News 24 Television
पुरानो विरासत फर्काउन गगनलाई कति सहज ?

सर्लाही । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा यस पटक लामो समयदेखि निर्वाचन लड्दै आएको क्षेत्र काठमाडौं–४ छाडेर मधेश झरेका छन् । उनी आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको प्रतिष्पर्धाका लागि काठमाडौं–४ छाडेर मधेश प्रदेश अन्र्तगत  सर्लाही–क्षेत्र नं ४ मा पुगेका हुन् । तर कांग्रेस सभापति थापासँग कांग्रेसकै पुराना अनुभवी नेता डा. अमरेशकुमार सिंह प्रतिष्पर्धामा छन् । सिंह यस पटक रास्वपाको टिकटबाट उम्मेदवार बन्दा सर्लाही ४ सबैको चासोको निर्वाचन क्षेत्र बन्न पुगेको छ । 

सर्लाहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तर्गतको ४ नम्बर क्षेत्रमा बरहथवा, गोडैता र बलरा नगरपालिका तथा बसबरिया, विष्णु, धनकौल र रामनगर गाउँपालिका पर्दछन् । जिल्ला निर्वाचन कार्यालय सर्लाहीको पछिल्लो तथ्याङ्क अनुसार २०७९ को तुलनामा यसपटक मतदाताको संख्या ७.५७ प्रतिशतले वृद्धि भएको छ । अर्थात्, ८ हजार ५ सय १८ नयाँ मतदाता थपिएसँगै अब सर्लाही ४ मा कुल मतदाता संख्या १ लाख २१ हजार १२ पुगेको छ । यस क्षेत्रमा कुल ५१ वडा रहेका छन् । 

निर्वाचन आयोगका अनुसार यस क्षेत्रमा कुल मतदाता संख्या १ लाख २१ हजार १२ रहेको छ । मतदानका लागि ८१ मतदान स्थल र १ सय ५४ मतदान केन्द्र तोकिएका छन् । यहाँ रहेका ८१ वटै मतदान स्थल सुरक्षाको दृष्टिले ‘अति संवेदनशील’ सूचीमा परेका छन् । सीमावर्ती क्षेत्र, विगतका चुनावी अनुभव र बहुकोणीय प्रतिस्पर्धाका कारण सुरक्षालाई प्रमुख चुनौतीका रूपमा हेरिएको छ । सर्लाही–४ को निर्वाचन यस पटक केवल स्थानीय प्रतिस्पर्धामा सीमित छैन । 

कांग्रेसको परम्परागत विरासत जोगाउने प्रयास, पार्टी नेतृत्वको प्रतिष्ठा, बागी राजनीतिबाट उदाएका अमरेश सिंहको निरन्तर प्रभाव र नयाँ राजनीतिक शक्तिको उपस्थिति—यी सबै पक्षले यो निर्वाचन विशेष बनेको छ । 

नेपाली कांग्रेसका सभापति तथा भावी प्रधानमन्त्रीका उम्मेदवार गगनकुमार थापाको उम्मेदवारीका कारण सिंगो देशको ध्यान अहिले सर्लाही क्षेत्र नम्बर ४ मा केन्द्रित भएको छ । भारतको सीमासँग जोडिएका अधिकांश गाउँ पर्ने यो निर्वाचन क्षेत्रलाई नेपाली कांग्रेसको पुरानो गढ मानिन्छ । एकातर्फ गगन र अर्कातर्फ सो क्षेत्रबाट लगातार चुनाव जित्दै आएका डा. अमरेश कुमार सिंहको प्रतिस्पर्धा छ ।  

जेनजी आन्दोलनपछिको तरल राजनीतिक अवस्थामा गगनले एक्कासि आफ्नो निर्वाचन क्षेत्र बदल्नुलाई कतिपयले चुनौतीका रूपमा लिएका छन् भने कतिपयले काठमाडौं असुरक्षित भएपछि सुरक्षित क्षेत्र खोज्दै मधेस झरेको टिप्पणी पनि गरेका छन् । थापाले माघ १२ गतेदेखि चुनावी अभियान सुरु गरेका छन् । उनले पार्टी नेतृत्वका साथै सत्ता राजनीतिलाई मधेससँग जोड्न खोजेका छन् । 

