काठमाडौं । राष्ट्रियसभाको रिक्त १८ सिटका लागि आइतबार भएको मतदानबाट तीन दलीय गठबन्धनले बाजी मारेका छन् । राष्ट्रियसभाको रिक्त पदका लागि नेपाली कांग्रेस, एमाले र जसपा नेपालले भागबण्डा गरेका थिए । कांग्रेसले ९, एमालेले ८ र जसपा नेपाललाई १ सिट लिने गरि गरिएको गठबन्धनले नै सबै सिट जितेसँगे कांग्रेस राष्ट्रियसभाको ठूलो दल बनेका छ ।
युवा पुस्ताको आन्दोलनपछि बदलिएको राजनीतिक परिवेशकाबीच राष्ट्रिय सभाको रिक्त पदका लागि पुराना दलहरुबीच नै तालमेल गरि सिट भागबण्डाको कसरत अन्तिम समयसम्म नै भएको थियो । तर भागबण्डामा एक सिटमा कुरा नमिल्दा नेपाली कम्युनिस्ट पार्टीले एक्लै उम्मेदवार खडा गरेको थियो ।
नेकपा गठबन्धनमा सामेल नभएपछि कांग्रेसले ९, एमालेले ८ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले १ सिट लिने सहमति अनुसार नै उम्मेदवार खडा गरिएको थियो । लोसपासँग एकता प्रक्रिया टुंगोमा नपुगेको भन्दै जसपा नेपालले छुट्टै उम्मेदवार खडा गरे पनि एकता पनि लोसपा उम्मेदवारलाई समर्थन गरेको थियो ।
कांग्रेस राष्ट्रियसभामा पहिलो दल
विघटित प्रतिनिधि सभामा सबै भन्दा ठूलो दल रहेको नेपाली कांग्रेस राष्ट्रिय सभामा पनि पहिलो दल बनेको छ । आइतबार भएको निर्वाचनमा कांग्रेसका तर्फबाट ९ उम्मेदवार विजयी भएसँगै कांग्रेस राष्ट्रियसभाको पनि ठूलो दल बनेको हो । ९ जना उम्मेदवार विजयी भएसँगै राष्ट्रिय सभामा कांग्रेसको २५ सिट भएको छ ।
यसअघि पहिलो दल रहेको नेपाली कम्युनिस्ट पार्टी १८ सिट सहित दोस्रो ठूलो दल बनेको छ । आगामी फागुन २० गते कार्यकाल पूरा हुने १९ उम्मेदवार मध्ये नेकपाका ९ सदस्य छन् । यो परिणामसँगै एमाले ११ सिटसहित तेस्रो दल बनेको छ ।
राष्ट्रियसभामा राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन् । राष्ट्रिय सभामा कुल ५९ सदस्य रहन्छन्, जसमध्ये ३ जना राष्ट्रपतिले ३ जना मनोनीत गर्ने प्रावधान छ । राष्ट्रपतिबाट मनोनित एक सदस्यको कार्यकाल पनि फागुन २० मै सकिने भएकाले सुशीला कार्की नेतृत्वको सरकारले १ सदस्य राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ । राष्ट्रिय सभा सदस्यको कार्यकाल ६ वर्षको हुन्छ ।
कुन कुन प्रदेशबाट क–कसले मारे बाजी ?
कोशी प्रदेशः
कोशी प्रदेशमा एक महिला सदस्य, एक दलित र अन्य समूहमा १ गरि ३ सिट रिक्त रहेकोमा एमालेले २ र कांग्रेसले १ सिट जितेको छ । यो प्रदेशबाट दलित क्लस्टरमा एमालेका सोमनाथ पोर्तेल र महिला क्लस्टरमा एमालेकै रोशनी मेचे निर्वाचित भएका हुन् । अन्य समूहबाट भने कांग्रेसका सुनिलबहादुर थापा मनोनयनकै क्रममा निर्विरोध भएका थिए ।
मधेस प्रदेश :
महिला सदस्य १, दलित सदस्य १, अपाङ्गता वा अल्पसंख्यक सदस्य १ र अन्य समूहबाट १ गरी ४ सिटका लागि भएको मधेस प्रदेशबाट कांग्रेसका २, एमाले र जसपा नेपालका एक एक सदस्य निर्वाचित भएका छन् । यो प्रदेशमा दलित क्लष्टरमा कांग्रेसका धर्मेन्द्र पासवान र अपांगता समूहबाट रञ्जित कर्ण निर्वाचत भएका छन् भने महिला क्लष्टरमा एमालेकी रेखाकुमारी झा र अन्य क्लस्टरबाट जसपा नेपालका महन्थ ठाकुर निर्वाचित भएका छन् ।
बाग्मती प्रदेशः
महिला सदस्य १ र अन्य समूह १ गरि २ सिटका लागि भएको बाग्मती प्रदेशमा भएको निर्वाचनमा महिला क्लष्टरमा कांग्रेसकी गीता देवकोटा र अन्य समूहबाट एमालेका डा. प्रेम दंगाल निर्वाचित भएका छन् ।
गण्डकी प्रदेश :
गण्डकी प्रदेशमा १ महिला र अन्य समूह १ गरि २ सिटका लागि भएको निर्वाचनमा कांग्रेस र एमाले एक एक सिटमा विजयी भएका छन् । अन्य समूहबाट कांग्रेसका जगत तिमल्सिना र महिला क्लस्टरमा एमालेकी सम्झना देवकोटा विजयी भएका हुन् ।
लुम्बिनी प्रदेशः
महिला १, अपाङ्गता वा अल्पसंख्यक क्लष्टरबाट १, अन्य समूह १ गरि ३ सिटका लागि लुम्बिनी प्रदेशमा भएको निर्वाचनमा कांग्रेसका २ र एमालेका १ उम्मेदवार विजयी भएका छन् । यो प्रदेशमा अपांगता कोटामा कांग्रेसका वासुदेव जंगली र अन्यबाट कांग्रेसकै चन्द्र केसी निर्वाचित भएका हुन् । एमालेबाट भने महिला कोटामा रामकुमारी झाँक्री विजयी भएकी छन् । झाँक्री पछिल्लो समय नेकपा एकता अस्वीकार गरि एमाले प्रवेश गरेकी थिइन् ।
कर्णाली प्रदेश :
कर्णाली प्रदेशमा महिला १, अन्य समूह १ गरि २ जनाको रिक्त सिटमा कांग्रेस र एमालेले एक एक सिट हात पारेका छन् । अन्य समूहबाट कांग्रेसका ललितबहादुर शाही, महिला क्लस्टरबाट एमालेकी मीनासिंह रखाल निर्वाचित भएका हुन् ।
सुदूरपश्चिम प्रदेश :
महिला क्लष्टरबाट १ र अन्य क्लष्टरबाट १ गरि २ जनाको सिटमा सुदूरपश्चिमबाट पनि कांग्रेस र एमालेले एक एक सिट हात पारेका छन् । यो प्रदेशमा अन्य कोटाबाट कांग्रेसका खम्मबहादुर खाती, महिला क्लस्टरमा एमालेकी लीला भण्डारी निर्वाचित भएकी हुन् ।
कांग्रेस, एमाले र जसपा नेपालबीचको गठबन्धनले राष्ट्रियसभामा बाजी मारे पनि फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दलहरु एक्ला एक्लै निर्वाचनमा होमिएका छन् । यद्यपी निर्वाचनको बेलासम्म यी दलहरुबीच विभिन्न ठाउमा तालमेलको सहमति नहोला भन्न सकिदैन ।
