलादेश । 

भारतसँगको राजनीतिक तनाबका कारण बंगलादेश आसन्न टी–२० विश्वकपबाट बाहिरिएको छ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा फेब्रुअरी ७ बाट सुरु भएर मार्च ८ मा सकिने टी–२० विश्वकप नजिक यस खालको निर्णयले बंगलादेश माथि चोट पुगेको छ । बंगलादेशलाई बाहिर राख्दै विश्व क्रिकेटको सर्वाैच्च निकाय अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले स्कटल्याण्डलाई समेट्दै नयाँ खेलतालिका सार्वजनिक गरेको हो । 

भारत र बंगलादेश विवाद के हो ? 

पछिल्लो समय बंगलादेशमा हिन्दु विरुद्ध भएको क्रुरता र तत्कालिन प्रधानमन्त्री शेख हसिनालाई भारतले शरण दिएको विषयमा दुई देश विच सम्बन्ध विग्रीदै गएको छ । यहि विषयमा बंगलादेश क्रिकेट वोर्ड (बीसीबी)ले सुरक्षा चुनौती देखाउँदै भारतमा विश्वकप खेल्न नसक्ने अडान राखेको थियो । 

त्यसपछि आईसीसीले भारतीय सुरक्षा परिषद्देखि विभिन्न निकायसँग समन्वय गर्दा कुनै सुरक्षा चुनौती नरहेको निष्कर्ष सहित बंगलादेशलाई बाहिर राख्दै स्कटल्याण्डलाई मौका दिएको हो । केहि समय अघि आसन्न आइपीएलमा कोलकाता नाइटराइडर्सबाट खेल्न तयार भएका बंगलादेशी खेलाडी मस्ताफिजुर रहमानलाई पनि बिसीसीआईको निर्देशनमा हटाइएको थियो । आईसीसीको अध्यक्ष भारतीय जय शाह छन् ।

बंगलादेश बाहिरिँदा नेपाललाई राहत

तेस्रो पटक टी–२ विश्वकप खेल्न लागेको नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली समुह सी मा परेको छ । उक्त समुहमा दुई पटकको टी–२० विश्वकप विजेता राष्ट्र इंग्ल्याण्ड र वेस्ट इन्डिज सहित बंगलादेश र  इटाली थिए । तर आईसीसीले बंगलादेशको सट्टा स्कटल्याण्डलाई विश्वकपमा सामेल गराएपछि नेपाललाई राहत मिलेको विश्लेषण भइरहेका छन् । 

तुलनात्मक रुपमा बंगलादेश भन्दा स्कटल्याण्ड कमजोर राष्ट्र हो । आइसीसीले स्कटल्याण्डलाई टी–२० विश्व रेङककिङका आधारमा टिकट दिएको हो । 

यतिबेला वरियतामा स्कटल्याण्ड १४ औँ स्थानमा रहँदा नेपाल भने १७ औँ स्थानमा छ । यसअघि नेपाल र स्कटल्याण्डबीच टी–२० मा दुई पटक भिडन्त हुँदा समान एक एक पटक दुबै टोलीले जित निकालेका छन् । 

समान हैसियतको टोली प्रतिष्पर्धी पाउँदा नेपालको समुहचरण पार गर्ने लक्ष्यमा सहजता मिल्ने देखिन्छ । उसो त नेपाली खेलाडीको मेहनत र परिश्रमले नै त्यसको निर्धारण गर्ने क्रिकेट विश्लेषकहरु बताउँछन् । 

नेपालले यसपटक विश्वकपमा समुहचरण पार गर्ने लक्ष्य लिएको छ । टेष्ट राष्ट्र इंग्ल्याण्ड र वेस्ट इन्डिज पहाड झैँ उभिने छन् । नेपालको रणनीति छ, इटाली र स्कटल्याण्डलाई सहजै पराजित गर्ने इंग्ल्याण्ड र वेस्ट इन्डिज मध्य एक टोलीलाई लक्षित गरेर समुहचरण पार गर्ने । 

तर त्यसका लागि नेपाली खेलाडी र प्रशिक्षकले रणनीतिक रुपमा मुम्बईको मैदानमा जादु देखाउनु पर्ने हुन्छ । नेपालले बहुचर्चित वाङ्खडे स्टेडियममा आफ्ना चारवटै खेल खेल्नेछ । त्यहाँको पिचलाई सुझ बुझपुर्ण ढंगले रिड गर्न आवश्यक देखिन्छ ।  

नेपाली टोली विश्वकप खेल्न भारत उडिसकेको छ । श्रीलंकामा श्रीलंका ए टोलीसंग तीन खेलको सिरिजमा २–१ ले पराजय भोगेको १५ सदस्यीय नेपाली टोली मुम्बईतर्फ लागिसकेको छ । त्यहाँ नेपालले मुम्बई क्रिकेट एसोसिएशन प्रेसिडन्ट ‘एक्सआई’ टोलीसँग अभ्यास स्वरुप २ खेल खेल्नेछ । रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टोलीको मुख्यप्रशिक्षक स्टुआर्ट ल रहेका छन् ।

प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update