गगनको आगमनलाई भने कांग्रेसले नै ग्रीन जोनमा राख्न सकिरहेको छैन । जोखिम मोलेर मधेस झरेका गगनले मधेसको शिक्षा सुधारदेखि युवाको बेरोजगारीको समस्यालाई मुख्य एजेण्डा बनाएका छन् । 

अर्कोतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को टिकट पाएका अमरेश कुमार सिंहले यसपटक आफ्नो जित झनै सहज भएको बताइरहेका छन् । यसअघि एक्लै स्वतन्त्र रुपमै जितेका सिंहले यतिबेला ठूलै पार्टीको साथ पाएको भन्दै उत्साहित छन् । 

अझ मधेसी समुदायका बालेन भावी प्रधानमन्त्रीका रुपमा रास्वपाले अघि सारेकै कारण पनि सिंहलाई झनै प्लस भएको छ । दोस्रो संविधानसभा निर्वाचन तथा २०७४ मा कांग्रेसबाटै निर्वाचित भएका उनी ०७९ कांग्रेसको बागी उम्मेदवार भएर बाजी मारेका थिए । आफू निरन्त यहि क्षेत्रका जनताकै साथमा रहेकालेले बाहिरबाट आउनेलाई जनताले नपात्याउने सिंहको तर्क छ । 

२०७९ मा सिंहले २० हजार १७ मत ल्याएर चुनाव जित्दा कांग्रेसका नागेन्द्रकुमार यादवले १८ हजार २५३ मत प्राप्त गरेका थिए । शिवपूजन यादवकी छोरी मधुमालाकुमारी यादवले स्वतन्त्र रुपमा नै १४ हजार ६२२ मत ल्याएकी थिइन् ।  

सर्लाही क्षेत्र नम्बर ४ कांग्रेसको बलियो आधार

सर्लाही क्षेत्र नम्बर ४ लाई २०४८ सालको संसदीय निर्वाचनदेखि नै नेपाली कांग्रेसको बलियो आधार क्षेत्रका रूपमा लिइँदै आएको छ । २०४८ सालको आम निर्वाचनमा कांग्रेसका तर्फबाट नेता महन्थ ठाकुर निर्वाचित भएका थिए । त्यसपछिको मध्यावधि निर्वाचनमा पनि ठाकुरले नै विजय हासिल गर्दै कांग्रेसको पकड कायम राख्न सफल भएका थिए । तर २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा यो क्षेत्रको राजनीतिक समीकरणमा बदलाव आयो । 

महन्थ ठाकुरले कांग्रेस परित्याग गरी मधेशवादी राजनीतिक धार समाए । उनी तराई–मधेश लोकतान्त्रिक पार्टी स्थापना गरेर निर्वाचनमा होमिए । कांग्रेसका तर्फबाट अमरेश कुमार सिंह उम्मेदवार बनेका थिए । 

त्यही निर्वाचनमा मधेशी जनअधिकार फोरमका तर्फबाट उम्मेदवार बनेका शिवपुजन रायले ठाकुर र सिंह दुवैलाई पराजित गर्दै कांग्रेसको लामो समयदेखिको जितमा ब्रेक लगाएका थिए । 

पहिलो संविधानसभा निर्वाचनमा गुमेको सिट कांग्रेसले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पुनः फिर्ता ल्यायो । उक्त निर्वाचनमा कांग्रेसका उम्मेदवार अमरेश कुमार सिंहले महन्थ ठाकुर र शिवपुजन रायलाई पराजित गर्दै विजय हासिल गरेका थिए । यस जितसँगै सर्लाही–४ पुनः कांग्रेसको खातामा फर्किएको थियो । 

अहिले पनि प्रधानमन्त्रीको सम्भावित उम्मेदवार, पुरानो गढ, बलियो प्रतिद्वन्द्वी र बहुकोणीय प्रतिस्पर्धा यी सबै कारणले सर्लाही ४ को चुनाव केवल स्थानीय प्रतिष्पर्धा मात्र नभई, राष्ट्रिय राजनीतिको रूपमा रहन पुगेको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update