काठमाडौं । ११ वटा जिल्ला रहेको गण्डकी प्रदेशमा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा १८ निर्वाचन क्षेत्र छ । २०७४ सालको निर्वाचनमा एमालेले बहुमत क्षेत्रमा जित हासिल गरेपनि २०७९ को निर्वाचनमा प्रत्यक्ष तर्फ कांग्रेसले बहुमत निर्वाचन क्षेत्रमा आफ्नो पक्षमा नतिजा निकालेको थियो । फागुन २१ गतेको चुनावी सरगर्मी बढ्दो क्रममा छ । रास्वपा लगायतका नयाँ दलहरुको उदयका बीच आशन्न निर्वाचनमा के होला त ?
११ वटा जिल्ला रहेको गण्डकी प्रदेशमा प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष तर्फ १८ वटा निर्वाचन क्षेत्र छ । २०७९ को निर्वाचनलाई हेर्ने हो भने प्रत्यक्ष तर्फ १० सिट जितेर नेपाली कांग्रेस पहिलो भएता पनि समानुपातिक मतमा भने नेकपा एमालेको कांग्रेसको भन्दा बढी देखिन्छ ।
समानुपातिक मतमा सबैभन्दा बढी ल्याएको एमालेले प्रत्यक्षमा ५ सिट जित निकाल्दा तत्कालिन माओवादी केन्द्रले २ र जनमोर्चाले एक सिटमा जित निकालेका थिए । रास्वपाले २०७९ को निर्वाचनमा जित निकाल्न नसकेपनि तनहुँ १ बाट जितेका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि भएको उप निर्वाचनमा डा. स्वर्णीम वाग्लेले जितेपछि रास्वपाले गण्डकीमा आफ्नो उपस्थिती सुरक्षित गरेको थियो ।
२०७९ को समानुपातिक तर्फको मतअनुसार गण्डकीमा ३ लाख २४ हजार ८ सय ८२ मत ल्याएर नेकपा एमाले पहिलो ३ लाख १२ हजार ७ सय २० मत ल्याएर कांग्रेस दोस्रो स्थानमा थियो । गण्डकीमा १ लाख ७७ हजार २५ मत ल्याएर रास्वपा तेस्रो हुँदा तात्कालिन माओवादी केन्द्रले १ लाख ८ हजार ४ सय ६७ मत मात्रै ल्याएर सामानुपातिकतर्फ चौंथो नम्बरको सूचीमा पुगेको थियो ।
माओवादी पछि ३८ हजार ८ सय ३४ मत ल्याएर राप्रपा पाँचौं हुदाँ प्रत्यक्ष तर्फ १ सिट जितेको राष्ट्रि«य जनमोर्चाले समानुपातिकतर्फ १० हजार १ सय ९९ मत मात्रै ल्याएको थियो । एमालेबाट फुटेको माधव नेपाल नेतृत्वको तत्कालिन नेकपा एसले त १० हजार मत पनि ल्याउन सकेको थिएन ।
यहि तथ्यांकलाई आधार मान्ने हो भने यो पटक गण्डकी प्रदेशको ११ जिल्ला मध्ये गोर्खा, म्याग्दी र बागलुङमा कांग्रेस, एमाले, रास्वपा र नेपाली कम्युनिष्ट पार्टीबीच प्रतिस्पर्धा देखिन्छ भने बाँकी ७ जिल्लामा कांग्रेस, एमाले र रास्वापाबीच नै मुख्य प्रतिस्पर्धा हुने प्रारम्भिक तथ्यांक देखिन्छ ।
२०७९ को प्रत्यक्ष र समानुपातिक तथ्यांक अनुसार ११ जिल्लाको अवस्था
१ गोर्खा : दुई निर्वाचन रहेको गोर्खामा गत निर्वाचनमा गोर्खा १ बाट कांग्रेसका राजेन्द्र बजगाईंले ३३ हजार ४ सय २८ मत ल्याउँदै जित निकालेका थिए । गोर्खा दुईमा भने तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बाजि मारेका थिए ।
