News 24 Television
फागुन ७ पछि कांग्रेसको स्पीड बढ्ने, घोषणापत्र लेख्न व्यस्त

काठमाडौं । निर्वाचनको मिति नजिकिँदै जाँदा नेपाली कांग्रेसले पनि निर्वाचन लक्षित गतिविधि बढाँउदै लगेको छ । कांग्रेसका केन्द्रदेखि जिल्लातहका नेताहरु अहिले निर्वाचन लक्षित गतिविधिमा लागिरहेका छन् । यसैबीच कांग्रेसले फागुन ७ गतेदेखि निर्वाचन लक्षित भेलाहरु आयोजना गरेर अघि बढ्ने तयारी गरेको छ ।

देशभरकै १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको कांग्रेसले फागुन ७ गते जनकपुरमा विशेष सभा आयोजना गरेर देश भर सभाहरु आयोजना गर्ने भएको छ । मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले फागुन ७ गते मधेस प्रदेशमा विशेष सभा आयोजना गर्ने र त्यसपछि लगातार देशभर सातै प्रदेशका मुख्य मुख्य स्थानमा सभाहरु आयोजना गर्ने बताएका हुन् । 

विशेष महाधिवेशन पछि पार्टी नै छुटको संघारमा पुगेको भनिएता पनि कांग्रेस अहिले एक भएर अगाडी बढेको र देशभरका सबै नेता तथा कार्यकर्ताहरु रुख चुनाव चिन्ह् लिएर उठेका उम्मेदवारहरुलाई जिताउन सक्रिय भुमिका निर्वाह गरेको प्रवक्ता चालिसे बताउँछन् । कांग्रेस सभापति गगन थापा सोमबारदेखि सर्लाहीमा छन् । 

३ दिन सर्लाहीमा आफ्नो निर्वाचन क्षेत्रको रणनीति तय गरेर थापा काठमाडौं आउने छन् । थापाले अहिले सर्लाहीका मतदाताहरुसँग भेटघाटलाई बाक्लो बनाइ रहेका छन् । सर्लाही पुगेका सभापति थापाले काठमाडौँबाट आएको टुरिस्ट उम्मेदवारको ट्याग पाएका छन् । उनले यस्तो भाष्य चिर्नु पर्ने चुनौति रहेको भन्दै भेटघाटलाई बाक्लो बनाएका हुन् । 

कांग्रेसले अहिले चुनावी घोषणा पत्र तयार गर्ने काम गरिरहेको छ । बदल्यौं कांग्रेस बदल्छौं देश भन्ने नारा लिएर कांग्रेस यसपटक चुनावी प्रतिष्पर्धामा जाँदैछ । कांग्रेस केही दिनभित्रै घोषणा पत्र पनि सार्वजनिक गर्ने तयारीमा छ ।  

निर्वाचन सफल बनाउनका लागि कांग्रेसले निर्वाचन आयोग बाहेक आफ्ना नेता तथा कार्यकर्ताहरुका निम्ति पनि आचार संहित निर्माण गरेको छ भने निर्वाचनमा प्रचार शैलिलाई मितव्ययी, प्रभावकारी र आधुनिक बनाउने जिकिर गरेको छ । 

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  ०८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update