News 24 Television
फागुन २१ को इपीसेन्टरः मधेशबाटै प्रधानमन्त्री बन्ने पक्का !

काठमाडौं । झापासंगै अहिले सबै भन्दा बढी मधेश प्रदेशको भित्रको राजनीतिको देशभर चर्चा छ । रास्वपाले भावि प्रधानमन्त्रीका रुपमा अगाडि सारेका बालेन शाहले पूख्र्याैली थलो र कांग्रेस सभापति गगन थापाले चुनावी उम्मेदवारका रुपमा मधेशलाई प्रतिनिधित्व गर्ने भनेपछि अहिले मधेशको राजनीति चर्किएको हो । 

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा देशको राजनीतिक राप र ताप मधेश प्रदेशमा केन्द्रित भएको छ । ३२ वटा प्रत्यक्ष निर्वाचन क्षेत्र रहेको मधेश प्रदेश यसपटक पनि सत्ताको साँचो कसको हातमा पुग्छ भन्ने निक्र्योल गर्ने निर्णायक इपिसेन्टर बन्ने देखिएको छ । 

एकातिर पुराना र स्थापित दलहरू आफ्नो साख जोगाउने दाउमा छन् भने अर्कोतिर उदाउँदो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेश कार्डका रुपमा बालेनमार्फत ठूला दललाई कडा चुनौती दिने संकेत गरेको छ ।

अंकगणितमा मधेश 

२०७९ सालको निर्वाचनको परिणामलाई फर्केर हेर्दा मधेशमा नेकपा एमाले प्रत्यक्षतर्फ ९ सिटसहित पहिलो दल बनेको थियो । तर, लोकप्रिय मत अर्थात् समानुपातिकतर्फको नतिजाले अर्कै चित्र देखाउँछ । समानुपातिकतर्फ नेपाली कांग्रेस ४ लाख ३४ हजार ९ सय ७१ मतका साथ पहिलो स्थानमा छ भने एमाले ३ लाख ७१ हजार ७ सय ९ मतसहित दोस्रो स्थानमा छ । 

मधेश केन्द्रित राजनीति गर्ने जनता समाजवादी पार्टी (जसपा) २ लाख ९८ हजार ७ सय ४४ मतसहित तेस्रो र सीके राउत नेतृत्वको जनमत पार्टी २ लाख ९६ हजार ४ सय ६८ मतका साथ चौथो स्थानमा रहेका थिए । 

२०७९ को निर्वाचनको यो तथ्याङ्कलाई आधार मान्दा मधेशमा कांग्रेस र एमालेको सांगठनिक आधार अझै पनि मजबुत रहेको देखिन्छ भने मधेश केन्द्रित दलहरूको प्रभाव पनि कम आँक्न सकिन्न । 

गत निर्वाचनमा समानुपातिक मतलाई आधार मान्दा ८ औं स्थानमा खुम्चिएको रास्वपाले ७२ हजार ९ सय ३५ मत मात्रै प्राप्त गरेको थियो र प्रत्यक्षतर्फ त निल नै भएको थियो । तर, आगामी फागुन २१ को निर्वाचनका लागि रास्वपाले जुन रणनीतिक मुभ लिएको छ, त्यसले पुराना दलहरूमा ढ्याङ्ग्रो ठोकिएको देखिन्छ ।

बालेन कार्ड र मधेशको छोरा नाराको प्रभाव

रास्वपाले यसपटक काठमाडौंको मेयरका रूपमा चर्चामा रहेका बालेन शाहलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्दै मधेशमा आक्रामक चुनावी अभियान थालेको छ । मधेशको बेटा प्रधानमन्त्री भन्ने भावनात्मक नाराले मधेशका गाउँ–बस्तीमा नयाँ तरंग पैदा गरेको छ । 

काठमाडौंमा मेयर जितेर काम गरिरहेका बालेनको लोकप्रियतालाई रास्वपाले मधेशको सेन्टिमेन्टसँग जोड्न खोजेको देखिन्छ । यसअघि माओवादी केन्द्रले बाबुराम भट्टराई नेतृत्वको नेसपाका नेता महेन्द्रराय यादवलाई आफ्नो चिह्नमा उठाएर मधेशमा आफ्नो उपस्थिति सुरक्षित राखेको थियो । तर, यसपटक रास्वपाले सिधै प्रधानमन्त्रीको दाबेदार मधेशबाटै प्रस्तुत गर्दा त्यसको प्रत्यक्ष असर जसपा, लोसपा र जनमत पार्टी जस्ता मधेश केन्द्रित दलहरूको भोट बैंकमा पर्न सक्ने मधेशको राजनीतिका जानाकारवालहरुको विश्लेषण छ ।

कांग्रेसको काउण्टर 

रास्वपाको बढ्दो प्रभाव र बालेन शाहको चर्चालाई रोक्न नेपाली कांग्रेसले पार्टी सभापति गगन थापालाई मधेशमा उतारेको छ । काठमाडौं क्षेत्र नम्बर ४ लाई छाडेर सर्लाही झरेका थापा आफु सर्लाही ४ को उम्मेदवार हुनुका पछाडि मधेशको न्याय र विकास रहेको बताउँदै आएका छन् । केही दिन अगाडी थापाले चटके नेता नभएको भन्दै मधेशको भाषा सिकेर यहाँको माटोमा भिज्न आएको दाबी गरेका थिए ।

उनले कांग्रेसको जननी नै मधेश भएको जिकिर गर्दै एकछिन आएर हात हल्लाउने र फोटो खिचाउने नेता आफु नभएको बताएका थिए । उनले मधेशको बिकाशको एजेण्डा सहित आफु सर्लाही झरेको बताउँदै मधेशका नागरिकले कांग्रेसलाई मतदान गर्नु पर्ने बताएका थिए । 