यो जिल्लामा समाुनपातिक तर्फको तथ्यांक हेर्दा मोआवादी ३७ हजार ४ सय ७१ मत ल्याउँदै पहिलो स्थानमा छ भने २७ हजार १ सय ५३ मत सहित कांग्रेस दोस्रो, १८ हजार ७८ मत सहित एमाले तेस्रो र १६ हजार २ सय २५ मत सहित रास्वापा चौंथो स्थानमा छ । अहिले यो जिल्लामा कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी र रास्वपाबीच नै चर्को प्रतिष्पर्धा हुने देखिन्छ ।
२. मनाङ : गत निर्वाचनमा मनाङ्गमा कांग्रेसका टेकबहादुर गुरुङ्गले एमालेका पोल्देन छोपाङ्ग गुरुङ्गलाई ३ सय २८ मतले जित निकालेका थिए । यहाँ अहिले एमाले, रास्वपा र राप्रपा तर्फबाट उम्मेदवार रहेकाहरुले कांग्रेसबाट उम्मेदवार रहेका उनै टेक गुरुङ्गलाई सघाइ सकेका छन् । गत निर्वाचनको समानुपातिक तर्फ हेर्दा यहाँ कांग्रेसको २ हजार ४ सय ३०, एमालेको २ हजार १ सय ९१, रास्वपाको १ सय ४६ र तात्कालिन माओवादी केन्द्रको एक सय ३३ मत देखिन्छ ।
३. लमजुङ : गत निर्वाचनमा लमजुङमा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले जित निकालेका थिए । उनले तत्कालिन गठबन्धनबाट उम्मेदवार रहेका माओवादी केन्द्रका महासचिव देव गुरुङलाई ३ हजार १ सय ९४ मतान्तरमा जित निकालेका थिए । अहिले गठबन्धन छैन । गत निर्वाचनमा समानुपातिकतर्फ लमजुङमा एमालेले सबै भन्दा बढी ३१ हजार १ सय ७८ मत ल्याएको थियो भने कांग्रेसको २७ हजार ७ सय ९६ मत थियो । समानुपातिकतर्फ लमजुङमा पनि रास्वपा तेस्रो स्थानमा छ ।
रास्वपाले ८ हजार २ सय १७ मत ल्याउँदा तत्कालिन माओवादी केन्द्रको ६ हजार ४ सय ८३ मत मात्रै रहेको छ । यहाँ तत्कालिन नेकपा एसले जम्मा ५ सय ८२ मत मात्रै प्राप्त गरेको थियो । अहिलेको अवस्थामा यहाँ कांग्रेस, एमाले र रास्वपाका उम्मेदवारहबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।
४ कास्की : कास्कीमा तीनवटा निर्वाचन क्षेत्र छ । गत निर्वाचनमा गठबन्धनका बाबजुद पनि एमालेले यहाँ प्रतिनिधिसभामा तिन वटै सिटमा क्लिन स्विप गरेको थियो । एमालेबाट एकमा मनबहादुर गुरुङ, दुईमा विद्या भट्टराई र तिनमा दामोदर पौडेल बैरागीले जित निकालेका थिए ।
समानुपातिकतर्फ कास्कीमा ५४ हजार ३ सय २९ मत ल्याउँदै एमाले पहिले, ४४ हजार ००९ मत सहित रास्वापा दोस्रो, ४२ हजार ६ सय ५२ मत सहित कांग्रेस तेस्रो र ११ हजार ४ सय ७५ मत सहित चौथों स्थानमा तत्कालिन माओवादी केन्द्रको मत आएको थियो । कास्कीमा तत्कालिन नेकपा एसको समानुपातिक तर्फ २ हजार ८ सय ७७ मत मात्रै आएको थियो । यो तथ्यांकलाई आधार मान्दा काँस्कीमा पनि कांग्रेस, एमाले र रास्वपा नै प्रमुख प्रतिस्पर्धि देखिएका छन् ।
५. तनहुँ : २०७९ सालमा भएको निर्वाचनमा गठबन्धनको भागबण्डामा पनि कांग्रेसलाई नै दुवै सिट परेको थियो । तनहुँ १ बाट रामचन्द् पौडेलले जित निकाल्दा २ मा कांग्रेसकै शंकर भण्डारीले जित निकाले । पौडेल राष्ट्रपति भएपछि भएको उप निर्वाचनमा भने रास्वपाबाट उम्मेदवार रहेका स्वर्णीम वाग्ले भारी मतान्तर सहित विजयी बने ।
