काठमाडौं । फागुन २१ को निर्वाचन आउन ३६ दिन मात्रै बाँकी छ । देशभरि नै उम्मेदवारहरु निर्वाचनको तयारीमा होमिएका छन् । उनीहरु यतिबेला मतदाताको घरआँगनमा जानेदेखि सार्वजनिक कार्यक्रममार्फत चहल पहल बढाइरहेका छन् । तर अघिल्लो निर्वाचन भन्दा यसपटक चहलपहलमा कमी देखिएको छ । नागरिकमा निर्वाचनप्रति उत्साह पनि कम नै देखिएको छ । राजधानी भित्रका नागरिकले पानीको समस्यालाई मुख्य समस्या मानेका छन् । यस्तोमा काठमाडौँ निर्वाचन क्षेत्र नं ५ का मतदाताको समस्या के छन् ? उम्मेदवार के भन्छन् ?
काठमाडौँ पाँचको अवस्था कस्तो ?
काठमाडौँ क्षेत्र नं ५ मा २०४८ यताका निर्वाचनको परिणाम हेर्ने हो भने नेकपा एमाले र नेपाली कांग्रेसकै उम्मेदवारले बाजी मारेका छन् । ०४८ मा स्वर्गीय मदन भण्डारीले बाजी मारेको यो क्षेत्र पछिल्लो पटक कांग्रेस महामन्त्री प्रदीप पौडेलको पोल्टामा पर्याे ।
त्यसअघिका दुई निर्वाचनमा विजयी भएका एमालेका ईश्वर पोखरेल २०७९ मा पराजित भए । तर यसपटक फागुन २१ को चुनावमा कमब्याक गर्ने रणनीतिमा छन् । त्यस्तै यही क्षेत्रबाट २०७९ को चुनावमा विजयी भएका पौडेलले १५२६९ मत प्राप्त गरेका थिए भने पराजित पोखरेलले १०१९० मत प्राप्त गरेका थिए ।
कुल ७८ हजार ११४ मतदाता रहेको यस क्षेत्रमा काठमाडौँ महानगर, टोखा नगरपालिका र बुढानीलकण्ठ गरी तीन पालिकाका १५ वडा रहेका छन् । यो क्षेत्रमा काठमाडौँ महानगरपालिकाको २, ३, ४, ५, बूढानीलकण्ठ नगरपालिकाको ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाको २, ३, ४, ५, ६, ७ वडा रहेका छन् ।
पौडेल र पोखरेल सहित २७ जनाको उम्मेदवारी रहेको यहाँ रास्वपाबाट सस्मित पोखरेल, राप्रपाबाट कमल थापा, उनेपाबाट श्रीराम गुरुङ, प्रलोपाबाट निशा अधिकारी सहितका उम्मेदवार रहेका छन् । जसमध्ये एमालेका ईश्वर, कांग्रेसका प्रदिन र रास्वपाका सस्मितबीच कडा प्रतिष्पर्धा हुने आंकलन गर्न सकिन्छ ।
