News 24 Television
कास्की – २ मा कुशलको उम्मेदवारी किन ?

कास्की । वैकल्पिक ऊर्जाको क्षेत्रमा लामो समय सक्रिय रहेका कुशल गुरुङ आफ्नो अनुभवलाई अब देश निर्माणका लागि उपयोग गर्ने भन्दै राजनीतिमा होमिएका छन् । जसअनुसार नै उनी आगामी निर्वाचनमा उज्यालो नेपाल पार्टीका तर्फबाट कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । ऊर्जा, जलवायु र दिगो विकासमा आर्जन गरेको अनुभवलाई संसदमार्फत राज्यको नीति निर्माणसँग जोड्ने लक्ष्य राखेको गुरुङ बताउछन् ।  

को हुन् कुशल ?

कुशल मुख्यत न्यून कार्बन क्षेत्रका विज्ञका रूपमा परिचित छन्। कुशल गुरुङसँग एशिया र युरोपका विभिन्न मुलुकमा १५ वर्षभन्दा बढी उर्जा क्षेत्रमा काम गरेको अनुभव छ । नवीकरणीय ऊर्जा र जलवायु परिवर्तन क्षेत्रमा कार्यरत संस्था विन्डपावर नेपाल प्रालिका संस्थापक प्रमुख कार्यकारी अधिकृत रहेका उनी गण्डकी ऊर्जाका सह संस्थापक तथा निर्देशक पनि हुन्। गण्डकी ऊर्जाले पोखरा ३२ गगनगौंडामा जैविक फोहरलाई प्रशोधन गरी संपीडित जैवग्यास र जैविक मल उत्पादन गर्दै आएको छ।

यसका अतिरिक्त उनले मुथा एग्रो नामक हाइड्रोपोनिक्स प्रविधिमा आधारित भर्टिकल कृषि फार्म पनि सञ्चालन गरिरहेका छन्। अन्तर्राष्ट्रिय स्तरमा पनि कुशलको पहिचान स्थापित छ। सन् २०२४ मा संयुक्त राज्य अमेरिकास्थित एस्पेन इन्स्टिच्युटले उनलाई एस्पेन आइडियाज फेस्टिभल फेलोका रूपमा छनोट गरेको थियो । 

त्यसअघि सन् २०१७ मा उनी एसिया सोसाइटी अमेरिकाद्वारा एसिया ट्वान्टी वान यङ लिडरमध्ये एकका रूपमा चयन भएका थिए। युनिभर्सिटी अफ एडिनबर्ग बिजनेस स्कुलले पनि आफ्नो सय वर्षको इतिहासमा उत्कृष्ट सय पूर्वविद्यार्थीमध्ये एकका रूपमा उनलाई सम्मान गर्‍यो। उनले संयुक्त अधिराज्यको युनिभर्सिटी अफ एडिनबर्गबाट कार्बन व्यवस्थापनमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट वातावरण विज्ञानमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्। 

कुशल हाल नवीकरणीय ऊर्जा परिसंघ नेपालका अध्यक्ष छन्। यो परिसंघ नेपालमा नवीकरणीय ऊर्जा क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाहरूको छाता संगठन हो। यसअघि उनी नेपाल सरकारको वातावरण संरक्षण परिषद्का विज्ञ सदस्य रहे। परिषद् प्रधानमन्त्रीको अध्यक्षतामा गठित हुन्छ। उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सञ्चालक समिति सदस्यका रूपमा पनि काम गरे।

कुशलको उम्मेदवारी किन ? 

ऊर्जा क्षेत्रमा काम गर्ने क्रममा नीति, नेतृत्व र निर्णय सही स्थानमा पुगे परिणाम सम्भव हुने निष्कर्षमा आफू पुगेको कुशल बताउँछन्। यही अनुभवले राजनीतितर्फ आउने निर्णय गर्न प्रेरित गरेको उनको भनाइ छ। ‘राइट म्यान इन राइट प्लेस हुँदा कुलमान घिसिङले नेपाललाई उज्यालो बनाए,’ उनी भन्छन्, ‘अब चारैतिर र सबै क्षेत्रमा उज्यालो ल्याउन राजनीतिमा होमिएको हुँ।’ नीति निर्माणका तहमा बसेर काम गर्ने अनुभवले देशमा सम्भावना र कार्यान्वयनबीच ठूलो दूरी रहेको उनले महसुस गरेको बताए। ‘ऊर्जा, जलवायु र विकासका क्षेत्रमा नेपालसँग अपार सम्भावना छ,’ उनी भन्छन्, ‘तर निर्णय गर्ने ठाउँमा सही व्यक्ति पुग्न नसक्दा ती सम्भावना खेर गइरहेका छन्।’ यही अवस्थालाई बदल्न राजनीतिमा प्रवेश गरेको उनको भनाइ छ।

केन्द्रमा कास्की 

कुशलले आफ्नो राजनीतिक एजेण्डमा प्रमुखतः कास्कीलाई नै केन्द्र बनाएका छन् । उनले कास्की क्षेत्र नम्बर २ र पोखराका मुद्दालाई राष्ट्रिय नीतिसँग जोडेर हेर्ने दृष्टिकोण राजनीतिक एजेन्डामा देखिन्छ। पर्यटन, ऊर्जा, वातावरण र रोजगारी एक अर्कासँग गहिरो रूपमा गाँसिएको विषय भएको उनी बताउँछन्। ‘पोखरा केवल ताल र हिमालको सहर मात्र होइन,’ उनी भन्छन्, ‘यो नेपालको पर्यटन, अर्थतन्त्र र अन्तर्राष्ट्रिय प्रतिष्ठासँग जोडिएको रणनीतिक सम्पत्ति हो।’ फेवाताललगायत पोखराका तालहरूको संरक्षणलाई उनी स्थानीय मुद्दा मात्र नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय जिम्मेवारीको विषय मान्छन्।

‘ताल जोगाउनु भनेको पर्यटन जोगाउनु मात्र होइन,’ उनी भन्छन्, ‘यो नेपालको पहिचान र भविष्य जोगाउने विषय हो।’ आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकांक्षा भन्दा पनि प्रणाली परिवर्तनको प्रयासका रूपमा कुशल व्याख्या गर्छन्। ‘मैले ऊर्जामा देखेको उज्यालो अब शासन, अर्थतन्त्र र समाजका सबै क्षेत्रमा फैलिनुपर्छ,’ उनी भन्छन्, ‘त्यसका लागि संसदबाट जिम्मेवारीपूर्वक काम गर्न चाहन्छु।’

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update