News 24 Television
शीर्ष नेताको प्रश्नमा बालेन, जवाफ नदिई मौनतामै रम्दा जनता पनि अलमलमा ?

काठमाडौं । स्थापित राजनीति दलका नेताहरुले श्रृङ्खलाबद्ध हिसाबले राष्ट्रिय स्वतन्त्र पार्टीमाथि हमला शुरु गरेका छन् । पछिल्लो समय प्रधानमन्त्रीको उम्मेदवार भनिएका रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह ’बालेन’विरुद्ध राजनीतिक दलका नेताहरुले जेनजी आन्दोलनको आसपास रहेर गम्भीर टिप्पणी गरिरहेका छन् । यी टिप्पणीमा सामाजिक सञ्जालबाट जवाफ दिनेबाहेक मौनता साँधेका बालेनविरुद्ध किन यस्ता टिप्पणी शुरु भए ?

फागुन २१ का लागि हुन लागेको प्रतिनिधिसभाको चुनाव संघारमा छ । चुनाव नहुने शंका पनि चलिरहेका छन् । यस्तोमा स्थापित राजनीतिक दलका नेताहरुले भने योजना बनाएरै जसरी राष्ट्रिय स्वतन्त्र पार्टीमाथि प्रहार गरिरहेका छन् । यसको केन्द्रमा रवि लामिछाने नभई बालेन्द्र साह परेका छन् । प्रधानमन्त्रीको रुपमा आफूलाई उभ्याएका बालेन पूर्वदेखि सुदूरपश्चिममा यात्रा सकेर काठमाडौं फर्किएका छन् । पूर्वका केहि स्थानमा छिटफुट अभिव्यक्ति दिएका बालेनले सुदूरपश्विममा गएर कुनै सार्वजनिक आह्वान गरेनन् । 

फिरन्ते जसरी घुमेर फर्किएपनि उनले आफ्नो चुनावी शैलीलाई सामाजिक सञ्जालका पोस्ट र काना खाएको विषयलाई नै विषयवस्तु बनाइदिए । यस्तो शैलीका कारण बालेनलाई जनताले नै चिन्न नसक्ने स्थिति बनिरहेको बेला स्थापित दलका नेताहरुले भने अनेक टिप्पणी गरिरहेका छन् ।

यस्तो टिप्पणी गर्नेमा एमाले अन्य दलभन्दा अघि देखिन्छ । किनकी बालेनले ओलीलाई नै चुनाति दिन झापा ५ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । तर, एमाले नेताहरुले भने बालेनलाई अनेक प्रश्नसहितका खरो टिप्पणी गरिरहेका छन् । 

एमालेले संगठित रुपमै बालेनविरुद्ध प्रहार गरिरहेको छ । यस्तो अवस्थामा नयाँ पुरानाको भाष्यमा पनि कांग्रेसले केहि नयाँ सन्देश दिने प्रयास गरिरहेको छ । कांग्रेस सभापति गगन थापाले नयाँ भन्दै पात्र छान्नेकी एजेण्डा र देश बनाउने खाका भन्दै प्रश्न गरेका छन् । 

उसोत; रास्वपा रवि लामिछानेको नेतृत्वमा चुनावमा होमिएपनि रवि गुपचुप बन्न पुगेका छन् । रविको छवीलाई बालेनले छायाँमा पारिदिएका छन् । रविको रास्वपाभित्रै चर्चा सेलाएको छ। 

बालेनले रास्वपाका उम्मेदवारलाई लाइन लगाएर भेट्ने र फोटो खिचाउनेबाहेक काम नगरेपनि रवि के गर्दैछन भन्ने विषय चासोमा छ । केहिले त बालेनको छायाँमा रवि परिसकेको समेत भन्न थालेका छन् । यद्यपी रास्वपा यतिबेला पुराना र स्थापित दलको निशानामा छ भने रास्वपाले देश निर्माण गर्ने खाका, चुनावि प्रतिबद्धतापत्रदेखि विभिन्न विषयमा जानकारी भने माग्न थालिएको छ ।

प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update