महोत्तरी । आसन्न निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा र निर्वाचनको माहोल नियन्त्रित राख्न सुरक्षा निकायले अनुगमन बढ़ाएको छ । संवेदनशील ठाउँहरुको पहिचान गरि सुरक्षा व्यवस्था दुरुस्त राख्ने तयारीमा सुरक्षा निकाय जुटेको छ । सोही क्रममा बुधवार नेपाल सरकारका परराष्ट्र मन्त्री सहित सुरक्षा निकायहरुले भारतीय सीमाक्षेत्र नजिक रहेको मतदान स्थलहरुको अनुगमन गरेको छ ।
जेनजी आन्दोलनपछि देशमा उठेको नौलों परिवर्तनको लहर र निर्वाचनमा सुरक्षा ग्यारेण्टीमा सबैको ध्यान केन्द्रित रहेको छ । निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा र निर्वाचनको माहोल नियन्त्रित राख्न दक्षिणी छिमेकी राष्ट्र भारतसँग जोडिएको सीमावर्ती जिल्लाहरुमा सुरक्षा निगरानी बढाएको छ ।
सीमावर्ती जिल्लाहरु मध्ये महोत्तरीमा पनि उच्च सतर्कता बढाएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरीमा दुई लाख ३५ हजार १८३ पुरुष, एक लाख ९२ हजार ९७ महिला र अन्य २ गरी कुल चार लाख ३१ हजार २८२ मतदाता छन् । चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा २५८ मतदानस्थल र ५३६ मतदान केन्द्र निर्धारण गरिएको छ ।
महोत्तरीको अधिकांश निर्वाचन क्षेत्र अति संवेदनशिल सूचीमा छ । जिल्लाको १६३ मतदानस्थललाई अतिसंवेदनशील, ८९ लाई संवेदनशील र ६ लाई सामान्य सुरक्षा अवस्थाको सूचीमा राखिएको छ ।
सीमाक्षेत्र नजिक रहेका मतदान स्थलहरुको स्थलगत निरीक्षण गर्दै उक्त मतदान स्थलहरु सहजै व्यवस्थापन गर्न सकिने तथा आसन्न निर्वाचनलाई भयरहित बनाउन स्थानीय जनप्रतिनिधिहरु र सुरक्षा निकायको समान भुमिका हुनुपर्नेमा सरकारको जोड छ ।
यता आसन्न निर्वाचनलाई लिएर वृद्ध तथा युवा मतदातामा उत्साह देखिएको छ । संवेदनशील र अति संवेदनशील मतदान स्थलमा मत दिदै आएका मतदाताले निर्वाचन स्थलहरुको भौतिक अवस्था सुदृढ़ नभएपनि हालसम्म शान्तिपूर्ण मतदान प्रक्रिया हुँदै आएको बताएका छन् ।
महोत्तरीको क्षेत्र नम्बर १ मा ५६ हजार २२२ पुरुष, ४९ हजार ७२२ महिला र अन्य दुई गरी कुल एक लाख पाँच हजार ६४६ मतदाता रहेका छन् । उनीहरूलाई मतदान गर्न ५९ मतदानस्थल र १२० मतदान केन्द्र व्यवस्था गरिएको छ ।
क्षेत्र नम्बर २ मा ५८ हजार ८६१ पुरुष र ४८ हजार ७३३ महिला गरी कुल एक लाख सात हजार ५९४ मतदाता रहेकोमा उनीहरूका लागि ६२ मतदानस्थल तथा १३३ मतदान केन्द्र निर्धारण गरिएको छ ।
यस्तै, क्षेत्र नम्बर ३ मा ५९ हजार ९५० पुरुष तथा ५० हजार ८८६ महिला गरी कुल एक लाख १० जार ४३६ मतदाता रहेका छन्। यहाँ ७७ मतदानस्थल र १४२ मतदान केन्द्र राखिएको छ ।
क्षेत्र नम्बर ४ मा ६० हजार १५० पुरुष र ४७ हजार ७५६ महिला गरी कुल एक लाख ७ हजार ६०६ मतादाता रहेकोमा ६० मतदानस्थल १३१ मतदान केन्द्र निर्धारण गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । महोत्तरीमा दलगत र स्वतन्त्र गरी कुल १ सय ३९ उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् ।