उप निर्वाचनमा मात्रै रास्वपाले गण्डकीबाट आफ्नो उपस्थिती जनायो । गत निर्वाचनको समानुपातिक तर्फको मत हेर्ने हो भने तनहुँमा ४२ हजार ४ सय २१ मत सहित कांग्रेस पहिलो, ३९ हजार ४ सय ८७ मत सहित एमाले दोस्रो, २२ हजार ९०२ मत सहित रास्वपा तेस्रो र १२ हजार ५ सय ७३ मत सहित तत्कालिन माओवादी केन्द्र चौंथो बनेका थिए । यहाँ तत्कालिन नेकपा एसले १ हजार ३ सय ९४ मत मात्रै प्राप्त गरेको थियो । यो तथ्यांकलाई आधार मान्दा तनहुँमा पनि अहिले कांग्रेस, एमाले र रास्वपा नै मुख्य प्रतिस्पर्धी हुने छन् ।
६. स्याङ्जा : प्रतिनिधिसभा तर्फ २ निर्वाचन क्षेत्र रहेको स्याङ्जामा पनि गत निर्वाचनमा दुवै क्षेत्रबाट गठबन्धनकाबाट कांग्रेसबाट उम्मेदवारहरु विजयी बनेका थिए ।
स्याङ्जा एक मा राजु थापा निर्वाचित हुदाँ दुईमा कांग्रेस नेता धनराज गुरुङ निर्वाचित भएका थिए । यहाँको समानुपातिक मत हेर्दा ५३ हजार ४ सय ३० मत सहित कांग्रेस पहिलो, ५० हजार ४ सय ८८ मत सहित एमाले दोस्रो, २२ हजार २ सय २६ मत सहित रास्वपा तेस्रो र ४ हजार ९ सय ९ मत सहित तत्कालिन माओवादी केन्द्र चौंथौ स्थानमा थिए ।
यहाँ तत्कालिन नेकपा एसको ८ सय ६२ मत मात्रै समानुपातिक तर्फ थियो । यो तथ्यांकलाई आधार मान्दा यहाँ पनि कांग्रेस, एमाले र रास्वपा नै मुख्य प्रतिस्पर्धी देखिएका छन् ।
७ .नवलपरासी बर्दघाट सुस्ता पूर्व
नवलपरासी बर्दघाट सुस्ता पूर्वमा २ वटा निर्वाचन क्षेत्र छ । यहाँ गत निर्वाचनमा गठबन्धनबाट कांग्रेस उम्मेदवार शशांक कोइराला र विष्णु कुमार कार्कीले निर्वाचनमा जित निकालेका थिए ।
समानुपातिक तर्फको मत हेर्दा यहाँ ५१ हजार २ सय ४४ मत सहित एमाले पहिलो स्थानमा थियो भने ४९ हजार ६६ मत सहित कांग्रेस दोस्रो र ३८ हजार ६ सय ९० मत सहित रास्वपा तेस्रो स्थानमा थियो । ९ हजार १ सय २७ मतका साथ राप्रपा चौंथो हुदाँ ७ हजार १ सय २४ मत सहित तत्कालिन माओवादी केन्द्र पाँचौ स्थानमा पुगेको थियो ।
यहाँ तत्कालिन नेकपा एसको जम्मा एक हजार ४ सय १ मत मात्रै छ । यो तथ्यांकलाई हेर्दा यहाँ पनि यो पटक नेपाली कांग्रेस, नेकपा एमाले र रास्वापा बीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
८. मुस्ताङ : एक मात्रै निर्वाचन क्षेत्र रहेको मुस्ताङमा गत निर्वाचनमा नेपाली कांगेसका योगेश गौचन थकालीले जित निकालेका थिए । यहाँ समानुपाति तर्फ हेर्दा ३ हजार ४ सय ४ मत ल्याउँदै एमाले पहिलो स्थानमा छ भने २ हजार ४ सय ८६ मत सहित कांग्रेस दोस्रो स्थानमा छ । तत्कालिन माओवादी केन्द्रले ९ सय ८९ मत ल्याउँदा रास्वपाको २ सय ९९ मत थियो ।
यहाँ तत्कालिन नेकपा एसको ५५ मत थियो । यो तथ्यांकलाई आधार मान्दा यो पटक मुस्ताङमा कांग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धी देखिएका छन् ।