गत निर्वाचनको समानुपातिक मतको विश्लेषण

गत निर्वाचनको समानुपातिक मतको विश्लेषण गर्दा निर्वाचनको दृष्य अझै फरक देखिन्छ । समानुपातिक मतको विश्लेषण हेरौं । 

१ नेपाली कांग्रेस : प्रत्यक्षमा दोस्रो स्थानमा रहेको कांग्रेस समानुपातिक तर्फ भने पहिलो बनेको थियो । कांग्रेसले समानुपातिक मतमा ४ लाख ३४ हजार ९ सय ७१ मत प्राप्त ग¥यो ।
 
२ जसपा नेपाल : साविकको जसपाको २ लाख ९८ हजार ७ सय ४४ र लोसपाको १ लाख ९ हजार ३ सय ९० मत जोड्दा यो शक्तिको ४ लाख ८ हजार १ सय ३४ मत पुग्छ । यो मतलाई आधार मान्ने हो भने जसपा नेपाल पनि मधेशमा नयाँ शक्ति बनिरहेको देखिन्छ । 

३ नेकपा एमाले : मधेशको प्रत्यक्ष ३२ सिट मध्ये मधेशमा ९ सिट जितेर पहिलो बनेता पनि समानुपातिक मतमा भने एमाले दोस्रो थियो । एमालेले समाुनपातिकमा ३ लाख ७१ हजार ७ सय १ मत मात्रै प्राप्त गरेको थियो । 

४ जनमत : २०७९ सालको समानुपातिक तर्फको मतको अवस्था हेर्दा डा. सिके राउत नेतृत्वको जनमत पार्टीले २ लाख ९६ हजार ४ सय ६८ मत ल्याएको थियो । यो मतलाई सिके राउतले पकड कायमै राख्नका लागि पनि चुनौति नै देखिन्छ । 

४ नेकपाको अवस्था : माओवादी केन्द्र सहित १७ वाम घटक मिलेर अहिले नेपाली कम्युनिष्ट पार्टी बनेको छ । मधेमा माओवादी केन्द्रको मत १ लाख २५ हजार ६७ र नेकपा एसको मत १ लाख ७ हजार ८४ लाई जोड्दा २ लाख ३२ हजार १ सय ५१ हुन जान्छ । 

रास्वपाका चुनौती 

गत निर्वाचनको समानुपातिक मत हेर्ने हो भने रास्वपाको जम्मा ७२ हजार ९ सय ३५ मत छ । तर बालेन शाहलाई प्रधानमन्त्री घोषणा गरेर अगाडी बढेपछि देशका अन्य भागजस्तै मधेशमा पनि रास्वपाको लहर केही देखिएको छ । तर चुनौति पनि उत्तिकै छ । जिल्ला तहमा संगठन विस्तार भए पनि पालिका र वडा तहसम्म रास्वपाको सांगठन बलियो गरी निर्माण भै सकेको अवस्था छैन । 

निर्वाचनमा ह्वीम र सेन्टिमेन्टले काम गरेता पनि त्यो आफैमा प्रयाप्त हुँदैन । बुथ जोगाउन र मतदातालाई घरदैलोबाट मतदान केन्द्रसम्म पु¥याउन सक्नु पर्छ त्यसका लागि बलियो संगठन चाहिन्छ । 

यहाँनिर कांग्रेस, एमाले र जसपा जस्ता पुराना दलहरू रास्वपाभन्दा धेरै अगाडि देखिन्छन् । तर २०७९ को तुलनामा आगामी फागुन २१ को निर्वाचन परिणाम निकै फरक आउने अनुमान गर्न भने सकिन्छ । 

ओलीको बोली, उल्टै ब्याकफायर ! 

मधेशमा अझैपनि राज्यबाट उपेक्षित छौ भन्ने भावना प्रवल छ । यस्तोमा एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेतले माहोल थप भड्काउने काम गरिरहेका छन् । बालेनले जनकपुरमा गरेको भाषणमा मधेशको छौरा शव्दको अर्थ नबुझी बस्नेतले गरेको खिसिट्युरी उनलाई मात्रै होइन, एमालेकै लागि भारी बन्यो । 

बस्नेतले हत्तपत्त माफी नै मागे । मधेशलाई बिच्काउने काम फेरि अध्यक्ष ओलीले नै गरे । उनले झापा ५ मा बालेनभन्दा आफु काविल छु भन्ने देखाउन बोलेको कुराले मधेशवासी आक्रोशित बने । 

यो आक्रोश अझ मधेशमा सेलाइ सकेको छैन भने बालेन र रास्वपाको तरंग झनझन फैलिदै गइरहेको छ । त्यसैले पुराना दलप्रतिको वितृष्णा र नयाँ शक्तिको रुपमा रास्वपाको उदयले मधेशको राजनीति नयाँ मोडमा नपुग्ला भन्न पनि सकिन्न । 

मधेशका जनताले यसपटक मधेशको छोराको भावनात्मक नारालाई पत्याउँछन् या गगन थापाको विकासको एजेण्डालाई ? वा अरु दललाई यो त चुनावी परिणामले नै बताउनेछ । तर, यति कुरा निश्चित छ कि, मधेश यसपटक नेपालको सत्ता राजनीतिको सबैभन्दा ठूलो इपिसेन्टर बनेको छ । 

प्रकाशित मिति: शनिबार, माघ १७, २०८२  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update