९ म्याग्दी : एक मात्रै निर्वाचन क्षेत्र रहेको म्याग्दीमा गत निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार खम्बिर गर्बुजा विजयी बनेका थिए । यहाँ अहिले भने कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी बाहेक स्वतन्त्रबाट पूर्वशिक्षामन्त्री महावीर पुन उम्मेदवार रहेका छन् ।
यसपटक म्याग्दीमा कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी र स्वतन्त्र उम्मेदवार रहेका महावीर पुन वीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । गत निर्वाचनको समानुपातिक तर्फको मतलाई हेर्ने हो भने यहाँ एमालेको १८ हजार २ सय ७३, कांग्रेसको १३ हजार ६ सय ९३ र तत्कालिन नेकपा माओवादी केन्द्रको ९ हजार ७० मत रहेको छ ।
१० बागलुङ ः दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा एकमा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र २ मा तत्कालिन माओवादी केन्द्रका देवेन्द्र पौडेलले जित निकालेका थिए । उनीहरु दुवै गत निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवार रहेका थिए । यहाँ गत निर्वाचनको समानुपातिक तर्फको मत लाई हेर्दा कांग्रेसले ३२ हजार ७ सय ७६, एमालेले ३० हजार ८ सय ९६, तत्कालिन माओवादीले ११ हजार २ सय ४ र रास्वपाले ११ हजार ३३ मत प्राप्त गरेका थिए । यो निर्वाचनमा यहाँ कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी र रास्वपा बीच प्रतिस्पर्धा हुने देखिन्छ ।
११. पर्वत : कुनै बेला नेपाली कांग्रेसको गढ भनेर चिनिने पर्वत पछिल्लो समय नेकपा एमालेले लाल किल्ला दाबी गर्दै आएको जिल्ला हो । यहाँ गत निर्वाचनमा गठबन्धन हुँदापनि एमालेका पद गिरीले विजयी भएका थिए । तर अहिले देशभर राजनीतिमा आई रहेको उथलपुथलले पर्वतमा समेत केही प्रभाव पार्न सक्ने देखिन्छ । पर्वतमा समानुपातिक तर्फको नतिजा हेर्दा एमालेको २५ हजार ३ सय १४, कांगेसको १८ हजार ८ सय १७, रास्वपाको ९ हजार ६ सय ७१ र तत्कालिन माओवादीको ७ हजार ३६ मत मात्रै थियो । यहाँ नेकपा एसको जम्मा ८ सय ६१ मत मात्रै रहेको थियो । यो तथ्यांकलाई आधार मान्दा अहिले पर्वतमा कांग्रेस, एमाले र रास्वपा बीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
समग्रमा हेर्दा गण्डकीमा कुन पार्टीले कति स्थानमा जित निकाल्न सक्छन् भन्न सकिने स्थिती छैन । गण्डकीलाई एमालेले आफ्नो जनाधार र बलियो संगठन रहेको दाबी गर्ने गरेको छ भने कांग्रेसले पनि जनाधार आफ्नो पक्षमा रहेको दाबी गरि नै रहेको छ । देशभर आक्रमक रुपमा अगाडी बढिरहेको रास्वापाले पनि गण्डकीमा आफ्नो सक्रियता बढाउँदै लगेको मात्रै छैन, आफ्नो प्रभाव कायमै रहेको दाबी समेत गर्ने गरेको छ ।
त्यसैले गण्डकीमा यहि नतिजा आउँछ भन्न सक्ने स्थिति नभएपनि यसपटक दलहरु एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका कारण गण्डकीमा पनि यसपटक रोचक चुनावी भिडन्तका दृश्यहरु देख्न सकिने छ ।
